ताजा अपडेट »

तुलसीपुरकाे बजेट १ अर्ब ८६ कराेड : वायु उर्जाका लागि सम्भाव्यता अध्ययन गरिने

शुक्रबार, १० असार २०७९, २० : २७
8 Shares

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को अनुमानित बजेट सार्वजनिक गरेको छ । तुलसीपुर उपमहानगरपालिपकाका उपमेयर स्यानी चौधरीले बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै यस आर्थिक वर्षको कुल बजेट १ अर्ब ८६ करोड ४७ लाख, ७९ हजार अनुमान गरिएको बताइन् ।

आन्तरिक श्रोतबाट ३० करोड १२ लाख, स्थानीय तह राजश्व वाडफाँड मालपोत रजिष्टेशनबाट १० करोड, अल्या बैँक मौज्दात ४ करोड ५० लाख गरि कुल आन्तरिक आम्दानी ४४ करोड ६२ लाख अनुमान गरिएको छ । संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानिकरण अनुदान ३३ करोड ६२ लाख, सशर्त अनुदान ६२ करोड ९१ लाख, समपुरक अनुदान १ करोड ६० लाख, विशेष अनुदान १ करोड ३० लाख र राजश्व बाँडफाँड रकम २३ करोड ५५ लाख ३ हजार रहेको बताइन् । त्यसै गरि प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान १ करोड ५६ लाख, सशर्त अनुदान १ करोड ६० लाख, समपुरक अनुदान ३ करोड, विशेष अनुदान ८० लाख र राजश्व बाँडफाँड ३ करोड ३१ लाख ७६ हजार र अन्य संघ संस्था अनुदानमा नगरविकास कोष ऋण ७ करोड, युनिसेफ अनुदान ६० लाख र सडक वोर्ड नेपालबाट १ करोड प्राप्त हुने अनुमान गरिएकाे छ ।

व्यय तर्फ कार्यालय संचालन र प्रशासनिक खर्च २७ करोड ८ लाख ३२ हजार नगर विकास कोष सावा व्याज किस्ता भुक्तानी ७७ लाख २३ हजार, चालु नगर स्तरीय कार्यक्रम खर्च १ करोड ६५ लाख ७७ हजार, सवै महाशाखा र शाखाहरुको प्रशासनिक र कार्यक्रम खर्च १८ करोड ९८ लाख ६८ हजार, वडा स्तरीय प्रशासनिक, योजना तथा कार्यक्रम खर्च १३ करोड ३० लाख, नगर स्तरीय योजना तथा कार्यक्रम खर्च ३ करोड ८५ लाख ५४ हजार २ सय ७६ रपैयाँ अनुमान गरिएकाे छ । यसैगरी दायित्व तर्फ गत आ.व.का योजना कार्यक्रम खर्च ३० करोड, केन्द्र प्रदेश र अन्य समपुरक योजनाको खर्च ८ करोड ५० लाख, गत आ.व.भुक्तानी बाँकी २ करोड ५१ लाख २४ हजार ७ सय २४, संघीय सरकार सशर्त, विशेष र समपुरक योजनाको खर्च ६५ करोड ८१ लाख, प्रदेश सरकार सशर्त, विशेष र समपुरक योजनाको खर्च ५ करोड ४० लाख गरि कुल बजेट खर्च १ अर्ब ८६ करोड ४७ लाख, ७९ हजार अनुमान गरिएको हो ।

त्यसैगरि आर्थिक वर्ष २०७९/८० मा चालु तर्फका कार्यक्रमहरु, प्रशासनिक खर्च र कार्यालय संचालन तर्फ कुल खर्च ४७ करोड ७२ लाख ७७ हजार अर्थात कुल वजेट खर्चको २५ दशमलव ५९ प्रतिशत रहेको छ । विकास र शसक्तिकरणका कार्यक्रमहरु, सशर्तका कार्यक्रमहरु तर्फ कुल खर्च १ अर्व ३७ करोड ९७ लाख ७९ हजार अर्थात कुल बजेट खर्चको ७३.९९ प्रतिशत हुने बताइएको छ । यसै गरि वित्तीय खर्च तर्फ ७७ लाख २३ हजार विनियोजन गरिएको छ जुन कुल बजेट खर्च अनुमानको शुन्य दशमलव ४१ प्रतिशत हुन आउने उममेयर चौधरीले बताइन् ।

के छ बजेटकाे प्राथमिकतामा ?

