ताजा अपडेट »

रुपन्देहीमा सत्ता गठबन्धनका दल आ-आफ्नै अडानमाः कुन पालिकामा कसको दाबी ?

मंगलबार, ०६ बैशाख २०७९, १६ : ४७
10 Shares

बुटवल । सत्ता गठबन्धनले रुपन्देहीका ६ वटा स्थानीय तहमा तालमेल नगर्ने सहमति गरेका छन् । जिल्लाको दक्षिणी भेगको लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिकामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनमा आवद्ध दलहरूबीच सहमति भएको हो ।

ती पालिकामा नेकपा एमाले कमजोर रहेकाले गठबन्धनमा आवद्ध दलले नै जित्ने भन्दै गठबन्धनकाबीच नै स्वच्छ प्रतिष्पर्धा गर्ने उनीहरुको भनाई छ। जिल्लाका यी पालिकामा नेकपा एमाले कमजोर रहेकाले गठबन्धन नगर्ने सहमति भएको जनता समाजवादी पार्टीका जिल्ला सह–इन्चार्ज किस्मत बि.क.ले बताए ।

बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका, कञ्चन गाउँपालिका, शुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका र रोहिणी गाउँपालिकामा गठबन्धन गर्ने सत्ता गठबन्धनको तयारी रहेको छ ।

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकृकीत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा ती १० पालिका र सबै वडामा गठबन्धन गर्ने विषयमा सहमत छन् । तर, आफ्नो दाबीबाट कुनै दल टसमस नहुँदा सहमति हुन सकेको छैन् ।

गठबन्धनले तालमेल नगर्ने सहमति गरेका पालिकामा गत स्थानीय तहको निर्वाचनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वार मनमोहन चौधरीले जितेका थिए । अहिले उनी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका र गैडहवा गाउँपालिका तत्कालिन संघीय समाजवादी फोरमले जितेको थियो ।

यस्तै सम्मरीमाई गाउँपालिका तत्कालिन मेधशी जनाधिकार फोरम र मायादेवी गाउँपालिका कांग्रेसले जितेको थियो । गत निर्वाचन पछि मधेशी जनाधिकार फोरम कांग्रेसमा विलय भएको थियो भन्ने संघीय समाजवादी फोरम विभिन्न दलहरुसँग एकता गर्दै अहिले जनता समाजवादीको रुपमा सक्रिय छ ।

सत्ता गठबन्धनले तालमेल गर्न सहमत १० पालिका मध्ये गत निर्वाचनमा नेकपा एमालेले ७ वटा स्थानीय तह जितेको थियो । सत्ता गठबन्धन तालमेल गर्न सहमत देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिका बाहेक अन्य पालिका एमालेले जितेको थियो । देवदह नगरपालिका नेपाली कांग्रेस, ओमसतिया माओवादी केन्द्र र रोहिणी गाउँपालिका संघीय समाजवादी फोरमले जितेको थियो ।

कुन पालिकामा कुन दलको दाबी?
सत्ता गठबन्धनको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले १० वटै पालिकाको प्रमुखमा दाबी गर्दै आएको छ । सकेसम्म गठबन्धनमा आवद्ध अरु दललाई उपप्रमुख र उपाध्यक्षमा मनाउने कसरतमा कांग्रेस छ ।

नेपाली कांग्रेसका जिल्ला सचिव हरि काफ्लेले पालिका प्रमुख आफूहरुले लिएर सबै पालिकाको उपप्रमुख/उपाध्यक्ष गठबन्धनमा आवद्ध दलहरुलाई दिन सकिने बताउँछन् । साथै पालिकामा दलहरुको जनमतको आधारलाई हेरेर वडाध्यक्षको सिट बाँडफाँड गर्नु पर्ने सचिव काफ्लेले बताए । अबको केही दिन भित्रै पालिका प्रमुख/उपप्रमुखको वाँडफाँड सक्ने र त्यसपछि वडाको वाँडफाँड गरिने बताए ।

गठबन्धनको द्रोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकाको प्रमुख पद र बाँकी ७ वटा पालिकाको उपप्रमुख/उपाध्यक्ष पाउनु पर्ने दाबी गरेको छ। नेकपा माओवादीका रुपन्देही संयोजक निर्मल जिसीले माओवादीको जनमतलाई ख्याल गरेर नै आफूहरुले ३ पालिकाको प्रमुख र अन्यमा उपप्रमुख/उपाध्यक्ष पाउनु पर्ने बताउँछन् । साथै माओवादीले गठबन्धन हुने पालिका मध्येबाट ५०/६० वडाध्यक्ष पाउनु पर्ने बताए।

जनता समाजवादी पार्टीले ३ वटा पालिकाको प्रमुखमा दाबी गरेको छ । जसपाले ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका र शुद्धोधन गाउँपालिकाको प्रमुख र सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकाको उपप्रमुख/उपाध्यक्ष पदमा दाबी गरेको छ । साथै जसपाले गठबन्धन गर्ने सहमति भएका जिल्लाका १० पालिकाका २८ वडाध्यक्ष आफूहरुले पाउनु पर्ने जिल्ला सह–इन्चार्ज किस्मत बि.क.बताउँँछन् ।

यता नेकपा एकीकृत समाजवादीले बुटवल उपमहानगरपालिका सहित ३ पालिकाको प्रमुखमा दाबी गरेको छ भने ३ पालिकाको उपप्रमुख/उपाध्यक्ष पद दाबी गरेको छ । एकीकृत समाजवादीले बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र कञ्चन गाउँपालिकाको प्रमुखमा दाबी गरेको छ । यस्तै उसले सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र सियारी गाउँपालिकाको उपप्रमुख पदमा दाबी गरेको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राजु गुरुङले गठबन्धन हुने १० पालिकामा आफूहरुले ३ देखि ५ वटा वडाध्यक्ष पाउनु पर्ने बताउँछन् ।

राष्ट्रिय जनमोर्चाले भने जिल्लाका कुनै पनि पालिकामा आफ्नो दाबी नरहेको जनाएको छ । जनमोर्चाले २ वटा वडाध्यक्ष र ४/५ वटा सदस्यमा मात्रै दाबी रहेको अध्यक्ष बद्रे आलमले बताए । साथै अध्यक्ष आलमले गठबन्धनमा आवद्ध दलहरुलाई इमान्दारितापूर्वक प्रस्तुत हुन आग्रह गरेका छन्।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।