ताजा अपडेट »

गुल्मीकी पहिलो महिला गाविस अध्यक्ष भगवती

बुधबार, २२ भदौ २०७९, १७ : ३७
20 Shares

गुल्मी। गणतन्त्र पश्चात् गुल्मीको हकमा दुई पटकका स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिला उमेदवार कुनै पनि दलले उठाएनन् । झन् संघ र प्रदेशको निर्वाचनमा गुल्मीका महिला नेताहरुको चर्चा नै छैन । कतै तल्लो कमिटिबाट सिफारिसमा परेका त कतै स्वघोषित संघ र प्रदेशका उमेदवार पुरुषहरुको तस्वीरले यति बेला समाजिक सञ्जाल फेसबुक छपक्कै ढाकिएको छ । त्यो देख्दा पनि गुल्मीमा महिला नेतृहरु छैनन् कि वा भएर पनि प्रत्यक्ष निर्वाचनमा उनिहरुलाई उठाउनै हुँदैन कि जस्तो महशुस सर्वसाधरण महिलाहरुले गर्न थालेका छन् । यसो हुनुमा महिलाहरुलाई प्रमुख पदमा उठाउँदा हार्छन् भन्ने मानसिकता नेतृत्वमा रहेको पाइन्छ ।

तर, २५ वर्ष अघि गुल्मी जिल्लाबाट प्रत्यक्ष निर्वाचनमा होमिएर शानदार मतले महिलालेनै जितेकी थिइन् । उनी हुन् हुन साविक अग्लुङ्ग गाविसकी भगवती चन्द । २०५४ सालको स्थानीय तह निर्वाचनमा हालको मदाने गाउँपालिका–१ , साविक अग्लुङ्ग गाविसमा २०५४ सालको निर्वाचनमा भगवती चन्दले पुरुष उम्मेदवारलाई भारी मतले पछाडी पार्दै गाविस अध्यक्ष जितेकी थिइन् । उनै भगवती चन्द नै जिल्लामा पहिलो महिला गाविस अध्यक्ष हुने इतिहास रच्ने महिला भएको साविक जिल्ला विकास समितिका सभापति तथा अग्लुङ्गका बासिन्दासीन्दा भरतबहादुर चन्द बताउँ छन् ।

त्यस अघि पञ्चायत कालमा पनि महिला प्रधानपञ्च भएको सुनिएन र बहुदल पछि पनि उहाँ नै पहिलो र एक मात्र महिला गाविस अध्यक्ष हो ’–चन्दले भने–‘त्यस अघि अग्लुङ्ग गाविसको अध्यक्ष उहाँकै श्रीमान केयरसिंह चन्द हुनुहुन्थ्यो ।’ त्यस अघि तत्कालिन गाउँ पञ्चायतका प्रधानपञ्च माधवसिंह चन्द र उपप्रधानपञ्च रंङ्गलाल चन्द रहेको उनले बताए । रंगलाल चन्द पुर्व माननिय बैकुण्ठबहादुर चन्दका बाबु थिए । बैकुण्ठबहादुर चन्दका जेठा छोरा हुन् भरतबहादुर चन्द ।

गुल्मीको पहिलो महिला गाविस अध्यक्षको इतिहास रचेकी भगवती चन्द गत १० वर्षदेखि बुटवलको सुख्खा नगरमा बसोबास गर्दै आएको बताउँछिन् । ‘त्यस अघि मेरो श्रीमान केयरसिंह चन्द गाविस अध्यक्ष हुनुहुन्थ्यो, ९ २०४९ को स्थानीय निर्वाचनमा २०५४ को निर्वाचन अघि उहाँको मृत्यु भएको थियो । त्यसकारण त्यहाँका जनताले मलाई नै उठ्नु पर्छ भन्ने माग राखेपछि उठेकी हुँ , मैले राप्रपाबाट करिब ११ सय मत ल्याएकी थिएँ । एमाले उमेदवारले करिव ३ सय र काग्रेसका उमेदवारले त्यस्तै ४५ मत ल्याए जस्तो लाग्छ ’ चन्दले भनिन्।
तपाइँको पालामा के के विकास गर्नुभयो गाउँको ? भन्ने प्रश्नमा उनले त्यहाँको विद्यालय सञ्चालनदेखि बाटोघाटो, सिँचाई लगाएतको विकास गरिएको बताइन्।

तपाइँको पालामा वर्षेनी बजेट कति आउथ्यो ? भन्ने प्रश्नमा चन्दले भनिन् ‘मानव संशाधन शिर्षकमा वर्षको एक लाख रुपैयाँ आउँथ्यो । गाउँको स्कूल डुब्नै लागेको थियो । त्यही रकमले मास्टरलाई तलब खुवाउँथ्यौं । र त्यति थोरै रकमले पनि धेरै काम गर्यौं जस्तो लाग्थ्यो । त्यही एक लाख बजेटमा पनि जनप्रतिनिधीहरुले खाएकी भनेर जनताले औंला ठडाउँथे होला है ? भन्ने प्रश्नमा चन्दले हाँस्दै भनिन् –‘ एकदम किन नउठाउनु उठाउँथे, अहिले त कति सजिलो छ कति ।’

आफूहरुलाई बैठक भत्ता एक हजार आउने गरेको र जिल्लामा आफू मात्र एक्लो महिला गाविस अध्यक्ष हुने गरेको उनले बताइन् । फेरीपनि उठ्ने मन छ कि कि भन्ने प्रश्नमा जनताले चाहेमा उठ्ने मनसाय उनले ब्यक्त गरिन् । उनले भनिन् ‘उतिबेला पनि जनताले चाहेरै प्रत्यक्ष निर्वाचन जितेकी हुँ र अहिले पनि चाहेमा जित्न सकिन्छ । २०५४ सालमा चुनाव लड्दा आफू ३७ वर्ष उमेरकी रहेको र एक मात्र छोरा पिन्स चन्दसंग आफू बुटवलमा रहेको चन्दले बताइन्।

त्यस वडाका वर्तमान वडाध्यक्ष सुशिल चन्दका अनुसार पञ्चायत , बहुदलदेखि गणतन्त्रसम्म अग्लुङ्गको प्रमुख पदमा चन्द परिवार नै रहँदै आएका छन् । पञ्चायतको अन्तिम प्रधानपञ्च माधवसिंह चन्द , बहुदलको पहिलो गाविस अध्यक्ष केयरसिंह चन्द र अन्तिम गाविस अध्यक्ष भगवती चन्द रहेकी थिइन्। गणतन्त्र पश्चात् पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट प्रेम चन्द वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यति बेला नेपाली कांग्रेसबाट उमेदवार रहेका प्रेम बिष्टले २५४ मत ल्याउँदा एमालेबाट उठेका प्रेम चन्दले ५७५ ल्याएको वडाध्यक्ष चन्द बताउँछन् ।

दोश्रो निर्वाचनमा फेरी सुशिलले ७३१ मत ल्याउँदा ५३० मत प्रेम चन्दले ल्याएको उनले बताए । त्यस्तै गणतन्त्रपश्चात् गुल्मीका ९३ वटा वडा मध्ये पहिलो महिला वडाध्यक्ष हुने इतिहास मुसिकोट नगरपालिका–९ अर्लाङ्गकोटकी भुमा गुरुङ्गले रचेकी छन् । उनि नेपाली कांग्रेसबाट विजयी भएकी हुन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार