ताजा अपडेट »

दाङका सबै पालिकाको बजेट करिब ९ अर्ब ४९ करोड

शनिबार, ११ असार २०७९, ०८ : ५५
10 Shares


दाङ । निकै प्रयासपछि अन्ततः राप्ती गाउँपालिकाले बहुमत गाउँसभा सदस्यका आधारमा मध्यरातमा बजेट ल्याएसँगै दाङका सबै पालिकामा गरी करिब साढे ९ अर्ब बराबरको बजेट सार्वजनिक भएको छ । राप्ती गाउँपालिकामा एमालेबाट निर्वाचित उपाध्यक्षसहित ४ जना वडा अध्यक्ष र सदस्यहरूले गाउँसभा बहिष्कार गरेपनि बहुमत गाउँसभा सदस्यहरूको उपस्थितिमा आर्थिक बर्ष २०७९/०८० को बजेट घोषणा गरिएसँगै दाङमा ९ अर्व ४९ करोड ५३ लाख २१ हजार ३ सय रुपैयाँ बराबरको अनुमानित आय व्यय सार्वजनिक भएको छ ।

राप्तीमा उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र सभामा पेश गर्नुपर्ने प्रावधान अनुसार पालिका अध्यक्ष प्रकाश बिष्टको आदेशमा वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चौधरीले उक्त बजेट गाउँसभामा पेश गरे । चौधरीले राती ११ बजेर ५५ मिनेटमा बजेट घोषणा गरेका हुन् ।

जस अनुसार राप्ती गाउँपालिकाले ६१ करोड करोड ५४ लाख ८४ हजार बराबरको बजेट ल्याएको छ तर, सभामा प्रस्तुत भने गरिएको छैन । गाउँसभामा बहुमत सदस्यहरूको समर्थन रहेको बताइएको गाउँपालिकामा विषयगत समितिको बैठक बस्न नपाउँदै आफू खुशी कार्यपालिका बैठक राखेको र बजेटको तयारी नपुगेको भन्दै उपाध्यक्ष कमलापती चौधरी भने बजेट प्रस्तुत नगरि बैठकबाट बाहिरिएकी थिइन् । उता, वडा नम्बर १, ५, ७ र ८ का वडा अध्यक्षहरूले पनि वडामा बजेट सिलिङ कम भएको भन्दै असन्तुष्टि जनाउँदै कार्यपालिका बैठकको उपस्थितिमा हस्ताक्षर समेत नगरि बाहिरिर्एका हुन् ।

यसअघि जिल्लाको घोराही, तुलसीपुर, लमही, बबई, राजपुर, बंगलाचुली, गढवा, शान्तिनगर र दंगीशरण गाउँपालिकाले बजेट सार्वजनिक गरिसकेको छन् । संविधानमा व्यवस्था भए अनुसार असार १० गतेसम्ममा स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ ।

जिल्लाको घोराही उपमहानगरपालिकाले बजेटको आकार सबैभन्दा धेरै प्रस्तुत गरेको छ । घोराहीमा यस पटक २ अर्व ३२ करोडको बजेट सार्वजनिक भएको छ । उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजार गरी २ अर्व ३२ करोड ९० लाख ९१ हजारकोे बजेट प्रस्तुत गरेकी थिइन् ।

यस्तै उता तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष बजेटको आकार उल्लेख्य रुपमा घटाएर सार्वजनिक गरेको छ । उपप्रमुख स्यानी चौधरीले १ अर्व ८६ करोड ४७ लाख ७९ हजार बजेट सार्वजनिक गरिएकी हुन् । उपप्रमुख चौधरीले आन्तरिकतर्फ ४४ करोड ६२ लाख, संघीय सरकार अनुदानतर्फ १ अर्ब २२ करोड ९८ लाख ३ हजार, प्रदेश सरकार अनुदानतर्फ १० करोड २७ लाख ७६ हजार र अन्य संस्था अनुदनरऋणतर्फ ८ करोड ६० लाख गरी १ अर्व ८६ करोड ४७ लाख ७९ हजार बजेट प्रस्तुत गरेकी हुन् । तुलसीपुर उपमहानगरले यसअघि ३ अर्व बढीको बजेट ल्याएको थियो ।

यस्तै उता लमही नगरपालिकाले आगामी आर्थिक बर्षका लागि एक अर्ब ३९ करोड ८१ लाख १८ हजारको बजेट ल्याएको छ । नगर सभाको बैठकमा उपप्रमुख लक्ष्मी योगीले शाखागत र वडागत रुपमा बजेट विनियोजन गरेको छ । गत बर्षको तुलनामा यसपटक २७ करोड ३१ लाख १८ हजारले बजेटको आकार बढेको छ । पूर्वाधार विकास शाखामा २३ करोड ७६ लाख, शिक्षा तथा खेलकुद शाखाको लागि ५ करोड ९३ लाख, स्वास्थ्य शाखाको लागी दुई करोड ८० लाख, कृषि विकास शाखामा दुई करोड, लमही अस्पतालको लागि ३ करोड ७० लाख, पर्यटन प्रबद्र्धन तर्फ एक करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै राजपुर गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ५३ करोड २० लाख ७१ हजारको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष धनपती यादवले गाउँसभाको बैठकमा चालुतर्फ ३३ करोड ६० लाख ३१ हजार र पूँजिगततर्फ १९ करोड ६० लाख ४० हजार सार्वजनिक गरेकी थिइन् ।

यस्तै बबई गाउँपालिकाले पचास करोड बढीको बजेट सार्बजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले ११ औँ गाउँसभामा ५० करोड ६५ लाख ४३ हजार बराबरको बजेट सार्बजनिक गरेकी थिइन् । सार्बजनिक गरिएको बजेट अनुसार ७ करोड ८६ लाख ५० हजार चालु खर्च, २० करोड ४२ लाख ९३ हजार पुजीगत खर्च छुट्याइएको छ । यस्तै शसर्त अनुदान तर्फ १९ करोड २६ लाख, बिशेष अनुदान तर्फ १ करोड ६० लाख, समपुरक अनुदान तर्फ १ करोड ५० लाख बजेट ब्यबस्था गरिएको छ ।

उता, बंगलाचुली गाउँपालिकाले पनि ६३ करोड ५५ लाख २० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष भक्तबहादुर जिसीले शुक्रबार अपरान्ह गाउँसभामार्फत पालिकाको बजेट सार्वजनिक गरेका थिए ।

यस्तै, गढवा गाउँपालिकाको एघारौं गाउँ सभामा गाउपालिका उपाध्यक्ष शारदा चौधरीले कुल ६३ करोड ४५ लाख १० हजार रुपैयाँ बराबर बजेट प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७९/०८० को लागि चालु तर्फ ३१ करोड ६५ लाख ७६ हजार र पूँजिगत तर्फ ३१ करोड ७९ लाख ३४ हजारको बजेट गाउँसभामार्फत सार्वजनिक गरेकी थिइन् ।

यस्तै, शान्तिनगर गाउँपालिकाले ५० करोड ९७ लाख ४८ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँसभामार्फत गाउँपालिका उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीले आगामी आथिएक वर्षका लागि अनुमानित बजेट सार्वजनिक गरेकी थिइन् । उनीका अनुसार शान्तिनगरमा चालु तर्फ ३१ करोड ६६ लाख ६८ हजार र पूँजीगत तर्फ १९ करोड ३१ लाख रुपैयाँका बजेट सार्वजनिक भएको छ । सो पालिकाले शुक्रबार नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

उता, दंगीशरण गाउँपालिकाले पनि शुक्रबार नै नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष पीमाकुमारी खड्काले गाउँसभामार्फत ४६ करोड ९४ लाख ३९ हजार ३ सय रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेकी थिइन् ।

दंगीशरण गाउँपालिकाका केही वडाले वडाको योजना पेश गर्न नसक्दा समग्र बजेटको पूँजीगत र चालु खर्चको बजेट विनियोजनमा प्रतिशतको दरमा अनुमानित बजेट ल्याइएको छ । पूँजीगत खर्च ७० प्रतिशत र चालु खर्च ३० प्रतिशतको आधारमा रही बजेटको आकार बनाइएको उपाध्यक्ष खड्काले बताइन् । पालिकाले प्रशासनिक खर्चका लागि ७ करोड ६५ लाख ३१ हजार विनियोजन गरेको छ भने वडाहरुका हकमा ६५ लाखको सिलिङ तोकेको छ ।

दुई उपमहानगर, १ नगर र ७ गाउँपालिका रहेको दाङमा आर्थिक वर्ष २०७७÷०७८ कै हाराहारीमा बजेट सार्वजनिक भएको छ । केही पालिकाले यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गरेर दफावार छलफलपछि बजेट ल्याएका छन् भने केही पालिकामा शुक्रबार नै नीति तथा कार्यक्रम र बजेट ल्याउँदा खोज्दा निर्धारित समयभन्दा ढिलो हुन पुगेको हो । आर्थिक वर्ष २०७७/०७८ भन्दा यो पटक अधिकांश पालिकाले बजेटको आकार घटाएका छन् । आन्तरिक श्रोत व्यवस्थानमा चुनौति रहेको भन्दै पालिकाहरुले बजेटको आकार घटाउनु परेको बताएका छन् ।

दाङका १० वटै पालिकाले आर्थिक वर्ष २०७७/०७८ मा १० अर्ब ४९ करोड ६० लाख ५४ हजार २ सय ५३ रुपैयाँको बजेट ल्याएका थिए । जसमा सबैभन्दा बढी बजेट तुलसीपुर उपमहानगरपालिकाले विनियोजन गरेको थियो ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी