ताजा अपडेट »

लुम्बिनीमा जिसस गठन: कांग्रेस ३, एमाले र माओवादीको २/२ जिल्लामा बहुमत

बुधबार, १८ जेठ २०७९, १७ : ३९
8 Shares

बुटवल । स्थानीय तहको निर्वाचन सकिएसँगै लुम्बिनी प्रदेशका राजनीतिक दलहरु जिल्ला समन्वय समिति गठनमा केन्द्रित भएका छन् । प्रदेशमा रहेका १२ जिल्ला मध्ये नेपाली कांग्रेसको ३ जिल्लामा, नेकपा एमाले र माओवादी केन्द्रको २/२ जिल्लामा एकल बहुमत रहेको छ । कांग्रेसको दाङ, बर्दिया र बाँके, एमालेको अर्घाखाँची र पाल्पा, माओवादीको रोल्पा र रुकुम पूर्वमा जिसस गठनका लागि एकल बहुमत छ ।

निर्वाचन आयोगको तथ्यांकलाई केलाउँदा २० मतदाता रहेको दाङमा कांग्रेसका १२ जना, १६ जना मतदाता रहेको बाँकेमा १२ मतदाता र १६ मतदाता रहेको बर्दिया जिल्लामा ९ जना मतदाता रहेका छन्। यी तीन जिल्लामा कांग्रेसका ५० प्रतिशतभन्दा धेरै मतदाता रहेकाले एकलौटी जिल्लासभा गठन गर्ने जनशक्ति कांग्रेससँग छ ।

यस्तै, २० मत रहेको पाल्पामा एमालेको ११ जना र १२ मतदाता रहेको अर्घाखाँचीमा ८ जना मतदाता रहेका छन् । यी जिल्लामा एमालेको ५० प्रतिशत भन्दा बढी मत रहेकाले एकलौटो रुपमा जिल्लासभा गठन गर्ने शक्ति एमालेसँग रहेको छ । यता, २० मत रहेको रोल्पामा नेकपा माओवादी केन्द्रको १५ जना र ६ मतदाता रहेको रुकुम पूर्वमा ५ जना मतदाता रहेकाले यी जिल्लामा माओवादीले एकलौटीमा रुपमा जिल्लासभा गठन गर्न सक्ने छ । गुल्मी, कपिलबस्तुमा र प्यूठान जिल्ला समन्वय समिति गठनका लागि सत्ता गठबन्धन बहुमतमा रहेका छन् भने रुपन्देहीमा सत्ता गठबन्धन अल्पमतमा रहेको छ ।

२४ मत रहेको गुल्मीमा कांगेस र एमालेका १०/१० मतदाता रहेका छन् भने माओवादी केन्द्रका ४ जना मतदाता रहेका छन् । १८ मतदाता रहेको प्यूठान जिल्लामा नेपाली कांग्रेसका ७, एमाले र माओवादीका ४/४ जना र राष्ट्रिय जनमोर्चाका ३ जना मतदाता रहेका छन् । लुम्बिनी प्रदेशमा सबै भन्दा धेरै मतदाता भार रहेको रुपन्देहीमा नेपाली कांग्रेसका १४ जना, एमालेका ११ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना, जनता प्रगतिशिल पार्टीका २ जना, जनता समाजवादी पार्टी र राप्रपाको १/१ जना मतदाता रहेका छन् । रुपन्देहीमा सत्तागठबन्धन भन्दा बाहिरका दलहरुलाई मिलाएर जिल्ला समन्वयको नेतृत्वमा आफ्नो हातमा पार्ने तयारीमा नेकपा एमाले रहेको छ भने गठबन्धन पनि सकेसम्म लोकतान्त्रिक समाजवादीलाई उपप्रमुख दिएर नेतृत्व आफ्नो पक्षमा पार्ने करसतमा रहेका छन् ।

नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टीलाई जिल्ला समन्वय समितिको उपप्रमुख दिएर तालमेल गर्ने कांग्रेसको तयारी रहेको छ । कांग्रेस र लोकतान्त्रिक समाजवादीसँग अनौपारिक छलफल भएको र छलफल सकारात्मक भएको कांग्रेसका जिल्ला सचिव हरिप्रसाद काफ्लेले बताए । ‘हाम्रो लोकतान्त्रिक समाजवादीसँग अनौपचारिक वार्ता भइरहेका छन् । वार्ता सकारात्मक नै भएको छ । अब सबै नगरको कार्यपालिका निर्वाचन सकिए पछि लोकतान्त्रिक समाजवादीसँग औपचारिक वार्ता गछौँ र सहमति गछौँ।’–उनले भने ।

यता नेकपा एमालेका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले पनि साना सबै दलहरुलाई आफूहरुले मिलाएर लग्ने गरी अघि बढ्ने बताए । अहिलेसम्म जिससको तालमेलका लागि कुनै दलसँग छलफल नभएको बताउँदै अध्यक्ष केसीले भने ‘जिल्लाका सबै कार्यापालिकाको निर्वाचन सकिएपछि सकेसम्म सत्ता गठबन्धन भन्दा बाहिरका दलहरुसँग मिलेर जान्न सक्ने सम्भावना बलियो छ ।’

यस्तै १४ मतदाता रहेको नवलपरासी पूर्वमा नेपाली कांग्रेस र एमालेको ६/६ जना मतदाता रहेका छन् भने माओवादी र राप्रपाका १/१ जना मतदाता रहेका छन् । यसकारणले दुबै पक्ष राप्रपालाई मनाउने कसरतमा रहेका छन् । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्य पदका लागि स्थानीय तह निर्वाचनमा निर्वाचित वडा सदस्य र कार्यपालिका सदस्य मात्रै उम्मेदवार बन्न पाउँछन् । जिल्लासभामा निर्वाचित भइसकेपछि उनीहरूले जितेका वडा वा कार्यपालिका सदस्यको पद स्वतः रिक्त हुने कानुनी प्रावधान छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।