ताजा अपडेट »

रुपन्देहीको सिद्धार्थनगरमा उद्घाटन भएको ३ महिनासम्म पनि प्रयोगमा आएन वडा भवन

आइतबार, १९ असार २०७९, १६ : २३
8 Shares

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्थानीय तह आएको ५ वर्ष बितिसक्दा  पनि वडा नम्बर ६ को आफ्नै कार्यालयबाट सेवा सञ्चालन भएको छैन । उक्त वडाको कार्यालय भवन निर्माण सम्पन्न नहुँदै हतारमा उद्घाटन भए पनि वडा नम्बर ५ मा अवस्थित नगरपालिकाको भवनबाट कार्य सञ्चालन हुँदै आएको छ । जस पाउने होडमा निर्माण पूरा नहुँदै गत चैत १५ गते उद्घाटन गरिएको भवनबाट ३ महिना बितिसक्दा पनि कार्यालय सञ्चालन गरिएको छैन ।

सिद्धार्थनगर-६ स्थित पिपरहियामा निर्माण गरी उद्घाटन भइसकेको कार्यालयबाट अझैसम्म वडाबासीले सेवा लिन पाएका छैनन् । आफ्नै वडाबाट पाउनुपर्ने सेवाका लागि वडाबासी सिद्धार्थनगर-५ स्थित पुरानै वडा कार्यालयमा जान बाध्य छन् । निर्वाचनको बेला जस लिने होडमा निर्माणसम्पन्न नहुँदै कार्यालय उद्घाटन गर्नुको परिणाम सिद्धार्थनगर–६ को हो । पछि निर्वाचित भएर को आउने हो र कसले जस लिने हो भन्ने चिन्ताले अधुरा योजनाको उद्घाटनको पछाडी जनप्रतिनिधि लाग्दा जनताले दुःख पाउने गरेका छन् । वडा नम्बर ६ को यो घटना प्रतिनिधिमुलक मात्र हो । सिद्धार्थनगरमा यस्ता अन्य योजनाहरु पनि रहेका छन् ।

गत चैत १५ गते ६ नम्बर वडा कार्यालय तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको तत्कालिन नगरप्रमुख हरिप्रसाद अधिकारीले उद्घाटन गरेका थिए । स्थानीय तहको निर्वाचनको १५ दिन अघि उद्घाटन भएको कार्यालय निर्वाचन सम्पन्न भएपश्चात निर्वाचित जनप्रतिनिधिले पुरानै वडा कार्यालयमा पदभार ग्रहण गर्दै त्यहीबाट नै कार्यसम्पादन गरिरहेका छन् ।

वडाबासी विवेकानन्द मल्लिक निर्वाचनको मुखमा हतारहतारमा वडा कार्यालय उद्घाटन गरिए पनि अहिलेसम्म उक्त कार्यालयबाट सेवाग्राहीले सेवा पाउन नसक्नु दुःखद भएको बताउछन् । उनले भने, ‘अहिलेसम्म सेवा सञ्चालन गर्न नसक्ने भए उद्घाटन गर्न किन हतार गरियो ? निर्वाचित जनप्रतिनिधि यस विषयमा गम्भिर हुनुपर्ने उनको भनाई छ ।

सिद्धार्थनगर–६ निवासी रवि कुमार रौनियारले चैत १५ गते नै उद्घाटन भएको वडा कार्यालयबाट अझैसम्म सेवाग्राहीले किन सेवा पाउन सकेनन् भन्दै प्रश्न गरे । यस्तै स्थानीय रामदयाल गुप्ताले चर्चा पाउने होडमा गरिएको कामले जनतालाई सुविधा दिन नसक्ने बताए । उद्घाटन भैसकेको भवनबाट सेवा सञ्चालन नहुँदा आफूलाई समेत आश्चार्य लागेको बताउँदै उनले  भोट बटुल्ने उद्देश्यले हतारमा उद्घाटन गरिएको परिणाम अहिले देख्न पाइएको उल्लेख गरे ।

यस विषयमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले कार्यालय उद्घाटनको समयमा केही प्रतिशत काम बाँकी रहेका कारण नयाँ भवनको उद्घाटन भए पनि काम पुरानै कार्यालयबाट गर्नुपरेको बताए । उनका अनुसार कार्यालय भवन उद्घाटन गर्दा १० प्रतिशत काम बाँकी नै थियो । हाल झण्डै तीन महिना हुन लाग्दा पनि अन्य काम सकिए तापनि विद्युत जडान लगायतका काम अझै बाँकी रहेको उल्लेख गरे ।  नयाँ भवनबाट सेवा सञ्चालन गर्नका लागि अझै २ साता बढी समय लाग्ने ग्लोबल आवाजसँग बााए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।