ताजा अपडेट »

मल बिनाको असार १५ : रुपन्देहीमा यसरी मनाइयो राष्ट्रिय धान दिवस (फोटो फिचर)

बुधबार, १५ असार २०७९, १२ : ३५
12 Shares

बुटवल । मध्य असारसम्म पनि मल नपाएपछि रुपन्देहीका कृषक निरास छन् । सरकारले धान बालीलाई मूख्य बाली मानेर हरेक वर्षको असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेपनि यही समय मल नपाएर कृषकहरु चिन्तित हुनु पर्ने नियमितको समस्या भएको छ ।

बुधबार असार १५ एवं १९ औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरि देशैभर मनाइएको छ । मानो रोपेर मुरी उब्जाउने महिनामा किसानहरुले मल नपाउने पीडाका बीच संघ, प्रदेश तथा स्थानीय सरकारले भने तामझामकासाथ दिवस मनाउने गरेका छन् ।

'धान वालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग' भन्ने मूल नाराकासाथ बाली बिकास तथा जैविक विविधता केन्द्र र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र यो वर्षको दिवस मनाएको छ । यद्यपी दही चिउरा खाने र खाने र दिवस मनाउने बाहेकको प्रगती नभएको गुनासो गर्छन् कृषक देव धवल । जनप्रतिनिधि तथा सरकारी कर्मचारीले दिवसका बहानामा होटल तथा पार्टी प्यालेसहरुमा मङ्गो रकम खर्चेर कार्यक्रम गर्ने बाहेक कृषकको समस्यामा गम्भिर नभएको उनको गुनासो छ । कृषकहरुले विगमा जस्तै यस वर्ष पनि मल बिना रोपाई गर्नु परेकाले उत्पादन घट्ने चिन्ता थपिएको उनले बताए ।

रोपाइँको समयमा सरकारले डिएपी र युरिया मलको व्यवस्थापन नगर्दा यस वर्ष आफूले जस्तै धेरै किसानले मल विनै रोपाइँ गरेको उनको भनाइ छ। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय रुपन्देहीका प्रमुख नारायणप्रसाद शर्माले आपूर्ति कम हुँदा सबै किसानले पर्याप्त मल पाउन नसकेको स्वीकार गरे । भैरहवामा रहेको कृषि सामग्री कम्पनीले लुम्बिनी प्रदेशको रुकुम जिल्ला बाहेक सबै जिल्लामा मल खाद पठाउने गर्छ । यस्तै कम्पनीले गण्डकी प्रदेशको स्याङ्जा र पूर्वी नवलपरासी पनि हेर्ने गर्छ।

लुम्बिनी प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल उपलब्ध गराउने भनिए पनि अहिले कृषकलाई मलको अभाव हुँदा ती निकाय जवाफविहीन भएका बनेका छन्। शर्माका अनुसार लुम्बिनी प्रदेशमा अहिले युरिया मल १५ हजार १६५ टन र डिएपी ११ हजार ९५ टनको कोटा परेको छ। अहिलेसम्म ९ सय टन डिएपी र ३२ सय टनमात्र युरिया मल आएको छ।

‘सरकारले प्रादेशिक कार्यालय मातहतका जिल्लाका लागि वार्षिक ४४ हजार ३०० मेट्रिक टन युरिया मल पठाउने लक्ष्य राखेर काम गरेको हुन्छ । ३० हजार ४५० मेट्रिक टन डीएपी र २ हजार ३९८ मेट्रिक टन पोटास मल पठाउने लक्ष्य छ ।’–शर्माले भने, तर यस क्षेत्रमा वार्षिक १ लाख मेट्रिक टन युरिया मलको आवश्यकता छ । खरिदका लागि टेन्डर प्रक्रिया लामो हुनु, विश्व बजारको प्रभाव, डलरमा घटबढ लगायतका कारण मल आपूर्तिमा ढिलाई भएको शर्माले बताए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।