ताजा अपडेट »

भारतीय प्रधानमन्त्री आउने भएपछि लुम्बिनीमा विशेष तयारी

विहीबार, २९ बैशाख २०७९, २२ : ४१
18 Shares

रुपन्देही । बुद्धजयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि लुम्बिनीमा विशेष तयारी गरिएको छ । जेठ २ गते लुम्बिनीमा मनाइने २५ सय ६६ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा भारतीय प्रधानमन्त्री मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउन लागेका हुन् ।

मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो । एक हप्ताअघि मात्रै मोदी लुम्बिनी आउने तय भएपछि लुम्बिनी विकास कोषले दबाबमा काम गरिरहेको छ । परराष्ट्र मन्त्रालयले भने आज मात्रै विज्ञप्ति निकालेर मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको छ ।

बुद्ध जयन्तीको तयारीका लागि गठन गरिएका उपसमिति पनि सक्रिय भएर कार्यक्रमको तयारीमा लागेका छन् । विकास कोषका सबै कर्मचारी दिनरात खटेर काम गरिरहेका छन् । मायादेवी मन्दिरको सरसफाइ, रङरोगन गरी चिटिक्क बनाइएको छ । अन्य क्षेत्रमा सौन्दर्यकरणका कामहरु भइरहेको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी) ले बताए।

मन्दिर आसपासका पूरातात्विक संरचनालाई फूल र मालाले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरको भित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर चिटिक्क पारिएको छ । स्तम्भसम्म पुग्ने सडक पनि सफा गरेर सुन्दर बनाइएको छ । मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ ।

ठाउँ-ठाउँमा बुद्ध बचन, वाणी र पञ्चशिलका नयाँ तुल व्यानार टाँसिएको छ । आगन्तुकलाई स्वागतका लागि बाहिर नै गेट बनाइएको छ । अघिल्ला वर्षहरूभन्दा यसपटक लुम्बिनीलाई विशेष रुपमा सजाउने काम भइरहेको छ । कोरोना महामारिका कारण अघिल्लो बुद्ध जयन्ती मनाउन नपाएका कारण पनि यो वर्ष विशेष तयारी गरिएको विकास कोष सदस्य सचिव सानुराजा शाक्यले बताए। उनले बुद्ध जयन्तीको तयारी अन्तिम चरणमा पुगेको बताए ।

सचिव शाक्यका अनुसार लुम्बिनीमै बनेको अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको पनि बुद्ध जयन्तीका दिन उद्घाटन गर्ने कार्यक्रम छ ।

राष्ट्रिय गौरवको योजना अन्तर्गत निर्माण थालिएको अत्याधुनिक सुविधा सहितको सभाहल चार वर्षमा पूरा भएको छ । यो सभाहलको जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने र सभाहलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ ।

तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको सभाहल कोरोना महामारिका कारण एक वर्ष ढिलो सम्पन्न भएको हो । पाँच हजार सिट क्षमताको यो सभाहलको मुख्य पूर्वाधारको काम पहिलो चरणमा सम्पन्न भएको थियो भने दोस्रो चरणमा फिनिसिङ र सौन्दर्यीकरणको काम पूरा भएको हो । २०७५ साल वैशाख १७ गते २५६२ औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले यो सभाहलको शिलान्यास गरेकी थिइन्।

विकास कोषकाअनुसार छाता शैलीमा निर्माण भएको यो हलमा गर्मीमा चिसो र जाडोमा तातो बनाउन ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने ईपीएस प्यानल प्रयोग गरिएको छ । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईकाअनुसार सभाहलको कुल लागत झण्डै रु साढे ७४ करोड रहेको छ ।

ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले भित्रै पूरै सेतो रङ लगाइएको छ । हलको भित्रतिर माथि पहेलो रङको लोटस बनाइएको छ । भित्र उज्यालोका लागि छतमा ४ सय ७६ वटा बत्ती जडान गरिएको छ । लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल निर्माण शुरु गरेको थियो ।

सन् २०१६ को अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन मनाउनेक्रममा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित हुनुभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र भव्य सभाहल बनाउन निर्देशन दिएका थिए। सोही बमोजिम मुलुककै ठूलो सभाहल निर्माणको काम पूरा भएको छ ।

सभाहलकै नजिक रु ७५ लाखको लागतमा चारवटा हेलिप्याड निर्माणको काम समेत सम्पन्न भएको विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिनुभयो । “लुम्बिनी गुरुयोजना अनुासार कोषको बाटो पार्क सहित तीनवटा हेलिप्याड निर्माणका लागि ठेक्कमा दिएका थियौँ । तर, अहिले डिजाइनमा सामान्य परिवर्तन गरी चारवटा हेलिप्याड बनायौँ”, लुम्बिनी विकास कोषका योजना प्रमुख भट्टराईले भने ।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा लिने गर्छन् ।

यस पटक बुद्ध जयन्तीको अवसरमा बुद्धजन्मस्थल तथा देवदह र कपिलवस्तुको तिलौराकोटमा चार दिनसम्म विशेष कायर्कम गरिने लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा जेठ १ गते गौतम बुद्धको मावली देवदह तथा अस्तुधातु राखिएको स्थल नवलपरासीको रामग्राममा विशेष कार्यक्रम गरिने छ । जेठ दुई गते बुद्ध जयन्ती विशेष समारोह लुम्बिनीमा आयोजना हुने छ । जेष्ठ ३ र ४ गते कपिलवस्तुको तिलौराकोटमा कार्यक्रम छ ।

बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाउन विकास कोषले रु १ करोड बजेट व्यवस्थापन गरेको संयोजक भट्टराईले बताए । बौद्ध ग्रन्थका अनुसार इ.पू.६२३ को वैशाष पूर्णिमाको दिन कपिलवस्तुका राजा शुद्धोधनकी रानी मायादेवी आफनो माइती देवदह जाने क्रममा लुम्बिनी उद्यान आइपुगेपछि सिद्धार्थ गौतमको जन्म भएको थियो । –रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।