ताजा अपडेट »

साताअघिको त्यो फोन वार्ता : ‘मनमा लागेका चोट कसरी मेटाउने ?’

विहीबार, ०२ असार २०७९, ०९ : ५६
10 Shares

बुटवल । केही दिन माइत बस्न गएकी सुविनाले घरमा रहेका श्रीमानसँगको फोन वार्तामा भनेकी थिइन-‘मेरो घर कहाँ छ र जाउँ ?, मेरा मनमा लागेका चोट कसरी मेटाउ ?’ सुविनाका श्रीमान संजय गिरीले थमथम्याउँदै भनेका थिए-‘सरी अब यस्तो हुँदैन ।’ छेउमै रहेकी बहिनी प्रमिला दिदी र भिनाजुको कुराकानी सुनिरहेकी थिइन् । दिदीले भिनाजुसँग गरेका कुराहरु बारे थप खोतल्न खोजे पनि सुविनाले खुलाउन चाहिनन् । बरु भोलिपल्ट नै दिदी सुविना घरतिर लागिन ।

उक्त फोन वार्ता भएको ८ दिनपछि धनकुमारी गिरी (सुविना)को रहस्यमयी मृत्युको खबर सुनेपछि बहिनी प्रमिला छाँगाबाट खसे जस्तै भइन् । बुवा-आमालाई भन्दा बढी आफूलाई पीडा सुनाउने दिदी सुविनाले आत्महत्या गरेको कुरा उनलाई कत्तिपनि विश्वास लागेको छैन । भिनाजुले दिदीमाथि गरेका कुटपिट तथा ज्यादतीहरुलाई प्रत्येक्ष रुपमा देखेकी प्रमिलाले दिदीको मृत्यु हुनुको कारण पनि सोही घटनासँग सम्बन्धित भएको बताउँछिन् ।

भिनाजुले विगतदेखि नै दिदीमाथि ज्यादती गर्दै आएको बताउँदै प्रमिलाले सुविनाको हत्या भएको दाबी गर्छिन् । दुई वर्ष अघि आफूले प्रत्येक्ष देखेको घटना उल्लेख गर्दै प्रमिलाले भनिन्–‘भिनाजुले दिदीलाई सारै कुट्नुहुन्थ्यो तर, उसले कसैलाई पीडा सुनाउँदैन थियो ।’ एक दिन दिदीको घरमा बस्न आएको समय कुनै पार्टी वा कार्यक्रममा गएका भिनाजु संजय गिरी मध्य रातको करिब १ बजे घर फर्किए । दुई वर्षअघिको घटना सम्झिँदै प्रमिलाले भनिन्, भिनाजु मदिरा सेवन गरेर निकै मात्नुभएको थियो त्यसैले होला दिदीले कुनै सवाल जवाफ गर्नुभएन । भिनाजु अर्को कोठामा, दिदी र म एउटा कोठामा सुत्यौं । भोलिपल्ट एकाविहानै उठेर घरको काम गर्दै दिदीले भिनाजुलाई सम्झाउन थाल्नुभयो । भिनाजु भने एक्कासी जाइलाग्दै दिदीलाई २/३ झापड गालामा हान्नुभयो ।

उक्त घटना देखे पनि प्रमिलाले बोल्न सकिनन् । जब दिदी कुटाई खाएपछि कोठाबाट रुँदै बाहिर निस्किन लागिन पुनः भिनाजुले कपालमा समातेर घिसार्दै कोठा भित्र लगेर फेरी २/४ झापड लगाए । पुनः कुटपिट गर्न लागेपछि भने प्रमिलाले प्रश्न गरिन् । भिनाजुले झर्किदै जवाफ फर्काए–‘तिम्रो दिदीको स्वभाव नै त्यस्तै छ । पिटेको होइन अलि–अलि सम्झाएको मात्रै हो ।’

उक्त घटना प्रत्येक्ष देखेकी बहिनी प्रमिलाले कसैलाई नभन्ने बाचासहित कसम समेत खानु परेको थियो । घटना बारे बुवा-आमालाई जानकारी भए उनीहरुलाई पीडा हुने बताउँदे दिदी सुविनाले नै प्रमिलालाई कसैलाई नबताउने गरी बाचा कसम खुलाएकी थिइन् । दुई वर्षअघिदेखि नै दिदीले भोगेका यातना बारे जानकार प्रमिलाले पारिवारिक द्वन्द र अन्तरविरोधकै कारण दिदीको हत्या भएको हुनसक्ने दाबी गरिन् ।

नवलपरासीको कावासोती नगरपालिका-१६ की धनकुमारी गिरी (सुविना) र रुपन्देहीको तिलोत्तमा-६ का संजय गिरी बीच ८ वर्षअघि मागि विवाह भएको थियो । विवाह भएको ३/४ वर्षसम्म उनीहरुको सम्बन्ध ठिकै चल्यो । पछिल्लो केही वर्षदेखि भने उनीहरु बीच मनमुटाव भैरहे पनि सुविनाले उक्त घटनालाई लुकाउने गरेकी थिइन् । सुविनामाथि संजयले हातपात समेत गर्ने गरेको आफूले प्रत्येक्ष देखेको वहिनी प्रमिलाले बताउछिन् । ‘प्राय मध्यरातमा मदिरा सेवन गरेर घरमा आउने, श्रीमतीले प्रश्न गरेमा उल्टै कुटपिट गर्ने, परिवारसँग झर्किने भिनाजुको स्वभाव थियो ।’-ग्लोबल आवाजसँगको कुराकानीमा बहिनी प्रमिलाले भनिन् ।

यही जेष्ठ ३१ गते सोमबार राती १० बजेसम्म मोबाइलमा ‘टिकटक’का बारे रमाइलो गफ गर्दै सुतेकी दिदी सोही राती मृत्युको घटनाले बहिनी प्रमिलालाई अझै विश्वास लागेको छैन । मध्यराती करिब साढे १ बजेको समयमा सुविनाले आत्महत्या प्रयास गरेपछि उद्धार गरी तिलोत्तमा–५ मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारका लागि पुर्याइएको भएपनि बाटोमै मृत्यु भएको सुविनाको परिवारले बताएको छ । घटना बारे संजयका मामाले मँगलबार विहान करिब साढे ३ बजेको समयमा फोन गरेर सुविनाका बुवा-आमालाई जानकारी गराएका थिए ।

संजयले सञ्चालन गर्दै आएको तिलोत्तमा–६ पश्चिम पहुनीमा अवस्थित मिलन रेष्टुरेन्टमा सुविनाले आत्महत्या प्रयास गरेको उनको परिवारले बताएको छ । यद्यपी छिमेकमा कसैले पनि उक्त राती कुनै आवाज वा गतिविधि भएको पत्तै नपाएको उल्लेख गरे । घर देखि करिब १ किलोमिटर ताढा रहेको होटलमा दिदीले आत्महत्या गर्न पुगेको भन्ने घटनाले नै आफूलाई विश्वास नलागेको बहिनी प्रमिलाले बताउछिन् ।

‘अन्य समयमा समेत भिनाजुले दिदीलाई होटलमा जान रोक लगाउनुहुन्थ्यो । तर, त्यो दिन कसरी दिदी होटलमा पुग्नुभयो ? विश्वास नै गर्न नसकिने घटना भएको छ ।’-प्रमिलाले भनिन्, ‘दिदी कहिलेकाँही नास्ता खान परेमा मात्रै दिनको समयमा होटलमा जाने गर्नुहुन्थ्यो । रातको समयमा जाने कुरै भएन, किनकी भिनाजुले दिदीलाई होटलमा बस्न दिनुहुदैन थियो ।’ ‘होटलमा जस्तोसुकै आचरणका व्यक्ति पनि आउँछन्, भन्दै भिनाजुले दिदीलाई होटलमा जान दिनुहुँदैन थियो ।’ उनले भनिन् । सुविनाका ३ वर्षीय छोरा र ७ वर्षीया छोरीको पठनपाठन र पालन पोषणका कारण पनि सुविनालाई होटल जाने फुर्सद हुँदैन थियो ।

यसरी होटलमै नजाने दिदी मध्यरातमा होटल पुगेर आत्महत्या गर्ने कुरा विश्वास गर्नैै नसकिने बहिनी प्रमिलाले बताउँदै आएकी छन् । आत्महत्या नभई हत्या भएको भन्दै किटानी जाहेरी दिएका सुविनाका बुवा नरु गिरीले घटनामा विभिन्न संका गर्न सकिने ठाउँहरु रहेको उल्लेख गरेका छन् । ग्लोबल आवाजसँगको कुराकानीमा घटनामा सुविनाको हत्या भएको भन्ने आधारहरु प्रस्तुत गर्दै उनले भने-झुण्डिएको देख्ने कोही नहुनु र श्रीमान आफैले उद्धार गरेर ल्याएको बताएपनि हस्पिटल आउने बेलासम्म आफ्नो मामा बाहेक कसैलाई जानकारी नगराउनुले रहस्यमय देखिएको छ । यसैगरी मध्य रातमा एक किमि टाढाको घरबाट सुविना रेष्टुरेन्टमा किन गइन भन्ने प्रश्न गम्भिर रहेको उनले बताए ।

रेष्टुरेन्टमा रहेको भनिएका श्रीमान संजयले अन्तिम ग्राहक सबा ११ बजेतिर गइसकेको बताएको र सोही रात १ बजेसम्म उनीहरु त्यहाँ बस्नुको कारण रहस्यमय रहेको सुविनाका बुवाले प्रश्न गरेका छन् । घटना स्थलमा झुण्डिएको भनिएको स्थानमा टेबुल रहेको र झुण्डिदा छट्पटी हुँदा समातेर उभिन मिल्ने अवस्था रहेको, केही कुर्सीहरु पल्टाएर राखेको, चुरोटका ठुटा, मासुका टुक्रा, वियरका बोत्तल, फुटेको वियर गिलास त्यहीँ परिसरमा रहेको र एकजोर लेडिज तथा अर्को पुरुषले लगाउने चप्पल भेटिएकाले थप संकास्पद देखिने माईती पक्षको दाबी छ । मृतककी फुपु क्षमा गिरीले सुविनाको शरिरभरि नीलडाम भएकाले पतिले हत्या गरेको वा झुण्डाएको दाबी गरिन् । घटना बारे सत्यतथ्य छानविनका लागि प्रहरीले तदारुकता नदेखाएको माइती पक्षको आरोप छ । यद्यपी प्रहरीले भने प्रकियागत रुपमा अनुसन्धान अघि बढ्ने बताएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।