ताजा अपडेट »

रातभर सुत्दैनन् बुटवलकाे ज्योतिनगरबासी, टालटुले उपायले रोकिएला पहिरो ?

विहीबार, १६ असार २०७९, १७ : १५
20 Shares

बुटवल । बुटवल–३ ज्योतिनगरका चन्द्रबहादुर विश्वकर्मालाई वर्षा सुरु भएसँगै निद लाग्न छाडेको छ । बुटवल बजारदेखि उत्तरतर्फ रहेको अग्लो चुरेले कुन दिन पहिरोमा मिसाउने हो कुनै ठेगान छैन । दैनिक मजदुरी गरेर खाने उनी समय मिल्यो कि घर नजिकैको पहिरो नियाल्न पुग्छन्, केही समय त्यही टहलिँदै सोच्छन्, आजको रात कसरी बिताउने हो ? दिनको समयमा भए त बरु जसोतसो भागौला, ज्यान बच्ला । रातको समयमा पर्यो भने हार गुहार पनि गर्न नपाएर पहिरोमा बिलिन हुने डरले उनलाई निद लाग्छ छाडेको छ ।

वर्षा सुरु भएसँगै उनका केही छिमेकीको घरलाई चुरेबाट बगेर आएको ढुङ्गा माटोले तहसनहस बनाइसकेको छ । केहीका घरमा बाढी बसेर उत्पाद मच्याएको छ । उनीसँगै ज्योतिनगरबासीको मन चस्किन सुरु भएको छ । गत वर्ष पनि विश्वकर्मासहित दर्जनौ घर परिवार घर छाडेर ३ महिनासम्म बासका लागि अन्यत्रै भौतारिनु परेको थियो ।

ज्योतिनगरकै स्थानीय चिरञ्जिवी न्यौपानेलाई पनि चिन्ता उही हो । भिमकाय पहिरो छेक्न गरिएको टालटुले उपायप्रति उनलाई कत्ति पनि विश्वास छैन । ठूलो झरी पर्यो भने आफू र आफ्नो परिवारसँगै सिङ्गो बस्तीलाई चुरेको पहिरोले गर्याम्मै पारेर खाने छ । ‘रातको समयमा भयो भने सायद कसैले एैया भन्न पनि पाउने छैनन्,आशा गरौं त्यस्तो नहोस’–न्यौपानेले भन्छन् ।

यही साताको मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाले बुटवलको ज्योतिनगरमा लेदो सहितको पहिरो झर्न थाल्यो । चुरेबाट बगेर आएको लेदोका कारण त्यहाँका आधाभन्दा बढी घरमा पानी पस्यो । चुरेबाट ठुला ढुङ्गा बगाएर ज्योतिनगरसम्म ल्यायो । गत वर्ष पनि चुरेको पहिरोले स्थानीयलाई धेरै दुःख दिएको थियो । गत भदौ ११ मा चुरेको डाँडाबाट आएको पहिरोले बुटवल ३ को मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरका बासिन्दा प्रभावित भएका थिए । पहिरोले १५ घर पूर्ण क्षति पुर्याएको थियो भने ३० घरमा आंशिक क्षति पुग्नुका साथै १२ वटा घरमा लेदो पसेको थियो । गतवर्ष घर नै छाडेर हिँड्न बाध्य भएका लक्ष्मी नगर, ज्योतिनगर, मिलनपथका स्थानीयहरूलाई फेरी चुरेबाट लेदो बग्न सुरु गरेपछि चुरे पहिरोले उनीहरूको मन चर्काउन थालेको छ ।

