ताजा अपडेट »

गुल्मीमा सल्लाको रुखमा बनाइएको घरमा पर्यटन मन्त्री

आइतबार, ०८ मंसिर २०७६, १३ : ५०
6 Shares

मंसिर ८,
ग्लोबल आवाज

गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै पर्यटकीय गनतव्य बनाउनको निम्ति ट्री–हाउसको निर्माण गरिएको छ । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–७ को उनायचौरमा सल्लाको रुखमा ट्री–हाउस निर्माण भएको हो । ट्री–हाउस उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिले उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै मन्त्री गिरीले प्रदेश सरकार कानुन निर्माण गर्न ढिलाई हुँदा पर्यटकीय क्षेत्रमा सोचे अनुसार कामहरु हुन नसकेको बताए । अब कानुन निर्माण गरेर पर्यटनको क्षेत्रमा देखिने गरि कामहरु अगाडी बढाइने मन्त्री गिरीले बताए । ट्री–हाउसको अबलोकन गर्दै प्रदेश ५ कृषि तथा पर्यटनबाट मात्रै समृद्ध बन्ने भएकाले आफु योजनाबद्ध रुपमा लागि परेको बताए । उनले प्रदेश नम्बर ५ पर्यटनको क्षेत्रमा अगाडी रहेकाले कृषिमा रहेको प्रधान अर्थतन्त्रलाई केहि वर्ष पर्यटन आधारमा रहेको प्रधान अर्थतन्त्रको रुपमा अगाडी बढाउने मन्त्री गिरीको भनाई छ । पर्यटन क्षेत्रलाई अगाडी ल्याउन र यसक्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुलाई बृहत्तर बिकास गर्न तिनै तहको सरकार मिलेर अगाडी बढने बताए । भैरहवामा रहेको अन्तराष्ट्रिय बिमानस्थल निर्माण कार्य सम्पन्न हुने क्रममा रहेकाले लुम्बिनी, रुरुक्षेत्र, रेसुङ्ग, सुपादेउराली, स्वर्गादरी, बाके वर्दिया लगायत तमाम पर्यटीकीय क्षेत्रमा धेरै पर्यटकहरु आउने बताए । यसक्षेत्रमा प्रदेश सरकारले धेरै बजेट छुट्टाएर पर्यटकीय स्थलहरु निर्माण गरिने कार्य अगाडी बढेको मन्त्री गिरीको भनाई छ । पहाडबाट तराई झर्ने कार्य बन्द भएर अबको दशवर्ष पछि तराईबाट पहाडमा मान्छेहरु बस्न आउने वातारण तय हुने बताए ।

गत भदै ३ गतेखि सञ्चालनमा आएको ट्री–हाउसमा करिब २० हजारले अवलोकन गरिसकेका छन् । ४२ फुट अग्लो रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने घर निर्माण गरिएको छ । रुखको टुप्पोमा पुग्न एक सय सिँढी उक्लनु पर्छ । त्यहाँबाट तम्घाससहित उत्तरका मनोरम हिमालको दृश्यावलोकन गर्न सकिन्छ । ‘ट्री हाउस’ मा चढ्न टिकट विद्यार्थीलाई १० रुपैयाँ, अन्यलाई २० र ज्येष्ठ नागरिकलाई निःशुल्क व्यवस्था गरिएको छ । उनायचौर भगवती मन्दिर व्यवस्थापन समितिले प्रदेश ५ को वन मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय गुल्मी र उपभोक्ताको गरि १३ लाख ३८ हजार नौ सय ११ रुपैयाँ लगानीमा रुखको टुप्पामा घर निर्माण गरेको हो । ट्रि–हाउस अबलोकनबाट लिइएको शुल्कबाट झण्डै २ लाख रकम संकलन भइसकेको छ । संकलित रकम कोषमा जम्मा गर्ने र अन्य पर्यटकीय संरचना निर्माण गरिने आयोजकले जनाएको छन् । जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा पर्ने स्थलमा सवारीका साधनबाटै पुग्न सकिन्छ ।

ट्रिहाउस अबलोकनमा लागि पुग्ने गरेकाहरु निकै रमाइलो र अनौठो खालको लागेको बताउने गरेका छन् । उनाएचौरमा रहेको खाली ठूलो चौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । प्राबिधिक समस्या देखिए पछि सिमीचौरमा निर्माण भइरहेको छ । बिमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय ट्री–हाउस, खेल मैदान र पर्यटकीय पार्क बनेपछि स्थानीयहरु उत्साहित भएका छन् । त्यस स्थलको अबलोकनमा पुग्नेहरुले गर्दा नजिकै रहेका होटल तथा पसलहरुको व्यवसाय पनि बढेको व्यवसायीहरु बताउछन् । बिभिन्न क्षेत्रको आर्थिक सहयोगमा ट्री–हाउससँगै, पर्यटकीय पार्क बनाउनको निम्ति आर्थिक सहयोगमा बिभिन्न संरचना निर्माण गरिन लागिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।