बजेटमा स्वास्थ्य तर्फ विपन्न परिवारलाई तुलसीपुर उपमहानगरपालिका भित्रको हस्पिटल तथा स्वास्थ्य संस्थाबाट नि:शुल्क उपचार गर्न आवश्यक ब्यवस्था गरिएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरी सञ्चालनमा ल्याएको १५ शैयाको तुलसीपुर भिमसेन मेट्रो अस्पताललाई स्तरोन्नती गरि गुणस्तरीय, सर्वसुलभ र उपचारात्मक तथा निदानात्मक सेवा लगायत विशिष्ट सेवाहरु संचालन गर्न र पालिकालाई निशूल्क शल्यकृयाका माध्यमवाट १ वर्ष भित्र मोतिविन्दुमुक्त समाजको रुपमा रुपान्तरण गर्न आवश्यक रकम विनियोजन गरिएको छ । त्यस्तै किशोर किशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारीरुपमा संचालन गर्न किशोर किशोरी सूचना तथा मनोसंकट सहयोग केन्द्र स्थापना गरिने उल्लेख छ ।

उमेयरले प्रस्तुत गरेको बजेट नगरस्तरमा औषधि भण्डारण भवन निर्माण तथा खोप कोल्डचेन, अत्यावश्यक गुणस्तरिय औषधि, औजार तथा उपकरणको व्यवस्था गर्न र थारु समुदायमा रहेको सिकलसेल एनिमिया, हेमोफिलिया लगायतका रोगहरुका उपचार सेवालाई प्रभावकारी वनाउनका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । खानेपानी सेवा विस्तार अन्तरगत फुलवारी डिपवोरीङ तु.उ.न.पा. १३ लाई ५० लाख,राजपुर धारगाउ खानेपानी लाइ २० लाख र अश्वारा खानेपानीलाइ २० लाख वजेटको व्यवस्था भएको छ ।

शिक्षामा विद्यार्थीहरुको पहुँच सुनिश्चित गर्नका लागि यसै आर्थिक वर्षदेखि आधारभुत तह अन्तर्गत कक्षा १ देखि ८ सम्म पूर्ण रुपमा निशुल्क वनाउन र शिशु कक्षा सहयोगीहरुको क्षमता, दक्षता र कार्यको आधारमा शिशु कक्षा सहयोगी कार्यकर्ता, विद्यालय सहायक कर्मचारी र कार्यलय सहयोगीलाई थप सेवा सुविधाका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

त्यस्तै विद्यालयहरुलाई आवश्यक विज्ञान, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, कक्षाकोठा लगायत अन्य भौतिक संरचनामा थप जोड दिदै त्यस्ता संरचनाहरुलाई बालमैत्री तथा अपाङ्गमैत्री बनाउनका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ । विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेर कृषि, वन विज्ञान, चिकित्सा, इन्जिनियरिंग, फुड टेक्नोलोजी, मेडिकल साइन्स जस्ता प्राविधिक शिक्षा सञ्चालनका लागि संघ, प्रदेश सरकारसँग सहकार्य गरेर आवश्यक वजेट व्यवस्था गरिने उमेयर चौधरीले बताइन् ।

एक शैक्षिक संस्था एक सामुदायिक उद्यम कार्यक्रमका लागि ५ लाख विनियोजन गरिएको छ। त्यस्तै लैगिक हिंसामा परेका महिलाहरुको उपचार तथा पुनस्थापनाका लागि उपमेयर महिला सुरक्षा आवास कार्यक्रमलाइ लागि वजेट विनियोजन गरिएको छ । भाषा तथा संस्कृति र पर्यटन प्रवर्धनका लागि तुलसीपुर उपमहानगरपालिकालाई पर्यटनको हवको रुपमा विकास गर्न घुम्न जाउँ तुलसीपुर अभियानलाई निरतरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ भने पर्यटन प्रवद्र्धन र उद्यम विकास गर्न होमस्टेको विकासका लागि आवश्यक वजेट विनियोजन गरिएको उमेयर चौधरीले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ । तुलसीपुर एयरपोर्टको स्तरोन्नतिको लागि पनि आवश्वयक व्यवस्था बजेटमा गरिएको छ ।

त्यस्तै भूउपयोग नीति निर्माण गर्दै जग्गाको बर्गिकरण गरी कृषी उत्पादनको पकेट क्षेत्र निर्धारणलाई निरन्तरता दिन मौरी, बाख्रा र नया तरकारी वालीको पकेटका लागि २५ लाख वजेट विनियोजन गरिएको छ भने व्यासायिक कागति खेतिको लागि १० लाख वजेट विनियोजन गरिएको छ भने धानवाली प्रवर्धन कार्यक्रमका लागि २५ लाख बजेट विनियोजन भएको छ । त्यस्तै बजेटमा पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन डिस्पेन्सरी सञ्चालन एवं प्रयोगशाला निर्माण तथा दुर्गम क्षेत्रमा घुम्ति शिविर सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था, कृषकले उत्पादन गरेको दुधको बजार व्यवस्थापन हुन नसक्ने अवस्थामा चिलिङ सेन्टर स्थापना गर्न लागत साझेदारी वापतको रकम १५ लाख ५० हजार बजेट व्यवस्था गरिएको छ ।

