Sep 23, 2023
बुटवल । निर्वाचनमा मजदुरहरूको प्रतिनिधित्व कम्तिमा पनि १० प्रतिशत गराउन मजदुर नेताहरुले आग्रह गरेका छन् । हरेक पार्टीहरुले १० प्रतिशत मजदुरको प्रतिनिधित्व गराउने बताए पनि विगतमा नगराएको उल्लेख गर्दै उनीहरुले यस पटकको निर्वाचनमा सबै दलले कम्तिमा पनि १० प्रतिशत मजदुर नेताहरुको प्रतिनिधित्व गराउन आग्रह गरे । जनमत सञ्चार केन्द्र नेपालले बुटवलमा आयोजना गरेको आगामी निर्वाचनमा मजदुरको प्रतिनिधित्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यी कुरामा जोड दिएका हुन।
कार्यक्रममा बोल्दै ट्रेड युनियनका लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्ण बेल्वासेले सबैबाट मजदुर वर्गले आश्वासन मात्रै पाएको अवस्था रहेको बताउदै सबैतिरबाट पछाडी पारिएको गुनासो गरे। उनले कम्युनिस्ट तथा काङ्ग्रेस लगायत सम्पुर्ण पार्टिहरुबाट श्रमिक मजदुर निकै पिल्सिनुपरेको बताए। उनले भने,’निर्वाचनमा विभिन्न कोटाहरु छुट्ट्याईएको छ, तर मजदुर छैन। अब यसको बारेमा जनता, नेता, मन्त्री सबैले यसको बारेमा गम्भीर हुनुपर्छ। ‘उनले प्रदेशसभा निर्वाचनमा आफ्नो नाम सिफारिस भएको बताउदै टिकट दिन आग्रह समेत गरे।
कार्यक्रममा बोल्दै जिफन्ट प्रदेश सदस्य गोकर्ण गिरिले राजनीतिक दलहरुले निर्वाचनमा मागे भन्दा न्यून अवसर पाएको गुनासो गरेका छन।उनले निर्वाचनमा १० प्रतिशत सहभागीता गराउनुपर्ने भएपनी २ प्रतिशतको हाराहारीमा मात्रै अवसर पाएको बताए। उनले निर्वाचनमा कार्यक्रम आयोजना गर्न लगाउने र आफै बिजयी भएर जाने गरेको गुनासो गरे।उनले उम्मेदवार छनोटमा सबै पार्टिले ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रम जनमत सञ्चार केन्द्र नेपालका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
प्रतिकृया दिनुहोस्