ताजा अपडेट »

‘कांग्रेसले अन्याय गरेपनि जनताले न्याय गर्नुहुने छ’

मंगलबार, २० बैशाख २०७९, १७ : ३८
2 Shares

सैनामैनाको परिचत नाम हो, राजबहादुर क्षेत्री । लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशिल रहेका क्षेत्री अहिले सैनामैना वडा नम्बर २ को अध्यक्षका लागि स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएका छन् ।

क्षेत्रीले २ कार्यकाल सैनामैना उद्योग वाणिज्य संघको नेतृत्व कुशलतापूर्वक सम्हाली सकेका व्यक्ति हुन् । ४३ वर्षदेखि आवद्ध भएको पार्टी विरुद्ध बागी उम्मेद्वारी दिनु पर्ने अवस्था किन आयो? लगाएतका विषयमा ग्लोबल आवाजका लागि बसन्त आचार्यले वडाध्यक्षका उम्मेद्वार राजबहादुर क्षेत्रीसँग गरेको कुराकानीः

तपाई लामो समयदेखि कांग्रेसमा क्रियाशिल हुनु हुन्थ्यो । तर, तपाई अहिले स्वतन्त्र रुपमा उम्मेद्वारी किन दिनुभयो?
–२०३६ सालदेखि नै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेको हुँ । २०३८ सालमा क्रियाशिल सदस्या पाएका थिएँ । साविक पर्राेहा गाविसमा ३८ जना क्रियाशिल सदस्य पाउने मध्येको एक म थिएँ । साविक पर्रोहाको गाउँ कमिटिको सचिवको जिम्मेवारी पूरा गरि सकेको छुँ । तरुण दलको २ कार्यकाल जिल्ला सचिव पनि भएँ । १३ औँ महाधिवेशनमा रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रिय कोषाध्यक्षमा निर्वाचित भएको थिए । १४ औँ महाधिवेशनमा क्षेत्रीय सहसचिवमा निर्वाचित भए ।

२०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षको आकाँक्षी रहेको थिए । म सैनामैना उद्योग वाणिज्य संघको अध्यक्ष भएका कारण साथीहरुले तपाई अहिले अध्यक्ष हुनुहुन्छ । अहिले तपाइँले अरु साथीहरुलाई छोड्दिनुस् अर्को निर्वाचनमा तपाइँलाई वडाको टिकट दिन्छौँ भन्नु भयो । मैले त्यही कुरालाई लिएर सहयोग गरेँ । तर, अहिलेको निर्वाचनको दौरानमा पनि वडा अध्यक्षको आकांक्षा राखे । म सहित ७ जना वडा अध्यक्षका आकांक्षीहरु थियौँ । म टिकट वितरण गर्ने क्षेत्रीय सहसचिव भइरहँदा पनि म माथि अन्याय र अत्याचार भयो । ७ जना आकांक्षी मध्ये ४ जना साथीहरुले राजबहादुर बाहेक अरु जसलाई दिए पनि मान्छौँ भन्नु भयो ।

राजबहादुरलाई टिकट दिएमा हामीलाई मान्य हुने छैन भनेर लिखित रुपमै मेरो आचरण माथि कांग्रेसमा लामो समयसम्म दिएको जिम्मेवारी पूरा गरेर यो अवस्थासम्म आउँदा जुन खालको मलाई वडाध्यक्षका आकांक्षीहरुले घात गर्नुभयो । उहाँहरुले लिखित रुपमा मेरो आचरण माथि धावा लेख्नु भयो । यसले गर्दा नै मलाई नेपाली कांग्रेसबाट वडाध्यक्षको टिकट प्राप्त नभएपछि बाध्य भएर स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको हुँ । १२ गते उहाँहरुले षडयन्त्र गरेर स्वतन्त्र रुपमा पनि उम्मेद्वारी दिने अवसर नदिन साढे ३ बजेसम्म बैठकमै राखेर भुलाउने र छलकपट गरेर मेरो एउटा इतिहास र जनताप्रति जुन त्याग थियो मेटाउने गरी मलाई अवसर नदिने देखेँ । त्यो देखेपछि तत्काल वडा नम्बर २ का खकनपुर, उछिटिया, सोरौली र मुर्दनीका साथीहरुलाई सोधे । उहाँहरुले तपाई उठ्नुस् भनेर भनेपछि मैले उम्मेद्वारी दर्ता गरेँ ।

तपाई माथि आफ्नै साथीहरुले त्यसरी आरोप तथा षड्यन्त्र गर्नुको कारण के पाउनु भयो ?
–उहाँहरुले मलाई के लाञ्छाना लगाउनु भएको छ भने राजबहादुर क्षेत्रीले लामो समयसम्म लाभको पद लिएर फाइदा लिएको र २०७४ सालको स्थानीय निर्वाचनमा सहयोग नगरेको भन्नेर लाञ्छाना लगाउनु भएको छ । मैले उहाँहरुलाई के भनेको छु भने मैले यदि लाभको पद छु भने १३ औँ महाधिवेशनमा पनि क्षेत्रिय कोषाध्यक्षमा निर्वाचित गरियो । यदि मैले पार्टीमा २०७४ सालमा सहयोग नगरेको भएदेखि मलाई किन वडाको क्षेत्रिय प्रतिनिधि हुँदै १४ औँ महाधिवेशनमा किन क्षेत्रिय सहसचिवमा पार्टीका साथीहरुले किन जिताउनु भयो ? यो पुष्टि मलाई हुनुपर्छ ।

तपाई स्वतन्त्र रुपमा वडा नम्बर २ को वडाध्यक्षमा उम्मेद्वारी दर्ता गराउनु भएको छ । तपाईको एजेण्डा तथा प्राथमिकताहरु के कस्ता छन्?
–अहिले राजनीतिक दलमा जुन ठेक्दार प्रथा, आर्थिक चलखेल गरेर टिकट खरिद बिक्री गर्दा सच्चा इमान्दार तथा कार्यकर्ताको न्याय भएको छैन, त्यसको यथार्थ जनताले मूल्यांकन गर्नेछन् । लामो समयसम्म जनताको कार्य गरेका मान्छेहरुलाई पक्कै पनि जनताहरुले न्याय दिनुहुने छ । म स्वतन्त्र रुपमा उम्मेद्वारी दिएपनि सधैं जनताको लागि अघि बढ्ने छु ।

तपाईका आफ्नो जितको आधार के कस्ता हुन सक्छन् ?
–अहिले हाम्रो भनाई र गराईमा धेरै कुराहरु फरक भएका छन् । विगतका जनप्रतिनिधिहरुले धेरै कुराहरुमा काम गर्न नसकेर असफल भएको अवस्था छ । म लामो समयसम्म वडा नम्बर २ मा जनताको घरदैलोमा गएर चाहे नागरिकताका समस्या होस् , चाहे मतदाता नामावली बनाउने क्रममा धेरै छुटेको अवस्थामा आँफै गएर काम गरेको थिएँ । त्यो मात्रै नभएर मैले वडा नम्बर २ मा कोरोनाको बेला पनि जनताहरुको साथमा थिएँ,सहयोग गरेको थिएँ । अर्को कुरा म एउटा लामो समयसम्म उद्योग वाणिज्य संघ वा उद्योगी व्यवसायी होस् म रहेको सं– संस्थामा मैले गरेका क्रियाकलापदेखि सबै वडावासीले बुझनु भएको छ । म यहाँको स्थानीय र सधैं स्थानीयबासीसँग रहँदै आएको छु र चुनावी नतीजा जे जस्ते भएपनि सँगै रहने छु । यीनै हुन् मेरा जितका आधार ।

जनताको घर दैलोमा त पक्कै जानु भएको होला । उहाँहरुबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
–मलाई उहाँहरुको सहानुभूति, शुभेच्छा र साथ छ । मत दिने आश्वासन छ । ‘अहिले तपाई माथि जुन किसिमको घात भयो,२०७४ सालमा पनि तपाइँलाई टिकट पाएको भए जित्नु हुन्थ्यो । अहिले पनि तपाइँमाथि घात भइसकेपछि हजुरलाई हामी भोट हालेर जिताउने छौँ । नेपाली कांग्रेस र एमालेका साथिहरुले तपाई जुन आँटका साथ अघि बढ्नु भएको छ । त्यो कुरा ठिक छ । तपाई माथि भएको अन्यायलाई पक्कै पनि सहयोग गर्ने छौं ।’ भनेर एकदमै हौसला बढाउनु भएको छ । घरदैलो कार्यक्रममा दैनिक रुपमा साथीहरुले मलाई सहयोग गरिरहनु पनि भएको छ ।

तपाइँले कांग्रेसका नगर प्रमुख/उम्मेद्वारलाई सहयोग गर्नु हुन्छ कि नाई ?
–मलाई यो कुरा जनताहरुले पनि सोध्नु भएको छ । म स्वतन्त्र भइसकेपछि जो व्यक्ति राम्रो छ,त्यसैको पछाडि लाग्ने हो । म अहिले नै यो पार्टी, ऊ पार्टी भनेर उल्लेख गर्न चाहान्न।

चुनाव नजिकै छ, वडाबासीलाई के भन्नुहुन्छ ?
–तपाइँहरुले मलाई चिन्नु भएको छ । मैले व्यक्तिगत तथा संघसंस्थाको तर्फबाट स्थानीय तथा समाजमा खेल्दै आएको भूमिका बारे अवगत हुनुहुन्छ । मलाई पदको र आर्थिक लाभका लागि वडाध्यक्ष उठ्नुपर्ने व्यत्ति,गत आवश्यकता र ठूलो कुरा होइन । पूर्ण जिम्मेवारी र समय दिएर आफ्नो वडामा सेवा गरौं भन्ने भावले हो ।

यहाँका साना–साना समस्या समाधान गर्दै तल्लो स्तरका परिवारको जीवन उकास्दै वडालाई शान्त, समृद्ध, सुखी र सफल बनाउने भूमिका निर्वाह गर्ने लक्ष्य र योजनाका साथ वर्षौंदेखि योग्दान गरेको पुरानो, अझै भनौं सत्तारुढ पार्टी भन्दा बाहिर गएर चूनौतीका साथ उम्मेद्वारी दिएको छु । मेरो उम्मेद्वारीमै त्याग छ । त्यसैले पनि वडाबासीले मनन तथा मूल्यांकन गरी मलाई वडाध्यक्षका रुपमा सेवा गर्ने अवसर दिनु हुन आग्रह गर्दछु ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।