बजेटमा नगरको फोहोरलाई मोहोरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न दिर्घकालिन ल्याण्डफिल साइटको व्यवस्था र फोहोरलाई वर्गीकरण तथा व्यवस्थापनका लागि आवश्यक व्यवस्था गरिने छ । त्यस्तै मा.वि. दोघरे स्कुलको भवन निर्माण गर्न थप १ करोड ३० लाख वजेट विनियोजन भएको छ । शहरी विकास कार्यक्रमका लागि उरहरी चोक देखि दामोदर मार्ग छुने सडक तथा नाला निर्माणको लागि ४९ लाख वजेट विनियोजन भएको छ ।

सूचना तथा सञ्चारमा रेडियो तथा टेलिभिजन कार्यक्रम निर्माण, तुलसीपुर मासिक बुलेटिन प्रकाशन, हेलो मेयर टोल फ्रि हटलाइन सञ्चालन, सञ्चारकर्मीको स्वास्थ्य विमा, लोककल्याणकारी विज्ञापन वितरणका लागि आवश्यक रकम विनियोजन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, ३, ४ र १९ का अग्ला स्थानहरुबाट वायु उर्जा उत्पादनका गर्न सम्भाव्यता अध्ययनका लागि आवश्यक व्यवस्था गरिएको उमेयर चौधरीले बताइन् ।

त्यस्तै कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले समृद्ध तुलसीपुर सवैका लागि सधैका लागि भन्ने मुल अभियानका साथ आर्थिक बर्षको विजेट विनियोजन गरिएको भन्दै बजेटलाई कार्यान्वयन गर्न आफुहरु लाग्ने बताए । उनले सवैको साथ र सहयोगलेमात्र आफुहरुले बजेट कार्यान्वयन गर्ने सक्ने बताए । प्रथम नगरसभाको दोस्रो बैठकमा आर्थिक विधेयक आर्थिक समितिका संयोजक माधव वली, विनियोजिन विद्येयक लेखा समितिका संयोजक घनश्याम ढकालले प्रस्तुत गरेका थिए ।

त्यसैगरी दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ । चालु अर्थिक वर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको थियो । चालु वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि १२ करोड बजेट बढेको छ ।

शुक्रबार दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले चालुतर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पुँजीगततर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजारको बजेट प्रस्तुत गरेकी छन् । उक्त बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयव्ययबाट ३२ करोड, संघीय वित्तीय समानीकरण अनुदानबाट ३५ करोड ९५ लाख, संघीय राजस्व बाँडफाँटबाट २५ करोड ७६ लाख ५८ हजार, संघीय रोयल्टी बाँडफाँटबाट ७ लाख, संघीय ससर्त अनुदानबाट ७१ करोड २ लाख जुटाउने उपमहानगरले जनाएको छ ।

त्यस्तै, संघीय समपूरक अनुदानबाट १ करोड र संघीय विशेष अनुदानबाट २ करोड व्यहोरिने उपप्रमुख डिसीले बताइन् । डिसीका अनुसार प्रदेश समपूरक अनुदानबाट ३ करोड र प्रदेश विशेष अनुदानबाट ८० लाख खर्च व्यहोरिनेछ । यसबाट अपुग हुने रकम ५३ करोड ५८ लाख र चालु आर्थिक वर्षको बैंक मौज्दातबाट व्यहोरिने उल्लेख छ ।

यस्तै, उपमहानगरले आगामी आर्थिक वर्षका लागि शिक्षालाई प्राथमिकता राख्दै बजेट ल्याएको छ । शिक्षालाई सबै वर्गमा पहुँच विस्तार गर्दै शैक्षिक गुणस्तर सुधार गर्न भन्दै शिक्षा, युवा तथा खेलकुदका लागि १३ करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ । सफा, स्वच्छ र सुन्दर नगरमा बनाउन भन्दै सरसफाइ व्यवस्थापनतर्फ ८७ लाख ६० हजार रुपैयाँ छुट्याइएको छ । त्यस्तै, कृषिमा १ करोड १२ लाख र पशुमा ७७ लाख २० हजार रकम छुट्याइएको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी