ताजा अपडेट »

तिलोत्तमाकी सुविना मृत्यु प्रकरण : ‘घाँटी थिचेर मृत्यु’, श्रीमान विरुद्ध ज्यान सम्बन्धि कसुर मुद्दा

विहीबार, ०९ असार २०७९, ०८ : ५५
22 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमाकी धनकुमारी गिरी (सुविना)को आत्महत्या नभई हत्या भएको आधार थप बलियो देखिएको छ । सुविनाको पोस्टमार्टम रिपोर्ट अनुसार ‘नेक प्रेसर’ का कारण मृत्यु भएको प्रारम्भिक रिपोर्टमा देखिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले ग्लोबल आवाजलाई जानकारी गराए ।

शवको फरेन्सीक रिपोर्ट आउन बाँकी रहेको बताउँदै उनले पोस्टमार्टम रिपोर्टमा झुण्डिएर नभई घाँटी थिचिएर मृत्यु भएको उल्लेख गरे । घाँटी के–कसरी थिचिएको हो भन्ने पूर्ण विवरण अनुसन्धान तथा फरेन्सिक रिपोर्टपछि मात्रै बताउन सकिने केसीले बताए । पोस्टमार्टम रिपोर्टसँगै सुविनाको हत्या दाबी गर्दै आफन्तले कर्तव्य ज्यान मुद्दा दर्ता गराएको उनले जानकारी दिए । सुविनाको घाँटीमा दायाँ–बायाँ औंलाका डाँम र शरिरका विभिन्न ठाउँमा पनि डामहरु देखिएकाले आत्महत्या नभई हत्या भएको दाबी थप बलियो देखिएको अनुसन्धानमा संलग्न एक स्रोतले जानकारी दियो ।

तिलोत्तमा–६ घर भएकी सुविनाको उनका श्रीमान संजयले सञ्चालन गर्दै आएको मिलन रेष्टुरेन्टमा गएको जेष्ठ ३० गते झुण्डिएर आत्महत्या प्रयासमा मृत्यु भएको परिवारले बताउँदै आएको छ । घरदेखि करिब १ किलोमिटर दुरीमा रहेको होटलमा झुण्डिएकी सुविनालाई उद्दार गरी उपचारका लागि तिलोत्तमाकै मणिग्रामस्थित क्रिमसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको श्रीमान संजय गिरीले प्रहरी समक्ष बयान दिएका छन् । यद्यपी घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको भन्दै सुरुदेखि नै दाबी गर्दै आएको माईती पक्षले पोस्टमार्टम रिपोर्टपछि हत्याको आधार थप बलियो भएपछि ईलाका प्रहरी कार्यालय बुटवलमा बुधबार ज्यान सम्बन्धि कसुरमा मुद्दामा पुरक जाहेरी दर्ता गराएका छन् ।

सुविनाका बुवा नवलपरासीको कावासोती नगरपालिका–१६ का नरु गिरीले जाहेरी दर्ता गराएका हुन् । सुविनाका श्रीमान अन्दाजी ३८ वर्षीय संजय र कञ्चन गाउँपालिका–१ घर भई मामा (संजय)को घरमा बस्दै आएका २१ वर्षीय कुसल गिरीलाई मुख्य अभियुक्त बनाई मुद्दा दर्ता भएको हो । सुविनाको घाँटी यांकेर, थिचेर, दबाएर मृत्यु भएको पुष्टि भएकोले अब सोही अनुरुप अनुसन्धानलाई अगाडि बढाउन सुविनाका बाबू नरु गिरीले प्रहरी समक्ष आग्रह गरेका छन । उनले गत जेठ ३१ गते नै इलाका प्रहरी कार्यालय बुटवलमा ज्यान सम्बन्धी कसुरमा छानबिन गरि कारबाही गरियोस् भनि जाहेरी दिएका थिए । सोही जाहेरीलाई बल पुग्नेगरी थप पूरक जाहेरी बुधबार दर्ता गराएका हुन् ।

