ताजा अपडेट »

बसाइँ-सराईले रित्तिँदै लुम्बिनी प्रदेशका ग्रामीण बस्ती

बुधबार, २९ भदौ २०७९, १२ : ३९
18 Shares
बुधबार, २९ भदौ २०७९
18 Shares

बुटवल। जनसंख्या वर्षेनी घट्न थालेपछि लुम्बिनी प्रदेशका ग्रामीण क्षेत्रका बस्तीहरू रित्तिन थालेका छन् । यसको असर विकासमा समेत परेको छ । बसाइँ-सराई रोक्ने खालका नीतिगत व्यवस्था स्थानीय तहले गर्न नसक्दा याे क्रम रोकिएको छैन ।

२०६८ सालमा गुल्मीको कालीगण्डकी गाउँपालिकाको जनसंख्या १८ हजार आठ सय ७६ थियो । त्यसको १० वर्षपछि २०७८ मा उक्त संख्या १५ हजार १०६ मा झरेको छ । १० वर्षको अवधिमा वार्षिक २.१४ प्रतिशतले जनसंख्या घटिरहेको कालीगण्डकी गुल्मीमा सबैभन्दा धेरै जनसंख्या घटेको स्थानीय तह हो । बसाइँ-सराईका कारण गाउँमा बस्तीहरू रित्तिने अवस्थामा पुगेको गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताए । ‘राम्रो शिक्षा, रोजगारी र अवसरहरू खोज्दै मानिसहरू यहाँबाट पलायन भइरहेका छन् । फर्केर आउनेहरू नभएपछि जनसंख्या घट्ने नै भयो,’ उनले भने ।

कालीगण्डकीमा मात्रै होइन, १० वर्षको अवधिमा गुल्मीका १२ वटै स्थानीय तहमा जनसंख्या घटेको छ । गुल्मीकै सत्यवती गाउँपालिकामा वर्षेनी १० वर्षको अवधिमा चार हजार ५६ ले अर्थात् वर्षेनी १.७९ प्रतिशतले जनसंख्या घटेको छ । धुर्कोट गाउँपालिकामा तीन हजार सात सय ५५ अर्थात् वार्षिक १.७६ प्रतिशत र चन्द्रकोट गाउँपालिकामा तीन हजार ७६ अर्थात् वार्षिक १.४६ प्रतिशतले जनसंख्या घटेको छ ।

त्यस्तै गुल्मीकै मुसिकोट नगरपालिका, गुल्मी दरबार गाउँपालिका, इस्मा गाउँपालिका, रुरु क्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, मदाने गाउँपालिका र मालिका गाउँपालिकामा क्रमशः चार हजार ४१ (वार्षिक १.२६ प्रतिशत), दुई हजार ६२४ (१.२२ प्रतिशत), दुई हजार चार सय ३४ ( वार्षिक १.१८ प्रतिशत), एक हजार नौ सय ४३ (वार्षिक १.०६ प्रतिशत), दुई जार दुई सय ४२ (वार्षिक १.०६ प्रतिशत), दुई हजार ७९ (वार्षिक ०.९६ प्रतिशत) र एक हजार पाँच सय ५६ (वार्षिक ०.७१ प्रतिशतले) ले जनसंख्या घटेको छ ।

सेवा, सुविधा र पूर्वाधार संरचनामा अगाडि मानिएको गुल्मीको सदरमुकाम पर्ने रेसुंगा नगरपालिकामा समेत जनसंख्या घटेको छ । तथ्यांकअनुसार यो नगरपालिकामा १० वर्षे अवधिमा जनसंख्या ३२ हजार पाँच सय ४८ बाट ३१ हजार ६७७ मा झरेको छ । वर्षेनी ०.२६ प्रतिशतले नगरपालिकाको जनसंख्या घटिरहेको तथ्यांक छ ।

गुुल्मीका स्थानीय तहमा जस्तै पाल्पाका अधिकांश स्थानीय तहको जनसंख्या पनि वर्षेनी घटिरहेको छ । केन्द्रीय विभागको तथ्यांकअनुसार पाल्पाका १० स्थानीय तहमध्ये तानसेन र रामपुर नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहको जनसंख्या वृद्धिदर ऋणात्मक छ । यसरी जनसंख्या घट्नेमा निस्दी गाउँपालिका लुम्बिनी प्रदेशका सबै स्थानीय तहभन्दा अगाडि छ । यो गाउँपालिकामा गएको १० वर्षमा वार्षिक २.३९ प्रतिशतले जनसंख्या घटिरहेको तथ्यांकले देखाएको छ । उक्त अवधिमा जनसंख्या चार हजार नौ सय ८२ ले घटेर १७ हजार छ सय २९ मा झरेको छ ।

निस्दीपछि जनसंख्या घटेका पाल्पाका स्थानीय तहहरू बगनासकाली गाउँपालिका, पूर्वाखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रम्भा गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, तिनाउ गाउँपालिका र माथागढी गाउँपालिका हुन् । जसमा क्रमशः चार हजार चार सय २७ (वार्षिक २.२३ प्रतिशत), तीन हजार चार सय ४४ (१.८६), तीन हजार एक सय ३४ (वार्षिक १.७५ प्रतिशत), तीन हजार एक सय १३ (वार्षिक १.६१ प्रतिशत), तीन हजार तीन सय ४५ (वार्षिक १.३० प्रतिशत), सात सय ९४ (वार्षिक ०.४१ प्रतिशत) र नौ सय ९३ (वार्षिक ०.३९ प्रतिशत) ले जनसंख्या घटेको छ ।

लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची र प्यूठानका अधिकांश स्थानीय तहमा पनि जनसंख्या वृद्धिदर ऋणात्मक छ । १० वर्षको अवधिमा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा चार हजार ९४ (वार्षिक १.६२ प्रतिशत), मालारानी गाउँपालिकामा चार हजार दुई सय ६४ (वार्षिक १.५८ प्रतिशत), छत्रदेव गाउँपालिकामा तीन हजार ६ सय ४४ (वार्षिक १.४९ प्रतिशत), भूमिकास्थान नगरपालिकामा चार हजार तीन सय २३ (वार्षिक १.३६ प्रतिशत) र शीतगंगा नगरपालिकामा पाँच हजार चार सय ८५ (वार्षिक १.३० प्रतिशत) ले जनसंख्या घटेको छ ।

त्यस्तै प्यूठानमा पनि मल्लरानी गाउँपालिकामा एक हजार आठ सय ४० (वार्षिक १.०५ प्रतिशत), ऐरावती गाउँपालिका एक हजार नौ सय ८८ (वार्षिक ०.८९ प्रतिशत) र झिमरुक गाउँपालिकामा एक हजार चार सय ४० (वार्षिक ०.५१ प्रतिशत) ले जनसंख्या घटेको छ । जनसंख्या घटेका ३० जिल्लामध्ये एक मात्र तराईको स्थानीय तह बर्दियाको गेरुवा गाउँपालिकामा १० वर्षमा एक हजार एक सय २९ (वार्षिक ०.३२) प्रतिशतले जनसंख्या घटेको पाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।