बुटवल क्षेत्रमा चुरेको पहिरो अहिले मात्रै आएको होइन । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर क्षेत्रमा विसं २०३३ बाटै पहिरो देखिन थालेको थियो । विसं २०५५ मा वडा नं ३ र ४ का ५७ घर विस्थापित नै गर्ने गरी ठूलो पहिरो आयो । त्यसले लामो समयसम्म ज्योतिनगर क्षेत्रलाई त्रासमै राख्यो । सरकारले सामान्य तटबन्ध लगायतका काम गरे पनि भरपर्दो व्यवस्था गरेन । त्यतिबेला स्थानीयवासीलाई अन्यत्र बसोबासको व्यवस्था मिलाएर स्थानान्तरणसमेत गरियो । पछि विस्तारै पहिरो थामियो र हरियाली भयो । विसं २०५५ देखि २०७१ सम्म आइपुग्दा पहिरो गएको स्थानमा फेरि रुख बिरुवा हुर्किएपछि पहिरो गएको क्षेत्र पुरानै अवस्थामा फर्कियो । पहिरो रोकिएपछि स्थानान्तरण गरिएका परिवार पनि ढुक्कसँग त्यहीँ बस्न थाले । घरजग्गा किनबेच हुन थाल्यो । स्थानीयवासीले मात्र होइन, स्थानीय सरकारले समेत पहिरो बिर्सियो ।

विसं २०५५ को घटनापछि जाइका समूहले सो क्षेत्रमा सर्भे गरेको थियो । भू–उपग्रहमार्फत चुरे क्षेत्रको तस्वीर खिचेर अध्ययन गरेपछि जाइकाले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको थियो । चुरे क्षेत्रमा भएका ठूला रुखले जोखिम निम्त्याउने भएकाले कटान गर्न सुझाव दिइएको थियो तर, त्यो काम अझै भएको छैन । प्रदेश सरकार र सङ्घ सरकारबाट बजेट विनियोजन गरेर ज्योतिनगरको पहिरो नियन्त्रणका लागि प्रयास हुनुपर्नेमा परिणाम देखिने गरी नियन्त्रणको काम नभएको स्थानीय बसुन्धरा बस्यालले बताउछिन् । मनसुन सक्रिय भएको पहिलो दिनमै ज्योतिनगरमा पहिरो झरेपछि स्थानीयहरू अघिल्लो वर्षको तुलनामा यस वर्ष अझ बढी क्षति हुने आँकलन गरेका छन् ।

ज्योतिनगरमा पहिरो गएपछि त्यहाँ राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिबाट २ करोड रुपैयाँ विनियोजन भई काम भएको थियो । उक्त रकमबाट ग्याबीनवाल र ग्याबीन चेक ड्याम लगाउने काम भएको छ । समिति सदस्य डा. सुस्मिता ढकालले बुटवलमा पहिरो जानसाथ विस्तृत अध्ययनसँगै पहिरो नियन्त्रणका लागि सरकारसँग बजेट माग गरे पनि बजेट नआएपछि त्यहाँ तत्कालका लागि नियमित बजेटबाट काम गरेको बताइन । चुरे पहिरो सामान्य ढङ्गले व्यवस्थित नहुने जान्दाजान्दै पनि स्थानीय सरकार तत्कालीन अवस्थालाई मात्र ध्यानमा राखेर ‘कामचलाउ’ नियन्त्रणका प्रयास गर्दा अब ज्योतिनगर, लक्ष्मीनगरमा बर्सेनि पहिरो जान सक्ने विज्ञको मत छ ।

गुरुयोजना बनाएर दीर्घकालीन समाधान खोज्नु पर्नेमा स्थानीयलाई तत्काल काम गरेको जस्तो देखाउन टालटुले उपायमै पन्छिन खोजेको बताउँछन् भूगर्भविद डा. रञ्जनकुमार दाहाल । बुटवलको पहिरो नियन्त्रणका लागि सामान्य अध्ययन र अनुसन्धानविनै नचाहिँदो ढङ्गले पहिरोलाई खोतल्ने र रुखहरू काट्ने काम भइरहेको बताए । ‘हामीले बेसिक फेन्डामेटिकल बिर्सियौं । पहिरो आएपछि कहाँबाट आयो, कसरी आयो त्यो नियन्त्रणका लागि सुरुमा के कामको थालनी गर्नुपर्ने हो, यो हामीले अध्ययन गर्नुपर्दथ्यो । तर यसलाई सामान्य ठानेर गिजोल्ने काम गरेका छौ ।’–दाहालले भने, यसले त्यहाँ अझ ठूलो दुर्घटना निम्ताउन सक्छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।