ताजा अपडेट »

लुम्बिनीका ६ जिल्लामा सिकलसेल एनिमियाका बिरामी, परीक्षणमै समस्या

विहीबार, १६ असार २०७९, २० : १४


भैरहवा । पश्चिम नेपालका तराइका जिल्लामा विशेष गरि थारु समुदायमा देखिने सिकलसेल बिरामीहरु लुम्बिनी प्रदेशमापनि बढ्ने क्रममा रहेका छन् । लुम्बिनी प्रदेशका ६ वटा जिल्लाहरुमो यो रोगका धेरै बिरामी देखिएका छन भने सुर्खेत र कैलालीसम्म पनि यो रोग पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार २०७७/०७८ मा सिकलसेल एनिमियाका सबैभन्दा बढी बिरामी बर्दिया जिल्लामा देखिएका थिए । बर्दियामा २ सय १९ जना महिला र १ सय ७५ जना पुरुष सहित ३ सय ९४ जना बिरामी रहेका थिए । यस्तै बाँकेमा ६५ महिला ५७ पुरुषसहित १ सय २२ जना, दाङ्गमा १३ जना महिला १८ जना पुरुष सहित ३१ जना, रुपन्देहीमा १८ जना महिला ९ जना पुरुष गरि २७ जना, कपिलवस्तुमा १ जना महिला र १ जना पुरुष गरि २ जनाले यो रोगको नियमित औषधि सेवन गरि रहेका छन् ।

रुपन्देहीको हकमा सबैभन्दा बढी बिरामी तिलोत्तमा नगरपालिकामा ५ महिला र ४ जना पुरुष गरि ९ जना देखिएको स्वास्थ्यको कार्यालयको तथ्यांकबाट देखिन्छ । यस्तै बुटवल उपमहानगर पालिकामा ३ जना महिला, गैडहवा गाउँपालिकामा २ जना महिला र २ जना पुरुष गरि ४ जना, ओमसतिया गाउँपालिकामा महिला पुरुष १/१ गरि २ जना, सैनामैना नगरपालिकामा १ जना महिला, सियारी गाउँपालिकामा ३ महिला १ पुरुष गरि ४ जना र शुद्धोधन गाउँपालिकामा ३ महिला १ जना पुरुष गरि ४ जना यो रोगका बिरामी रहेका छन् ।

यी बिरामीहरुले स्थायी औषधि नभई देखिएको समस्या र लक्षण अनुसारको औषधी मात्र सेवन गरिरहेको कार्यालयको भनाई छ । आर्थिक बर्ष २०७७/०७८ को तथ्यांक रहेपनि त्यसपछिको तथ्यांक भने कार्यालयमा उपलब्ध थिएन । यद्दपी यो वर्ष गतबर्ष भन्दा बढी बिरामी रहेको सिकलसेलका श्रोत ब्यक्ति रत्नलाल शर्माको दावी छ ।

प्रायः गोलो आकारमा रहने रक्तकोषहरु रगतबाट अक्सिजनको मात्रा ओसार्ने काम गर्ने गर्छन । तर यो रोग लागेका बिरामीमा हसिया आकारको रक्तकोष देखिएको कारण रगत सजिलै बग्न सक्दैन र शरिरका भित्री अङ्गहरुको अक्सिजनको कमि हुन हुन्छ । यसको परिणाम अक्सिजन नपुगेका अङ्गहरु खराब हुने र ती अङ्गको भागमा कडा खालका दुखाई हुने गर्दछ ।

सिकलसेलका कारण नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु जातीहरु पिडित रहेका छन् । बंशाणुगत रोग भएको कारण तत्कालै यो रोग निको हुने कुनै सम्भावना नरहेको स्वास्थ्य कार्यालयको भनाई छ । यसको लागी जनचेतनाको साथै विवाह कुण्डली हेरेर मात्र थारु समुदायमा विवाह गर्नु पर्ने स्वास्थ्यकर्मीहरु सुझाव दिएका छन् ।

