ताजा अपडेट »

शक्ति राष्ट्रहरूको चासो नेपाल

सोमबार, ०९ साउन २०७९, १८ : ११
6 Shares

अवश्यमेव वर्तमानमा नेपालप्रति शक्ति राष्ट्रहरूको चासो बढ्दो छ। नेपाल भूपरिवेष्ठित देश हो तथापि हाम्रो भू-राजनीतिक अवस्थिति अत्यन्त संवेदनशील छ।यसले विश्व राजनीतिमा रणनीतिक महत्व राख्दछ। हाम्रो अवस्थिति दुई ढुङ्गा बीचको तरूल जस्तो छ।यस्को अर्थ हामी लाचार भएर, कुचुक्कपरेर, निहुरिएर, लल्याकलुलुक भएर रहन पर्दछ होईन्।यसको सही अर्थ हो हामी अत्यन्त चनाखो भएर संतुलित ढंगमा चल्नु पर्दछ।

अन्यथा मूलतः समुचित दक्षिण एशिया लगाएत मित्र राष्ट्र चीनको स्वशासित तिब्बत क्षेत्र पनि अशान्त हुनेछ र हामी संकटमा पर्ने छौ।हाम्रो अवस्थितिको हामीले लाभ लिन सकेनौ जानेनौ त्यसैले त हामी भारतीय जाँतोको पिसाइमा रहदै आएका छौ। केही बर्ष देखि छिमेकी चीन र महाशक्ति संयुक्त राज्य अमेरिकाको नेपाल प्रतिको चासो बढ्दो छ।सन् २५ अप्रेल १९४७ मा दौत्य सम्बन्ध स्थापना भएदेखि अमेरिका र हामी बीच सुमधुर सहयोगात्मक सम्बन्ध र हामी प्रति अमेरिकाको चासो कुनैनकुनै रूपमा रहदै आएको सर्वविदित नै छ।

२८ अप्रेल १९६० मा हस्ताक्षरित “ Sino-Nepalese Treaty of Peace & Friendship ”बाट द्विपक्षीय सम्बन्ध परिभाषित गरिन्छ तापनि सन् १९५५ मा दुई राष्ट्र बीच कूटनीतिक सम्बन्ध स्थापित भएको उल्लेख छ।सन् १९५० मा Peoples Liberation Army बाट तिब्बतको कब्जा पश्चात यस क्षेत्रमा ड्रयागन डर Dragons Fear को सनसनी त चल्यो नै साथ साथै तिब्बत घटनाले विश्व राजनीति तरङ्गित भयो।चीन पनि पश्चिमाहरू बाट सशंकित बन्दै गयो। तिब्बत सैन्य क़ब्जा विरूद्ध नेपालको भूमि प्रयोग हुन्छ कि भन्ने चिसो ड्रयागनको मन मस्तिष्कमा पस्न थाल्यो।त्यसबाट चीन अहिले सम्मपनि मुक्त हुन सकेको छैन्।

आर्थिक विकास द्वारा विकासोन्मुख राष्ट्रहरूलाई गरिबीबाट मुक्ति दिन सहयोग गरिरहेको अमेरिकी वैदेशिक सहयोग ऐजेन्सी MCC ( The Millennium Challenge Corporation ),चीनको BRI ( Belt & Road Initiative-Connectivity Project ),अमेरिकी परियोजना SPP ( State Partnership Program-a joint program of the United States Department of Defense & the individual States ),र IPS (Indo-Pacific Strategy)को कारण अमेरिका र चीनको नेपालमा प्रत्यक्ष चासो बढ्दो छ। मुख्यतःIPS हिन्द-प्रशान्त क्षेत्रमा अमेरिकी नेतृत्व पुनर्स्थापना गर्ने एउटा ऐतिहासिक छलाङ्ग हो।

भारतको निरन्तर अभिवृद्धि र क्षत्रीय नेतृत्वलाई सहयोग गर्नु ,यस क्षेत्रमा अमेरिकी पकड मजबुत गर्नु र यस क्षेत्रलाई बलियो बनाउनु IPS को मुख्य दृष्टिकोण हो। अमेरिका लगाएत पश्चिमी मुलुकहरूसंग हाम्रो सम्बन्ध सहयोगात्मक एवं सौहार्दपूर्ण रहदै र तिनीहरू नेपालसंग निरन्तर जोडिदै आएका छन्। हाम्रो समृद्धि विकास र आत्मनिर्भरताको लागि चीनले अनेकन उदाहरणीय एवं सन्तोषप्रद सहयोग गर्दै नेपाल प्रति परोक्ष चासो राख्दै आएको छ। वि.सं.२०७६ असोज ६ देखि २०७९ आषाढ २९ सम्म चीनको राष्ट्रपति सी चिनफिङ, रक्षामन्त्री वेई फेङहे, विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका प्रमुख द्वय सोङ ताओ, लिउ जियानचाओ र उपप्रमुख कुओ येचौले नेपाल भ्रमण गरेका थिए।चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपाल भ्रमण दौरान २०७९ असार २६-२९ राज्य प्रमुख ,सरकार प्रमुख लगाएत शिर्ष कम्युनिस्ट नेताहरू (भू.पू.प्र.म.हरू) संगको छुट्टा छुट्टै भेटमा चीनको सुरक्षा चासो दर्साउदै नेपाली भूमिमा चीनियाँ विरोधी गतिविधि नहोस भन्ने चाहेको व्यक्त गरेका थिए ।

यसै क्रममा नेपाल सरकार र दलहरूले एक चीनको नीति लिएकोमा प्रशंसा गर्नुका साथै अमेरिकी परियोजना SPP मा सामेल नहुने नेपालको निर्णयको पनि स्वागत गरेका थिए । चीनियाँ शिर्ष नेताहरूको त्यो भ्रमण हाम्रो लागि अत्यन्त उत्साह, गौरव, विश्वास र अवसरको घडी हो।यस्तै मैत्री एवं सहयोगात्मक भ्रमण निरन्तर चलिरहोस, नेपालको विकास समृद्धि र क्रमिक आत्मनिर्भरताको लागि छिमेकी चीनको निरन्तर सहयोग प्राप्तिको वातावरण बनिरहोस- जनता चाहान्छन्। तर चीनले सहयोग गरेको देशहरूमा उत्पन्न गम्भीर संकटको सूक्ष्म अध्ययन अनुसन्धान र विश्लेषण गरेप़श्चात मात्र सचेतकतापूर्वक यथेष्ट सहयोग लिनु लिनसक्नु पर्दछ।

हाम्रो चीनसंगको सहयोगात्मक सामीप्यता निश्चय नै भारतको लागि अप्रिय हो।नेपालले भारतसंग धेरै धेरै फिर्ता लिनुछ।नेपाल प्रति भारतको अनेकन असमान व्यवहार सच्याउनु छ।भारतको मत्स्य न्यायको नीतिमा समय सापेक्ष परिवर्तन आवश्यक छ।तसर्थ चीनको नेपाल प्रति बढ्दो प्रत्यक्ष चासो लाई नेपाल प्रतिको भारतीय प्रवृत्ति माथी दबावको रुपमा रणनीतिक ढंगले प्रयोग गर्नु आवश्यक छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।