ताजा अपडेट »

लुम्बिनीका सबै उपमहानगरमा एकलौटी गर्ने काँग्रेसको प्रयास, गठबन्धनमा खटपटको संकेत

मंगलबार, ०६ बैशाख २०७९, १७ : ४६
4 Shares

बुटवल । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दल बीच खटपटको संकेत देखिएको छ । गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसले लुम्बिनीका ४ वटै उपमहानगरसहित अधिकांश पालिकाहरुमा आफ्नो बर्चश्व जमाउन खोजेपछि खटपटको संकेत देखिएको हो ।

गठबन्धनमा रहेका अन्य ४ दल मध्ये कुनै पनि दललाई प्रदेशका उपमहानगरहरुको प्रमुख पदमा निषेध गर्ने काँग्रेसको रणनीतिले अन्य दलहरु बिच्किएका छन् । यसैगरी नगरापलिका तथा गाउँपालिकाहरुमा समेत काँग्रेसले बढी भाग खोज्न थालेपछि गठबन्धनकै दलले गठबन्धन बाहिरका अन्य दलहरुसँग मिलेर वा एक्लै पनि चुनावमा जाने गरी निर्णय भएको छ ।

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल उपमहानगरमा काँग्रेसले आफ्नो पार्टीकोतर्फबाट प्रमुख र उपप्रमुखको नाम सिफारिस गरेको छ । काँग्रेसको उक्त निर्णयसँगै उपमहानगरको प्रमुख पद आफूहरुले पाउनु पर्ने माग राख्दै आएको एकीकृत समाजवादीलाई ढोका बन्द जस्तै भएको छ । गठबन्धन दलभित्र सहमती नै नगरी काँग्रेसले एकपक्षीय रुपमा आफ्ना पार्टीका नाम सिफारिस गर्दा एकलौटी गर्न खोजेको आरोप अन्य दलका नेताहरुले लगाउने गरेका छन् । काँग्रेसले गठबन्धनको नाममा फाइदाजती आफूले मात्रै लिन खोजेको गठबन्धन दलका एक नेताले गुनासो गरे । यद्यपी काँग्रेस भित्रै अर्को पक्षले नाम सिफारिसको विषयमा असन्तुष्टि जनाएका छन् । प्रमुखको दाबी गर्दै आएका उनीहरुले पार्टी भित्र छलफल नै नगरी एकलौर्टी नाम सिफारिस गरेको भन्दै अन्तरसंघर्षमा रहेका छन् ।

यसैगरी दाङको घोराही उपमहानगरपालिकामा पनि आफूहरुले नै प्रमुख पदको उमेद्वार बन्न पाउनु पर्ने स्थानीय तहका काँग्रेस नेताहरुले अडान राख्दै आएका छन् । नेपाली कांग्रेस घोराही नगर समितिले मँगलबार पत्रकार सम्मेलन गरी काँग्रेसलाई प्रमुख पद नदिए परिणाम राम्रो नआउने चेनावनी दिएको छ । गठबन्धनमा भागबन्डा गर्दा घोराही उपमहानगरपालिकाको मेयरमा माओवादीका उम्मेदवारले टिकट पाउने सम्भावना बढेपछि मुख्य प्रतिष्पर्धी कांग्रेस भएको दाबी गर्दै प्रमुख पद पाउनु पर्ने अडान राखेको हो । कांग्रेस घोराही उपमहानगरपालिका नगर सभापति तिलक रावत गठबन्धनका नाममा दुई नम्बर क्षेत्रका स्थानीय तहहरुमा कांग्रेसलाई सून्य बनाउन नसकिने भन्दै नेतृत्वलाई उचित निर्णय लिन आग्रह गरे । नेपाली कांग्रेस लुम्विनी प्रदेश सदस्य जानका केसी, कांग्रेस जिल्ला सदस्यहरु बद्री खड्का, खेमराज विश्वकर्मा, क्षेत्र नम्बर २ का सहसचिव रमेश पाण्डेय लगायतका नेताहरु कुनै पनिहालतमा घोराईको प्रमुख पद माओवादी केन्द्रलाई बुझाउने पक्षमा छैनन् ।

