ताजा अपडेट »

जुवातास खेलिरहेको अवस्थामा साढे १२ हजारभन्दा बढी पक्राउ !

आइतबार, ०४ बैशाख २०७९, १७ : ४७
2 Shares

काठमाडौंं । प्रहरीले पछिल्लो साढे तीन वर्षको अवधिमा नेपालको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा साढे १२ हजारभन्दा बढी जनालाई पक्राउ गरेको छ । 

आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ को फागुनसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीले न्युज कारखानालाई बताएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म) को अवधिमा २ हजार ७ सय जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

यस आर्थिक वर्ष पक्राउ पर्नेमा २ हजार ५८२ जना पुरुष र ११८ जना महिला रहेका छन् । सोही अवधिमा ६१ जना विरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।चालु आर्थिक वर्षको पहिलो आठ महिनामा जुवातास खेल्नेहरुबाट प्रहरीले ५ करोड ४८ लाख ४४ हजार २७५ रुपैयाँ नगद बरामद गरेको छ । प्रहरीले सबैभन्दा बढी नगद बरामद काठमाडौं उपत्यकाबाट गरेको छ । यसवर्ष उपत्यकाबाट मात्रै २ करोड ५७ लाख ७८ हजार ५४२ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ । 

प्रहरीको तथ्याङ्क अनुसार प्रदेश १ बाट २६ लाख ९४ हजार ४८४ रुपैयाँ, मधेस प्रदेशबाट १५ लाख ११ हजार ८५९ रुपैयाँ, बागमती प्रदेशबाट ४० लाख ६८ हजार ६५० रुपैयाँ (काठमाडौं उपत्यका बाहेक), गण्डकी प्रदेशबाट १ करोड १३ लाख २ हजार ९५१ रुपैयाँ, लुम्बिनी प्रदेशबाट ४६ लाख ४५ हजार ७ सय रुपैयाँ, कर्णाली प्रदेशबाट १३ लाख २० हजार ४९९ रुपैयाँ र सदुरपश्चिम प्रदेशबाट ३५ लाख १७ हजार ५९० रुपैयाँ नगद बरामद गरिएको छ । 

प्रहरीका अनुसार पछिल्लो साढे तीन वर्षमा अर्थात आर्थिक वर्ष २०७५/७६ मा २ हजार ८६९, २०७६/७७ मा ३ हजार ५८४, २०७७/७८ मा ३ हजार ४५६ र २०७८/७९ को फागुनसम्मको अवधिमा २ हजार ७ सय गरी कूल १२ हजार ६०९ जना व्यक्ति जुवातास खेलीरहेको अवस्थामा पक्राउ परेका छन् । यस्तै, सोही अवधिमा पक्राउ परेकाहरुबाट १२ करोड ८४ लाख ७२ हजार ५५६ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ । 

आर्थिक वर्ष २०७५/७६ मा १ करोड ३२ लाख ८२ हजार ३८४ रुपैयाँ, २०७६/७७ मा ४ करोड ३५ लाख ७८ हजार ४३७ रुपैयाँ, २०७७/७८ मा १ करोड ६७ लाख ६७ हजार ४६० रुपैयाँ र २०७८/७९ को फागुनसम्म ५ करोड ४८ लाख ४४ हजार २७५ रुपैयाँ जुवातास खेल्नेहरुबाट प्रहरीले बरामद गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।