लुम्बिनी प्रादेशिक हस्पिटलमा भएको पोस्टमार्टम रिपोर्टमा झुण्डिएर मृत्यु नभएको प्रष्ट भएपछि पतिको दाबी झुठो ठहर भएको सुविनाका बुवाले बताए । ८ वर्षअघि मागि विवाह गरेका संजयले बेला–बेलामा श्रीमातिमाथि कुटपिट समेत गर्ने गरेको आरोप छ । छोरी र ३ वर्षको छोरासहित भएकी सुविनाले आत्महत्याकै लागि घरदेखि करिब १ किलोमिटर दुरीमा रहेको होटलको कोठामा पुग्नु नै आश्चार्यजनक कुरा रहेको स्थानीयहरुले समेत बताउँदै आएका छन् । झुण्डिएको अवस्थामा देख्ने कोही नभएको र पतिकै व्यवहार शंकास्पद लागेपछि माइतीले सुरुदेखि नै गहिरो अनुसन्धान गर्न माग गरेका थिए ।

सुविनाकी फुपु छमा गिरीले सुरुमै सूचना दिने बेलादेखि नै पति(संजय) र परिवार तथा नातेदारको भूमिका शंकास्पद लागेको बताउँछिन् । ‘कहिले कतिबेला भन्छन कहिले के भन्छन र पत्याउनै नसकिने कुरा गर्छन् जसले हामीलाई सुविना झुण्डिएको विश्वास नै लागेन ।’–उनको भनाइ छ । ‘शरिरमा लागेका चोटपटक, भुत्लाइएको कपाल, नङका डाम, शरिका विभिन्न ठाउँमा भएका निल डामले हत्या भएको प्रष्टै दिखिएको छ ।’–उनले दाबी गर्दै भनिन् ।

संजयले सञ्चालन गर्दै आएको तिलोत्तमा–६ पश्चिम पहुनीमा अवस्थित मिलन रेष्टुरेन्टमा सुविनाले आत्महत्या प्रयास गरेको उनको परिवारले बताएको छ । यद्यपी छिमेकमा कसैले पनि उक्त राती कुनै आवाज वा गतिविधि भएको पत्तै नपाएको उल्लेख गरे । घर देखि करिब १ किलोमिटर ताढा रहेको होटलमा दिदीले आत्महत्या गर्न पुगेको भन्ने घटनाले नै आफूलाई विश्वास नलागेको बहिनी प्रमिलाले बताउछिन् ।

‘अन्य समयमा समेत भिनाजुले दिदीलाई होटलमा जान रोक लगाउनुहुन्थ्यो । तर, त्यो दिन कसरी दिदी होटलमा पुग्नुभयो ? विश्वास नै गर्न नसकिने घटना भएको छ ।’–प्रमिलाले भनिन्, ‘दिदी कहिलेकाँही नास्ता खान परेमा मात्रै दिनको समयमा होटलमा जाने गर्नुहुन्थ्यो । रातको समयमा जाने कुरै भएन, किनकी भिनाजुले दिदीलाई होटलमा बस्न दिनुहुदैन थियो ।’ ‘होटलमा जस्तोसुकै आचरणका व्यक्ति पनि आउँछन्, भन्दै भिनाजुले दिदीलाई होटलमा जान दिनुहुँदैन थियो ।’ उनले भनिन् । सुविनाका ३ वर्षीय छोरा र ७ वर्षीया छोरीको पठनपाठन र पालन पोषणका कारण पनि होटल जाने फुर्सद हुँदैन थियो ।

यसरी होटलमै नजाने दिदी मध्यरातमा होटल पुगेर आत्महत्या गर्ने कुरा विश्वास गर्नैै नसकिने बहिनी प्रमिलाले बताउँदै आएकी छन् । रेष्टुरेन्टमा रहेको भनिएका श्रीमान संजयले अन्तिम ग्राहक सबा ११ बजेतिर गइसकेको बताएको र सोही रात १ बजेसम्म उनीहरु त्यहाँ बस्नुको कारण रहस्यमय रहेको सुविनाका बुवाले प्रश्न गरेका छन् । घटना स्थलमा झुण्डिएको भनिएको स्थालमा टेबुल रहेको, केही कुर्सीहरु पल्टाएर राखेको, चुरोटका ठुटा, मासुका टुक्रा, वियरका बोत्तल, फुटेको वियर गिलास एकजोर लेडिज तथा अर्को पुरुषले लगाउने चप्पल भेटिएको थियो ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।