ताजा अपडेट »

भारतले बंगलादेश र पाकिस्तानसँगको सीमा पूर्णरुपमा सिल गर्ने

बुधबार, ११ मंसिर २०७६, १४ : ५७
80 Shares
बुधबार, ११ मंसिर २०७६
80 Shares

मंसिर ११,

काठमाडौँ । भारतीय गृहमन्त्रालयले पाकिस्तान र बंगलादेशसँगको सीमामा तारबार लगाएर पूर्ण रुपमा सिल गर्ने तयारी गरेको छ । गृहमन्त्रालयले तारबार लगाएर पाकिस्तान र बंगलादेशसँगको सीमा पूर्ण रुपमा बन्द गर्न लागेको हो । यसका लागि मन्त्रालयले देशका सबै अर्ध सैन्यबललाई सीमा क्षेत्रलाई पुनः रेखाङ्कन गर्न निर्देशन दिएको छ ।

साथै गृहमन्त्रालयले भारतमा लागू औषध तस्करी हुन सक्ने संभावित क्षेत्रलाई पहिचान गरी निगरानी बढाउने भएको छ । गृहमन्त्रालयले सीमा क्षेत्रलाई निगरानी गरी तस्करी हुने संभावित क्षेत्रमा तारबार लगाउने गरी काम सुरु गर्न निर्देशन दिएको भारतीय समाचार माध्यमले जनाएका छन् । पाकिस्तान र बंगलादेशसँगको सीमामा तारबार लगाएर पूर्ण रुपमा बन्द गर्न भन्दै गत महिना भारतीय गृहमन्त्री अमित शाहले एउटा बैठक समेत डाकेका थिए । उक्त बैठकमा सबै अर्थ सैन्य बलका प्रमुखहरु उपस्थित थिए ।

उक्त बैठकमा गृहमन्त्री अमित शाहले सबै अर्थ सैन्य बललाई पैदल वा बाइकमा सवार भएर सीमा क्षेत्रलाई रिम्यापिङ (पुनर्रेखाङ्कन) गर्न निर्देशन दिएको समाचारमा बताइएको छ । यसका लागि भारतीय गृहमन्त्रालयले एउटा विशेष टोली गठन गरिसकेको छ । भारत सरकारले सीमाबाट हुने तस्करी र आतंकवादीको घुसपैठलाई नियन्त्रण गर्न नयाँ कदम लिएको बताइएको छ । विशेषगरी पाकिस्तानमा बढिरहेको महङ्गी, बेरोजगारी र जिहादी गतिविधिले भारतीय सुरक्षा सेनामाथि ठूलो चुनौती थपेपछि सरकारले सीमामा पूर्ण रुपमा तारबार लगाउने तयारी गरेको हो ।

पछिल्लो समय पाकिस्तानबाट पञ्जाब र राजस्थानमा लागू औषध तस्करी बढेको भन्दै केन्द्रीय सरकारले दुबै राज्यसँग मिलेर नयाँ योजना बनाउन लागेको छ ।- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।