ताजा अपडेट »

६ वर्षमा पनि पूरा नहुने बुटवलको ६ लेन सडक : म्याद सकिन डेढ महिना बाँकी, कामको गति सुस्त

मंगलबार, १७ जेठ २०७९, २२ : ००
8 Shares

बुटवल । हिउँदभरी धुलाम्य बुटवलको सडक अब हिलाम्य हुन सुरु भएको छ । व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकअन्तर्गत बुटवलको चौराहदेखि गोलपार्कसम्मको सडक निर्माण सुरु भएको ६ वर्षसम्म पनि पूरा नहुँदा हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुने गरेको छ ।

पछिल्लो पटक थपिएको म्याद असार मसान्त आउन करिब डेढ महिना मात्रै बाँकी छ । अहिलेकै गतिमा काम हुने हो भने असार मसान्तसम्म योजना पूरा नहुने निश्चित प्राय देखिन्छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कञ्चनजंगा बिरुवा जेभीले सुस्त गतिमा काम गर्दा असारमा काम नसकिने निश्चित भएको हो ।

२०७३ चैत १७ गते ठेक्का सम्झौता भई ०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि जग्गा विवादले उक्त समय अदालती उल्झनमै बितेको थियो । सडक विस्तारको बाटो खेलेपछि पुनः तोकिएको समय अवधिमा समेत निर्माण कम्पनीले काम गर्न नसक्दा म्याद थपेर ०७९ असार ३० गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता भएको थियो ।

आयोजना सुरुहुने बेलादेखि नै जग्गा विवादले विभिन्न अदालती उल्झन झेल्दै आएको राजमार्ग चौराह–गोलपार्क सडक राजनीतिक दाउपेचको विषय बन्दा थप ढिलासुस्ति भएको यहाँका स्थानीयहरुले बताउने गरेका छन् । ‘राजनीतिक स्वार्थमा जस–अपजसको खेलले निर्धारित समयमा पूरा हुने सम्भावना यस पटक पनि टरेको देखिन्छ ।’–बुटवल पुस्पलाल पार्क नजिकै व्यवसाय गर्दै आएका एक व्यवसायीले भने ।

व्यापारिक मार्ग अन्तरगत अन्य काम सम्पन्न भएपनि राजमार्ग चौराहदेखि चिडिया खोलासम्मको साढे ३ किलोमिटर सडक बिस्तारले पूर्णता नपाउँदा बुटवल बजारनै अस्तव्यस्त भएको छ । सडक मर्मतको कामले पूर्णता नपाउँदा यसअघि बुटवलका मेयर रहेका शिवराज सुवेदीले ठूलो आलोचना खेप्नु परेको थियो ।

संघीय सरकारको स्वामित्वमा रहेपनि उपमहानगरले चासो नदिएको भन्दै उपमहानगर विरुद्ध जनताले असन्तुष्टिहरु राख्दै आएका थिए । निर्माणको चरणमा जग्गा स्वामित्वको विषयले विवादित बनेको सडक मर्मतको काम पटक–पटक समय थप गर्दा समेत निर्माण कम्पनीले ढिला सुस्ति गर्दा वर्षौसम्म अधुरो रहेको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित बुटवलका मेयर खेलराज पाण्डेले सडक मर्मतको कामलाई आफूले प्राथमिकतामा राखेको बताउँदै आएका छन् । पाण्डेले आफू मेयर भएपछि भने सडकमै पुगेर मर्मतको अवलोकन गरेका छन् । स्थानीय तहको निर्वाचनमा पहिलो चुनावी एजेण्डा बनाएका उनले सडक मर्मतको अवलोकन गरेका तस्विर सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका छन् ।

सर्वोच्च अदालतले २०७७ पुस २० गते काम–कारबाही अगाडि बढाउन आदेश जारी गरेपछि सडक बिस्तारको बाटो खुले पनि निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै ढिला–सुस्ती गर्दा निर्धारित समयावढीमा सम्पन्न नहुने स्थितिमा पुगेको हो । यसअघि ठेकेदार कम्पनीलाई विभागमै हाजिर गराएर वैशाख मसान्तसम्म अस्पताल लाइनको ६ सय मिटर मेन कजवे कालोपत्रे गर्नेगरी माइन्युट गराएको भए पनि ठेकेदारले सहमति कार्यान्वयन गरेन ।

व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दिपक झाले चुनावअघि गर्ने भनेको काम अहिले ठेकेदारले बल्ल सुरु गरेको बताए । सडक विस्तार क्षेत्रभित्र कतिपय स्थानमा विद्युतका पोलहरू स्थानान्तरणको काम बाँकी रहेको छ भने सडकमा रहेका खानेपानी पाइप व्यवस्थापनको काम पनिले पनि थप ढिला हुने देखिन्छ । उनले अझै पनि सडक निर्माण क्षेत्रमा खानेपानीका पाइपहरु र विद्युत पोल, ट्रान्सफर्मरहरु हटाउन बाँकी रहेकोले सर्भिस लेनको काम गर्न अप्ठ्यारो भइरहेको बताए ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले यही जेष्ठ १० गते उपमहानगरपालिकामा ठेकेदार, आयोजना प्रमुखलाई छिटो कालोपत्रे गर्न निर्देशन दिएकाले त्यही निर्देशन दिइएको उल्लेख गरिन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।