ताजा अपडेट »

मजदुरी गर्ने सम्मा पुग्दैन चुनावी प्रचार, भन्छन्– हामीहरूलाई दलको रंग नदिनुहोस्

आइतबार, ०४ बैशाख २०७९, १३ : २८
10 Shares

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको विमानस्थल नजिकै सडकमा काम गर्ने रमिता बुढालाई स्थानीय तह निर्वाचनका विषयमा कुनै जानकारी छैन । उनी विहान ७ बजे सडकको काम गर्न विहानै धुलाम्य सडकमा पुग्छिन् । बेलुकी अबेर सडकबाट कोठामा पुग्छिन् । उनीसँग न त कुनै सञ्चारका माध्यम छ न समाचार सुनाइदिने कोही छन् । 

तीन छोरी र एक छोराकी आमा रमिता उज्यालो हुँदा काममा पुगिसक्छिन र अध्यारो भएपछि मात्रै कोठामा पुग्छिन् । काम गरिरहेको सडक हुँदै पार्टीका झण्डा राखेका यातायातका साधन गुडेको देखे पनि उनीहरूले उडाएको धुँवा धूलोबाहेक अन्य केही नदेखेको उनी बताउँछिन् । 

नेता पनि खास कार्यकर्ताहरूको घरमा बसेर योजना बनाएको र खासखुस गरेको मात्र देखिन्छ । तर खास मतदातासम्म नेताहरू नपुगेको उनको भनाइ छ । कुन दलले के गरेको उनलाई थाहा छैन, थाहा छ त राजा फाल्दा आन्दोलनमा गएको मात्र । उनी जस्तै जाजरकोट भेरी नगरपालिका–२ की काली पुनको दैनिक गिटी कुट्दैमा बित्छ । उनलाई भोट खसाल्नेभन्दा पनि विहान र बेलुकीको छाक कसरी टार्ने भन्ने ठूलो चिन्ता छ ।

छोराछोरी पढाउने र शारीरिक रुपमा अशक्त श्रीमान दलबहादुर पुनलाई पेटभरी खाना, शरीर भरी कपडा कसरी पुर्याउने भन्ने चिन्ता छ । पाँच छोराछोरीकी आमा एक्लै कमाउने र घरधन्दा गर्नुपर्ने बाध्यता छ ।‘सबै छोराछोरी १५ वर्षभन्दा कम उमेरका छन्,’ उनले भनिन् । भोट हाल्ने समयमा मात्र नेताहरू पुग्ने गरेको र भारी भरोसा दिने गरेको उनको भनाइ छ ।

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाइ भोट हालेको, भोट हाल्दा जुन आश्वासन दिएको भए पनि चुनाव जितेपछि कुनै पनि माग सुनुवाइ नभएको उनको पीडा छ । चुनावमा मात्र जनता चिन्ने तर त्यसपछि फर्केर नहेर्ने गरेको उनले आक्रोश व्यक्त गरिन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको बगरमा ढुंगा बोकेर जीविका चलाइरहेका पुर्ण सार्कीलाई जुन व्यवस्था आए पनि जनताको जीवनस्तर नबदलिएको भन्दै पीडा सही नसक्नु छ । उनी भन्छन्, ‘गाडीमा नेताहरू सररर यता, सररररर उता जान्छन् । हामी आफ्नै तौलभन्दा ठूलो ढुंगा बोक्न बाध्य छौं । हाम्रो पीडा कसले सुन्ने ?’

आफू जस्तै गाउँका धेरै मानिस कमाइका लागि भारत गएको उनको भनाइ छ । दलका मान्छेहरू ठेक्का, उपभोक्ता समिति बनाउन खोजीखोजी आफ्ना मान्छे बनाउँछन् । ‘हामी जस्ता मजदुरलाई जे व्यवस्था आए पनि के नै भो र ?’ उनले भने ।अहिले विपन्न तथा निम्न वर्गका सर्वसधारणलाई चुनावभन्दा पनि जीवन कसरी पाल्ने भन्ने मुख्य कुरा भएको स्थानीयवासी बताउँछन् । ‘हामीहरूलाई दलको रंग दिँदा मनमा पीडा हुन्छ हामी कसैका पनि होइनौँ,’ स्थानीय सेतो कुलालले भने, ‘हामीलाई रोजीरोटी चिन्ता छ, भोट त तपसिलका कुरा हुन्न ।,’ 

कर्णाली प्रदेशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मिडियाको पहुँच कम हुनुको साथै सञ्चारसम्पर्क समेत न्युन भएका कारण तोकिएकै समयमा सूचना पाउन मुस्किल छ । गरिबको नाममा मुठीभरीका व्यक्तिको रजाइ गर्दा आम नागरिक मर्कामा परेको छन् । स्थानीय तहको निर्वाचनमा समेत तिनै मुठीभरीका व्यक्ति परिचालित भएर सर्वसाधारणको आँखामा छारो हालिरहेको पीडितहरूको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।