लुम्बिनीका ४ उपमहानगर मध्ये घोराहीमा आफूले प्रमुख पद पाउनु पर्ने माग राख्दै आएको माओवादी केन्द्रलाई स्थानीय नेताहरुकै जोडबल प्रयोग गरी काँग्रेसले रोक्ने प्रयास गरेको देखिन्छ । बाँकी रहेका तुलसीपुर उपमहानगरपालिकामा पनि काँग्रेसले नै प्रमुख पदको दाबी गरेको छ भने नेपाल गञ्ज उपमहानगरपालिकामा पनि प्रमुख पद पाउनु पर्ने दाबी गर्दै आएको जनता समाजवादी पार्टी जसपालाई रोक्ने प्रयासमा काँग्रेस रहेको देखिन्छ ।

सुरुदेखि नै गठबन्धनको विपक्षमा रहेका काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले स्थानीय तहहरुमा पार्टीका नेताहरुले गठबन्धन विरुद्ध गरेका गतिविधिहरुलाई मौन समर्थन गरेको देखिन्छ । गठबन्धनको विपक्षमा रहे पनि सभापति पुन अन्त्यमा पार्टीको केन्द्रीय तहको निर्णयसँगै पक्षमा उभिएका व्यक्ति हुन् । गबन्धन गर्दा नेपाली काँग्रेसले धेरै गुमाउनु पर्ने तर्क गर्दै आएका उनी केन्द्रीय तहको निर्णय र निर्देशनसँगै साइजमा आएका थिए ।

व्यक्तिगत रुपमा भने उनी अझै पनि गठबन्धनको पक्षमा नरहेको बताउँछन् । नीतिगत रुपमा पार्टीले निर्णय गरेपछि भने त्यसको बिरोध गर्दै आफू नहिँडेको उनले बताउँछन् । गठबन्धन गर्दा व्यवस्थित गरिकाले गर्नुपर्ने तर्क गर्दै उनले भनेका छन् ‘गठबन्धनका नाममा गलफासो नगरौं भन्ने हो, त्यस विषयमा मैले आफ्नो फरक मत राखीसके ।’ उनले अघि भने, ‘पार्टीले गठबन्धन गर्ने निर्णय गरेपछि मैले त्यसको विरोध गर्दै हिँडेको पनि छैन, हिँड्न पनि मिल्दैन, मिल्दो जुल्दो तरिकाले गठबन्धन गरौं भन्ने हो ।’

गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केही पालिकाहरुमा एक्लै चुनावमा जाने तथा केही पालीकाहरुमा गठबन्धनभन्दा बाहिरका दलहरुसँग मिलेर जानेगरी निर्णय गरेको छ । उक्त निर्णयले पनि लुम्बिनीमा गठबन्धनको चुनावी तालमेल कमजोर हुन लागेको संकेत गर्दछ । भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाले बहुमत प्राप्त गरेका स्थानहरुमा समेत नेपाली काँग्रेसले दाबी गरेपछि ती स्थानहरुमा एक्लै चुनावमा जाने निर्णय सो पार्टीले जनाएको छ ।

मँगलबार बसेको जसपमा जिल्ला समन्वय समिति रुपन्देहीले आवश्यकता अनुसार गठबन्धन बाहिरका दलसँग पनि सहकार्य हुनसक्ने निष्कर्ष निकालेको हो । स्थानीय तहका नेता कार्यकर्ताको चाहना र आवश्यकताअनुसार निर्वाचनमा पाँचदलीय गठबन्धन बाहिरका दलसँग पनि सहकार्य गरेर अगाडि बढ्न सकिने जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादवले बताए । काँग्रेस एक्लैले हालीमुहाली गर्न खोजे गठबन्धन नै संकटमा पर्न सक्ने गठबन्धन दल भित्रका एक नेताले बताए । यद्यपी गठबन्धन दलहरु बीच केन्द्रीय सहमतिमा भने मिलेर उमेद्वारको टङ्गो लगाउने सहमति भएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।