“सिकल सेल एनिमिया एक प्रकारको बंशाणुगत रोग भएकाले यस रोगलाई बंशाणुगत सल्लाहद्वारा केही व्यवस्थापन भने गर्न सकिन्छ ।” जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका सिकलसेलका फोकल पर्सन रत्नलाल शर्माले भने “रोग लागेपछि उपचार हुदैन । लक्षण अनुसार औषधि दिने काम मात्र गर्न सकिन्छ ।”

यसमा पनि कोही पूर्ण रुपमा सिकलसेलबाट बिरामी हुन्छ भने कोही अर्ध दोष युक्त जीनबाट प्रभावित हुन्छ । यसैले विवाह पूर्व डिएनए चेकजाँच गरेर मात्र विवाह गर्न शर्माको सुझाव छ ।

लगातार ज्वरो आउने, छातीमा पिडा हुने, फियो बढ्ने, जण्डिस हुने, जोर्नी दुख्नेछिटो छिटो स्वास प्रस्वास हुने, थकाई धेरै लाग्ने, पेट सुन्निने, असामान्य टाउको दुख्ने, अकस्मात् कमजोरी हुने, उपचार पश्चात् पनि शरिरमा दुखाई नरोकिने, अकस्मात आँखाको दृष्टि परिवर्तन हुने लगायतका लक्षणहरु देखा परेमा तुरुन्त स्वस्थ्य परीक्षण गराई उपचार शुरु गरी हाल्नुपर्ने शर्माको सुझाव छ ।

सिकल सेल रोगका बिरामीहरुमा फरक फरक किसिमका रोगका लक्षणहरु देखापर्ने भएकाले चिकित्सकहरुलाई समयमै बिरामीको रोग पहिचान गर्न कठिनाई पर्ने गरेको छ । बिरामी सिकिस्त भएपछि मात्र अस्पताल जाने मानसिकताले गर्दा चिकित्सकहरु पनि सिकल सेल परिक्षण गर्नुभन्दा अन्य रोगको औषधि सिफारिस गर्ने गरेका छन् । यसले कतिपय बिरामीहरुको सिकल सेल रोग पहिचान हुनु भन्दा अगावै मृत्यु भैसकेको हुन्छ ।

रुपन्देहीमा सिकलसेल परीक्षण गर्ने उपकरण लुम्बिनी प्रादेशिक कार्यालयमा रहेको र आज मात्रै भैरहवास्थित भिम अस्पतालमा पनि उपकरण आई पुगेकोले यसको परिक्षणमा अब केही सहजता आउने स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए ।
सन १९१० मा शिकागोबाट पत्ता लागेको यो रोग दक्षिण अफ्रिकाका मानिसहरुमा सबै भन्दा पहिले देखिएको थियो । आदिवासीहरुबाट सुरु भएको यो रोग अहिले अन्य समुदायमा पनि फाट्टफुट्ट रुपमा देखिन थालेकोले यसबाट सावधानी अपनाउन आवश्यक रहेको ढकालको भनाई छ ।

२०६८ सालदेखि नेपालमा यो रोगको पहिचान भए पनि सरकारले केही बर्ष यता मात्रै यसको लागी बजेट बिनियोजन गरेर उपचारमा तदारुकता देखाएको छ । अहिले सिकलसेलका बिरामीहरुका लागि १ लाख सम्मको निःशुल्क उपचार हुने गरेको छ । चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले सिकलसेलको लागि बजेट बजेट बिनियोजन गरेको थियो ।

तर, त्यो बजेट जेठको अन्तिम तिर मात्र प्राप्त भएकोले उल्लेख्य काम गर्न नसकेको स्वास्थ्य कार्यालय प्रमुख ढकालको भनाई छ । सरकारले अर्को वर्षको लागि बजेटलाई निरन्तरता दिएको कारण साउन १ गतेदेखि नै यस रोगबारे परीक्षणको साथै विभिन्न स्तरमा सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने उनले जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।