ताजा अपडेट »

विश्व सम्पदा दिवस: सम्पदा बचाऔं, संस्कृति जोगाऔं

सोमबार, ०५ बैशाख २०७९, १३ : २४
131 Shares

सम्पदा कुनैपनि जाति,समाज,क्षेत्र वा मुलुकका पहिचान हुन् । अमूल्य, अतुल्य विगतको पहिचान दिने स्रोत हुन् । मानव सभ्यता र इतिहासका साक्षी हुन् । तसर्थ जुनसुकै स्थान र प्रकारका विभिन्न किसिमका सम्पदा पुरानो पुस्ताका पहिचान र नयाँ पुस्तालाई शिक्षाका स्रोत हुन् । तसर्थ विश्व सम्पदाको संरक्षण तथा प्रवद्र्धनका लागि नयाँ पुस्तालाई जानकार,सक्रिय र जिम्मेवार बनाउन हरेक बर्ष विश्वभर विश्व सम्पदा दिवस मनाइन्छ । र, नोपलमा पनि हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

प्रत्येक वर्ष अप्रिल १८ पर्ने यस दिवसमा विश्व सम्पदा सम्बन्धी विविध कार्यक्रमहरु गरिन्छ । विश्वभर रहेका प्राचिन सम्पदाको पहिचान गरी त्यसलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक संगठन (यूनेस्को) नामक राष्ट्रसंघीय निकायले विश्व सम्पदाको सूचिमा राख्ने गर्दछ । यूनेस्कोले कुनै पनि सम्पदालाई सूचिकृत गर्न १० मापदण्डहरु तयार पारेको छ । जसमध्ये सूचिकृत हुन न्यूनतम एउटा मापदण्ड पूरा हुनु पर्दछ । नेपालका सांस्कृतिक र प्राकृतिक सम्पदाहरु विश्व सम्पदामा सूचीकृत गरिएका छन् । ती सम्पदाहरु सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज,काठमाडौं उपत्यका लगाएत हुन् ।

नेपालमा विभिन्न किसिमका स्थानीय,क्षेत्रिय,राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचानका सम्पदा छन् । प्राकृतिक,धार्मिक,ऐतिहासिक र सांस्कृतिक सम्पदाले धनि देश हो नेपाल । अपार सम्पदा र संस्कृतिनै नेपाललाई विश्वमा सामु पहिचान गराउने प्रमुख आधार हुन् । ऐतिहासिक इनारदेखि धार्मिक मठमन्दिर, बहादुरी र गर्वका युद्ध स्थल लगाएत विश्वकै अग्लो प्राकृतिक सम्पदा सगरमाथा र शान्तिको मुहान लुम्बिनीसम्मका सम्पदाको धनि राष्ट्र हो नेपाल ।

परापूर्वकालदेखि अस्तित्वमा रहेका ती सम्पदा इतिहासका पाना हुन् । तत्कालिन समयका अभिलेख हुन् । पुस्ताका सम्झना हुन् । समग्र स्थान र देशकै ऐना हुन् । तर, बढ्दो आधुनिकीकरण र विकासका नाममा ती अतुल्य सम्पदाहरु मध्ये केहि मासिएका छन्, केहि मासिँदै छन् केहि धराशायी बनेका छन् । वि.सं.२०७२ सालमा भूकम्पका कारण क्षति भएका सम्पदाहरुको निर्माण पूरा भएको छैन । बस्ती विकासको क्रममा , सडक विस्तारको क्रममा, प्लटिङ र पर्यटनको नाममा , औद्योगीकरणको कारण धेरै सम्पदाहरु प्रभावित भएका छन् । ती सम्पदा प्रदूषित भएका छन् । ओझेलमा परेका छन् । त्यस्ता सम्पदाका स्वरुप परिवर्तन भएको छ ।

सगरमाथा,चितवन राष्ट्रिय निकुञ्ज,लुम्बिनी क्षेत्र, काठमाण्डौं पाटन क्षेत्र जस्ता दर्जन बढी अन्तराष्ट्रिय सम्पदामा सूचिमा परेका नेपालका महत्वपूर्ण सम्पदाहरु समेत वातावरण र मानव गतिविधिका कारण प्रदूषित बन्नुका साथै ह्रासको धरापमा छन् । स्थानीय,क्षेत्रिय मात्रै नभई समग्र राष्ट्र र विश्वका सम्पत्तिका रुपमा मानिने यस्ता वृहत र महत्वपूर्ण सम्पदा धरापमा पर्नु विडम्वना हो । इतिहास, पुराना पुस्ता र राष्ट्रको अपमान हो । यस्ता सम्पदाको संरक्षणसँगै प्रवद्र्धनमा सरोकारवाला गम्भीर बन्न आवश्यक छ ।

त्यस्ता सम्पदा बचाउन सम्पादा क्षेत्र सूचिकृत गरेर र वर्षमा एकदिन दिवस मनाएर मात्रै कदापि हुँदैन । सूचिकृत सम्पदा र निर्धारित क्षेत्रको संरक्षणमा जोड दिन आवश्यक छ । सम्पदा क्षेत्रमा बस्ती विस्तार,औद्योगीकरण र वातावरणीय प्रदूषण रोक्न पर्दछ । स्थानीय, साना सम्पदादेखि अन्तराष्ट्रिय ठूला सम्पदा सबै सम्पदा संरक्षण र प्रवद्र्धनमा व्यवहारिक रुपले कार्यान्वयन गर्न आवश्यक छ ।

धार्मिक,ऐतिहासिक,प्राकृतिक, सांस्कृतिक सबै किसिमका सम्पदाको संरक्षण र प्रवद्र्धन गरी पर्यटनको विकास गर्नुपर्दछ । पुराना पुस्ताका ती अतुल्य सम्झना र सम्पत्तिलाई नयाँ पुस्ताले जोगाउँदै , बुझ्दै प्रवद्र्धन् गर्दै लाभ लिनुका साथै अर्को पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्नु पर्दछ । यसका लागि स्थानीय बासिन्दा, सबै तहका सरकार,सम्पदा सम्बन्धी संगठन,सरोकारवाला लगाएत सबैले आ–आफ्नो स्थानबाट प्रभावकारी भूमिका निर्वाह गर्नु पर्दछ ।

संस्कृति र परम्परा झल्काउने वन,मठमन्दिर,गुफा, चौतारी, पहाड,ताल–तलैया,स्मारक, भवन,शहर आदि सम्पदा हुन् । ती अतूल्य सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नु नयाँ पुस्ताको दायित्व हो । नयाँ पिँढीलाई इतिहासको अवलोकन र जानकारीका लागि सम्पदा संरक्षण अनिवार्य छ । तसर्थ सम्पदा बचाऔं,संस्कृति जोगाऔं । ‘ओल्ड इज गोल्ड’ भन्ने अंग्रेजी भनाई रहेको छ । सम्पदा आँफैमा सुनभन्दा महङ्गा सम्पत्ति हुन् । तीनको सुरक्षा जति भयो मुलुक त्यति धनि बन्दै जानेछ । नयाँ पुस्ता त्यतिनै संस्कारी,जिम्मेवार र उत्तरदायी बन्नेछ । विश्व सम्पदा दिवसको अवसरमा शुभकामना ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।