ताजा अपडेट »

लुम्बिनी प्रदेशमा २७८ मृगौला रोगी तथा १४७३ दमका विरामीलाई उपचारमा आर्थिक सहयाेग

शुक्रबार, १७ असार २०७९, ०८ : ०२
18 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले मुटुको भल्भ फेर्ने, मृगौला प्रत्यारोपण र क्यानसर रोग उपचारका लागि २ सय ७८ जनालाई सहयोग गरेको छ । चालु आर्थिक वर्षमा विपन्न वर्गका व्यक्तिमा उपचार अभाव हुन नदिन भन्दै प्रतिव्यक्ति २ लाख रकम विनियोजन गरेको थियो ।

प्रदेश सरकारको सुबिधामा दम र ब्रोडकाइटिसका १ हजार ४ सय ७३ जना विरामीले उपचार गरेका छन् । सरकारले उक्त रोगका विरामीलाई प्रतिव्यक्ति प्रतिवर्ष ५० हजार रुपैया विनियोजन गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा गम्भीर खालका रोग लागेका विपन्न व्यक्तिकालागि आर्थिक सहयोग सहितको कार्यक्रम ल्याएको थियो । प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका अनुसार तराईका ६ जिल्लाका ८ वटा सरकारी अस्पतालबाट सिकलसेल तथा थालेसेमिया रोगको निदान तथा उपचारकालागि सिकलसेल परामर्श केन्द्र संचालन भएको छ ।

थारु समुदाय धेरै रहेको लुम्बिनी प्रदेशमा सिकलसेलका विरामी कति छन् ? त्यसको तथयांक छैन । करिब थारु जतिमा १२ प्रतिशत सिकलसेलका विरामी भेटिएको मन्त्रालयले जनाएको छ । मन्त्री इन्द्रजीत थारुले सिकलसेल कम गर्न थारु समुदायमा बच्चा जन्मनासाथ सिकलसेल जांच गरिनुपर्छ भने अहिलेसम्मका व्यक्तिलाई स्क्रिन गरी जांच गरिनुपर्छ भन्ने स्वास्थ्यमूलक जनचेता अभिवृद्धि थालिएको बताए । ‘सिकलसेल जांच गरेर मात्रै विवाह गर्ने कुरा जनचेतनाका रुपमा स्वास्थ्य शिक्षाका रुपमा अगाडि बढाएका छौं । यसकालागि आउदो वर्ष २ करोड बजेट विनियोजन गरेका छौं,’ उनले भने, ‘थप सहयोग र रकमकालागि संघीय सरकारलाई पनि अनुरोध गरिने छ ।’

प्रदेशले गर्भवती र नवजात शिशुको सुरक्षाकालागि पनि विशेष कार्यक्रम संचालन गरेको थियो । जसअन्तरगत सुरक्षीत सुत्केरीका लागि २८ जना नर्शलाई अल्ट्रासाउण्ड तालिम दिएर ग्रामिण भेगमा खटाएको थियो । उनीहरुले घरघरै पुगेर गर्भवती र सुत्केरीको परिक्षण गरेका थिए । प्रदेशमा ७७ जनालाई दक्ष प्रसुतिकर्मी तालिम, ३३ जनालाई परिवार नियोजनका साधन इम्पलान्टर, ६८ जनालाई सुरक्षीत गर्भपतन सेवाका लागि प्रशिक्षण दिएको थियो । चालु आर्थिक वर्षमा प्रदेशका १२ जिल्लामध्ये ११ जिल्लामा सल्यक्रिया सहितको प्रसुति सेवा संचालन गरेको छ । आउदो वर्षको पहिलो चौमासिकमा रुकुमपूर्व र पाल्पा अस्पतालमा सेवा विस्तार गर्ने सचिव डा. विकास देवकोटाले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयले विरामीलाई आकस्मिक सेवा दिन प्रदेश सरकारले आफू मातहत १ सय २० वटा एम्बुलेन्स संचालन गरेको छ । ती एम्बुलेन्सको निगरानीकालागि मोवाइल एप्स बनाएर १सय २ नम्बरको निशुल्क फोन संचालन गरेको छ । यद्यपि उक्त सेवा प्रभावकारी नभएको सरोकारवालाहरुले बताए ।

प्रदेशमा अहिलेसम्म कोभीड विरुद्ध ९५ प्रतिशतले पहिलो मात्रा, ८९ ले पूर्ण मात्रा र ३९ प्रतिशतले बुष्टर डोज प्राप्त गरेका छन् । प्रदेश सरकारले यहांका १२ वटै जिल्लालाई पूर्ण खोप घोषणा जिल्ला घोषणा गरेको छ भने प्रदेशलाई घोषणा गर्ने तयारी गरेको छ । प्रदेशमा १३ वटा अस्पताल, १२ वटा स्वास्थ्य कार्यालय र १३ वटा चिकित्सालयहरु रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।