ताजा अपडेट »

गठबन्धन कांग्रेसलाई ‘गलपासो’ : चरम असन्तुष्टि, एकपछि अर्को नेताको राजीनामा

शनिबार, १० बैशाख २०७९, १० : १०
4 Shares

बुटवल । आसन्न स्थानीय तहको निर्वाचनमा पद बाँडफाँडको विषयमा विवाद उत्पन्न भएपछि नेपाली काँग्रेसमा राजीनामाको लहर चलेको छ । गठबन्धनमा रहेका दलहरुलाई मिलाउँदा तथा काँग्रेस भित्रै उमेद्वारीका विषयलाई लिएर चरम असन्तुष्टि बाहिर आएको हो ।

देशभरका विभिन्न महानगर तथा उपमहानगरमा गठबन्धन दलहरुबीच पद बाँडफाँड गर्ने क्रममा आफ्नो दलको तर्फबाट उमेद्वारी पाउनु पर्ने भन्दै काँग्रेसभित्र आन्तरिक द्वन्द सुरु भएको छ । सार्वजनिक रुपमै निर्णयको विरोध गर्दै नेताहरुले पार्टी परित्यागको घोषणा गरेका छन् भने कतिपय ठाउँमा सार्वजनिक रुपमा खुलेर बिरोधमा नउत्रिएपनि असन्तुष्टिहरु बढीरहेको देखिन्छ । पछिल्लो केही दिनको गतिविधिले गठबन्धन नेपाली काँग्रेसका लागि नफाप्ने देखिन्छ । सत्तारुढ दल काँग्रेसँग नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत सामाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।

यसैबीच लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको बुटवल उपमहानगरमा समेत काँग्रेस आन्तरिक विवादमा फसेको छ । उपमहानगरको मेयर पद काँग्रेसले नै राख्नेगरी उपप्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भए पनि बुटवल विवादबाट अछुतो रहन सकेन । काँग्रेसले मेयर पदका लागि सिफारिस गरेका खेलराज पाण्डेसँगै उक्त पदका आकांक्षी हरि लम्सालले पार्टीमा नरहनेगरी राजीनामा दिएका छन् । उमेद्वार सिफारिसको विषयमा असन्तुष्टि जनाउँदे लम्सालले राजिनामा दिएका हुन् । काँग्रेसको १४ औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नम्बर २ को सभापति निर्वाचित भएका लम्सालले आफूलाई मेयर पदको दौडबाट रिङआउट गरेकोप्रति असन्तुष्टि जनाउँदे पार्टी परित्याग गरेपछि त्यसको प्रत्यक्ष असर काँग्रेससँगै गठबन्धन दलहरुलाई समेत पर्ने देखिन्छ ।

रुपन्देहीकै सिद्धानगर नगरपालिकामा टिकट नपाएको भन्दै काँग्रेसका पूर्व क्षत्रीय सभापति मात्रीका प्रसाद यादवले यसअघि नै पार्टी परित्याग गरेका छन् । भैरहवा क्षेत्रमा प्रभावशाली मानिएका यादवले पार्टी परित्याग गर्दा काँग्रेसलाई ठूलो असर पर्न सक्ने नेताहरुले बताउने गरेका छन् । काँग्रेस छाडेका उनले गठबन्धन दलकै जनता समाजवादी पार्टीमा शुक्रबार प्रवेश गरेका छन् ।

यसैगरी मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरापलिकामा काँग्रेसले अर्को क्षति व्यहोर्नु परेको छ । गठबन्धन दलहरु बीच भएको सहमति अनुसार जनकपुरको मेयर पद जनता समाजवादी पार्टीलाई दिनु पर्ने भएपछि त्यहाँका सभापतिसहितको समूहले काँग्रेस परित्यागको घोषणा गरेका छन् । जनकपुरका काँग्रेस सभापति मनोजकुमार साहले शुक्रबार पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।
साहले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिने जनाएका छन् । उनीसँगै सबै वडाका काँग्रेस सभापतिहरुले पार्टी परित्यागको घोषणा गरेका छन् । प्रदेश राजधानी रहेकै उपमहानगरमा पार्टी भित्र देखिएको असन्तुष्टिले आसन्न स्थानीय तहको निर्वाचन मात्र नभई आउने प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनलाई समेत प्रभाव पार्न सक्ने नेताहरुको आकलन छ ।

कर्णालीको प्रदेशको धनगढी उपमहानगरपालिकामा समेत काँग्रेस नेताहरुले विद्रोह गरेका छन् । उपमहानगरको वडा नम्बर १८ मा आफूहरुले अध्यक्ष पाउनु पर्ने मागसहित पार्टीबाट सामूहिक राजिनामा दिएका छन् । वडा सभापति भक्तभहादुर थापासहित ९१ जनाले सामूहिक राजिनामा दिएका हुन् । गठबन्धन दलहरु बीचको सहमति अनुसार उक्त वडामा माओवादी केन्द्रले अध्यक्ष पद पाउनेभएपछि उनीहरुको सामुहिक राजिनामा आएको छ । यस घटनाले गठबन्धन दलहरु बीच भएको सहमति कार्यान्वयनमा काँग्रेस भित्रैबाट समस्या देखिएको कुरालाई प्रस्ट्याएको छ ।

गठबन्धन दलहरुबीच बुधबार दिउँसो भएको सम्झौतालाई हेटौंडाका स्थानीय काँग्रेस नेता कार्यकताले अस्वीकार गरेका छन् । हेटौंडा उपमहानगरमा प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिने केन्द्रको निर्णयलाई नमान्ने स्थानीय नेता कार्यकर्ताले बताएका छन् ।पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे एकल उम्मेदवार खडा गरेर निर्वाचनमा होमिने चेतावनी दिएको हो ।

सत्ता गठबन्धनमा रहेको दल नेपाली काँग्रेसलाई पार्टी भित्रमात्र होइन बाहिर समेत सबैको चित्त बुझाउन समस्या परेको छ । गबन्धनमा रहेका दलहरुले कही गठबन्धन नगरी एकल रुपमा जाने निर्णय गरेका छन् भने कही सरकार नै ढाल्ने पतिक्रिया जनाउँदै आएका छन् । यसैबीच गण्डकी प्रदेश सरकारका उर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले सरकार नै ढाल्ने चेतावनी दिएका छन् । जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्य हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिएका हुन् ।मन्त्री आचार्यले गोरखामा जसपाको आधार, जनसंगठन र जनमतको आधारमा भागवण्डा नगरे अन्तिम विकल्पको रुपमा जसपाले प्रदेश सरकार पनि ढाल्न सक्ने चेतावनी दिएका हुन् ।

यता लुम्बिनी प्रदेशको बाँकेमा अवस्थित नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पद नपाएपछि जनता समाजवादी (जसपा) ले गठबन्धन् अस्वीकार गर्ने भएको छ । भागवण्डामा नेपालगञ्ज कांग्रेसलाई परेपछि त्यहाँको मुख्य दाबेदार जसपाले नस्वीकार्ने जनाएको हो ।

गठबन्धनको अन्तिम बैठकसम्म नेपालगन्ज पाउनुपर्ने दाबी गरिरहेको जसपाका केन्द्रीय नेताले उपमेयरमा सीमित राखेर मेयरमा कांग्रेसलाई सहमति जनाएपछि स्थानीय नेताहरु आक्रोशित बनेका छन् । बाँके जिल्ला कमिटीले निर्णय हुनुअगावै गठबन्धनसँग जान नसकिने निर्णयलाई निरन्तरता दिने जनाएको छ ।जसपाका केन्द्रीय नेता मोहम्मद इस्तियाक राईले जनभावनाविपरीत केन्द्रमा बसेर गरिने निर्णय कार्यान्यवनमा समस्या आउने बताए ।

लुम्बिनी प्रदेशकै रुपन्देहीमा समेत जसपाले एकल प्रतिस्पर्धामा जाने निर्णय गरेको छ । जिल्लाका केही पालिकाहरुमा एक्लै चुनावमा तथा गठबन्धन बाहिरका दलहरुसँग पनि मिलेर जान सकिने निर्णय गरेको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाले बहुमत प्राप्त गरेका स्थानहरुमा समेत काँग्रेसले दाबी गरेपछि ती स्थानहरुमा एक्लै चुनावमा जाने निर्णय गरेको जसपाले जनाएको छ । यसैगरी केही स्थानहरुमा आवश्यकता अनुसार गठबन्धन बाहिरका दलहरुसँग पनि मिलेर जान सकिने उल्लेख गरेको छ ।

काँग्रेसभित्र गठबन्धन नगरी एक्लै चुनावमा जाने आवाज उठिरहेका बेला केन्द्रीय स्तरमै सहमति गरी गठबन्धनमा जाने निर्णयले स्थानीय स्तरका नेता कार्यकर्ताहरु रुष्ट देखिन्छन् । पार्टी भित्रैको असन्तुष्टिहरुलाई मिलाउनु पर्ने झमेलाकाबीच गठबन्धन दलहरुलाई समेत मिलाउन पर्दा काँग्रेसलाई यो चुनावमा महा झमेला नै भएको देखिन्छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।