ताजा अपडेट »

गृहमन्त्रीबाटै चुनाव प्रभावित पार्ने गतिविधि, रातारात भैरहवाका व्यवसायीलाई बोलाएर 'ललिपप'

मंगलबार, २७ बैशाख २०७९, २२ : ४९
6 Shares

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले चुनाव प्रभावित पार्नेगरी भैरहवामा उद्योगी व्यवसायीलाई भेला हुन निर्देशन जारी गरेका छन् । निर्वाचन काँग्रेसको पक्षमा पार्नका लागि मँगलबार राती व्यवसायीलाई भैरहवामा भेला गराएका हुन् । फोटो र भिडियो खिच्न समेत नदिने गरि कडा सुरक्षाकाबीच उद्योगी व्यवसायीहरुलाई  भेलामा राखेर गृमन्त्रीले छलफल गरेको कुरा बाहिरिएको छ  ।

मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदै आफ्नो पद र शक्तिको दुरुपयोग गरि व्यवसायीहरुलाई एक्कासी भेला हुन लगाएको भन्दै केही व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघको सभा हलामा भैरहवा क्षेत्रका उद्योगी व्यवसायीलाई भेला गरी उनले निर्वाचन प्रभावित गर्नेगरी कार्यक्रम गरेकोप्रति अन्य राजनीतिक दलका शिर्ष नेताहरुले चर्को आलोचना गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले गृहमन्त्रीले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित बारम्बार काम गरिरहेको टिप्पणी गरे । पुर्वमन्त्री समेत रहेका भुसालले गृहमन्त्री खाँणको कडा टिप्पणी गदै भने, ‘लोकतान्त्रिक मूल्य मान्यता  विपरित र निर्वाचन आचार संहिताको ठाडो उल्लघंन हो । उहाँले जे गरिरहनु भएको छ, यसले लोकतन्त्र, उहाँको पार्टी नेपाली कांग्रेस र व्यक्तिगत रुपमा उहालाई समेत राम्रो हुदैन ।’ भुसालले आचारसंहिता विपरित कार्य नगर्न गृहमन्त्री खाँणलाई व्यक्तिगत रुपमा फोनमार्फत र सार्वजनिक रुपमा समेत सचेत गराएको बताए ।

राप्रपाका बरिष्ठ नेता दीपक बोहोराले गृहमन्त्रीले सत्ताको दुरुपयोग गरेको बताए । उनले भने, ‘गृहमन्त्रीले निर्वाचनको समयमा उद्योगी व्यवसायी भेला गरेर भाषण गर्नु गलत हो । निर्वाचन आयोगको तत्काल ध्यान जाओस् ।’ पुर्व मन्त्री समेत रहेका बोहोराले राज्यको गृहमन्त्रीले निर्वाचन स्वतन्त्र, भयरहित र शान्तिपुर्वक गराउन मुख्य भूमिका खेल्नुपर्नेमा निर्वाचन आचारसंहिता उल्घंन गर्दै मतादातालाई दबाब र प्रभाबमा पार्न खोज्नु अत्यन्तै खेदजनक रहेको बताए ।

जनता समाजबादी पार्टीका  लुम्बिनी प्रदेश बरिष्ठ नेता महेन्द्र यादवले गृहमन्त्रीले शक्तिको दुरुपयोग गरेको आरोप लगाए । उनले भने, ‘गृहमन्त्री नेपाली कांग्रेसको मात्रै होइन , समग्र देशको हो । तर उहाँ कांग्रेसको कार्यकर्ता जस्तै प्रचारमा लाग्नु भएको छ ।’

यादवले गृहमन्त्रीले रुपन्देहीमा गरिरहेको कार्यले निर्वाचनको स्वतन्त्रताप्रति शंका सृजना उब्जिरहेको बताए । उनले भने, ‘शक्तिको दुरुपयोग गर्दै गृहमन्त्रीले गरिरहेको कार्यको भत्र्सना गर्दछु । आज प्रचार प्रसारको अन्तिम दिन उद्योगी व्यवसायीलाइ कांग्रेसका उम्मेदवारलाई मत हाल्नेगरी भेला गर्नु राज्यकोलागि लज्जासपद हो ।’

भेलामा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कुल प्रसाद न्यौपाने लगायतले उद्योगी व्यवसायी सधैं एक भएर लाग्नु पर्ने बताए । भैरहवा क्षेत्रका डेढ सय भन्दा बढी उद्योगी व्यवसायीलाई बोलाईएको भेलामा चालिस पचास जना सहभागी भएका थिए ।

भेलामा सहभागी एकजना व्यवसायीले भने, ‘के गर्ने गृहमन्त्रीले सबैलाई बोलाउन भन्नु भएको छ भनेर संघबाट खबर आयो, नआउने हो प्रहरी प्रशासनको मुख्य मान्छे समस्या पार्लान भन्ने डर । आईयो के-के न होला भनेको त सधैं उहि कुरा हामी उद्योगी व्यवसायीलाई ललीपप मात्रै बाड्ने ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।