ताजा अपडेट »

लुम्बिनीमा ५ दललाई ४ उपमहानगरको भागबण्डा भारी

बुधबार, ३० चैत्र २०७८, १७ : ४९
6 Shares

बुटवल । आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचनमा सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता सामाजवादी र जनमोर्चा सहित ५ दलीय गठबन्धन एक भएर अघि बढ्ने भने पनि उनीहरु बीच अविश्वास कायमै देखिएको छ । सबै स्थानीय तहमा वडादेखि नै गठबन्धन गरी चुनावी तालमेलमा जाने निर्णय गरेका दलहरु बीच अन्तरघातको सम्भावना बढी देखिएको कुरा ती दलका केही नेताहरुले नै अनौपचारिक रुपमा गफिँदा अभिव्यक्त गर्ने गरेका छन् ।

सुरुदेखि नै गठबन्धनको विपक्षमा रहेका काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनः अन्त्यमा पार्टीको केन्द्रीय तहको निर्णयसँगै पक्षमा उभिएको व्यक्ति हुन् । गबन्धन गर्दा नेपाली काँग्रेसले धेरै गुमाउनु पर्ने तर्क गर्दै आएका उनी केन्द्रीय तहको निर्णय र निर्देशनसँगै साइजमा आएका हुन् । व्यक्तिगत रुपमा भने उनी अझै पनि गठबन्धनको पक्षमा नरहेको बताउँछन् । नीति रुपमा पार्टीले निर्णय गरेपछि भने त्यसको बिरोध गर्दै आफू नहिँडेको प्रतिक्रिया दिए । गठबन्धन गर्दा व्यवस्थित गरिकाले गर्नुपर्ने तर्क गर्दै उनले भने ‘गठबन्धनका नाममा गलफासो नगरौं भन्ने हो, त्यस विषयमा मैले आफ्नो फरक मत राखीसके ।’ उनले अभि भने, ‘पार्टीले गठबन्धन गर्ने निर्णय गरेपछि मैले त्यसको विरोध गर्दै हिँडेको पनि छैन, हिँड्न पनि मिल्दैन, मिल्दो जुल्दो तरिकाले गठबन्धन गरौं भन्ने हो ।’

गठबन्धन गरेर अघि बढ्ने निर्णयसँगै पहिलो पटक सार्वजनिक विज्ञप्तिमा नेकपा एकीकृत समाजवादीको नामनै समावेश नगर्दा त्यसको छाप चुनावको अन्तिम दिनसम्म पनि पर्न सक्ने नेताहरु बताउँछन् । उक्त भूललाई सुधार गरी समाजवादीसहितको ५ वटै दलका प्रतिनिधिहरुको हस्ताक्षरसहित भूल सुधार गरिए पनि पहिलो विज्ञप्तिमै गठबन्धन दलकै नाम छुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसैगरी चैत २७ गते बसेको गठबन्धन दलको बैठकले यस बाहेकका अन्य कुनै पनि दलसँग गठबन्धन नगर्न निर्देशन जारी गरेको छ । उक्त निर्णय कार्यान्वयन गराउन्का लागि अनुमगन संयन्त्र नै निर्माण गरी अघि बढ्नु उनीहरु बीच आपसी विश्वासको कमी भएको कुरालाई झल्काउँदछ । केन्द्र तथा प्रदेश तहमा दलीय गठबन्धन गरे पनि भुई तहका नेता कार्यकर्ताले गठबन्धनलाई अस्वीकार गर्ने डर नेतृत्व तहलाई रहेको देखिन्छ । गठबन्धन दलमा सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेस भित्र नेता कार्यकर्ताहरुको चित्त बुझाउन थप सकस हुने देखिएको छ । काँग्रेसका केही नेताहरुले अनौपचारिक रुपमा गरिने छलफलमा गठबन्धनका कारण आफूहरुले धेरै गुमानु पर्ने तथा पार्टी भित्रैबाट अन्तरघातको सम्भावना बढी रहने कुरालाई स्वीकार गरेको पाइन्छ ।

गठबन्धनलाई लुम्बिनीमा ४ उपमहानगरको भागबण्डा प्रमुख चुनौती
गठबन्धनभित्र मतभेद हुँदा उम्मेदवारको नाम समेत सिफारिस गर्न नसक्नुले लुम्बिनीका ४ उपमहानगर पहिलो चुनौतीका रुपमा देखिएको छ । लुम्बिनीका बुटवल उप-महानगरपालिका, घोराही उप-महानगरपालिका, तुल्सीपुर उप-महानगरपालिका र नेपालगञ्ज उप-महानगरपालिकामा गठबन्धनका कुन दललाई प्रमुख पदको उमेद्वार बनाउने विषयनै फलामको चिउरा चपाउनुभन्दा कम चुनौतीपूर्ण छैन ।

चार उप-महानगर मध्ये नेकपा माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र नेपाली कांग्रेसले दुई वटा उप–महानगरपालिका पाउनुपर्छ भन्ने पक्ष बलियो छ । यसरी भागबण्डा गर्दा आफ्नो राम्रो जनमत भएको उपमहानगर पनि अन्य दललाई सुम्पिनु पर्ने देखिएपछि काँग्रेसका स्थानीय नेताहरु बीच मत बाझिने सम्भावना बढ्दो देखिन्छ ।

काँग्रेस लुम्बिनी सभापति पुनले विगत निर्वाचनको जनाधार र अहिलेको अवस्थालाई हेर्दा काँग्रेसले नै सबै उपमहानगरमा नेतृत्व पाउनु पर्ने दाबी गर्छन् । विगतमा जुन पार्टीले जितेको र संगठनको अवस्था के छ सोही अनुसार निर्णय हुने बताउँदै उनले ४ वटै उपमहानगर आफूहरुले पाउनु पर्ने माग छ ।

गठबन्धन दलले गत निर्वाचनमा जित दर्ता गरेको आधार तथा मतभारको आधारमा ती दलहरुलाई पहिलो प्राथमिकता दिने यसअघि नै समझदारी भएको छ । यस्तो अवस्था रहेको खण्डमा बुटवलबाट मेयरको टिकट आफूहरुले पाउनु पर्ने एकीकृत समाजवादीको माग छ । पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही ईन्चार्ज बालकृष्ण चापागाईंले गठबन्धनमा आफूहरुलाई सम्मानजन व्यवहार गरिनु पर्ने उल्लेख गरे । लुम्बिनी प्रदेशका ४ उपमहानगर मध्ये बुटवलमा आफूहरुले प्रमुख पद पाउनु पर्ने बटमलाइन रहेको उनले स्पष्ट पारे । गठबन्धन भित्र आफूहरुले सम्मानजनक उपस्थिती खोज्ने ग्लोबल आवाजसँग बताए ।

यसैगरी नेपालगञ्ज उप-महानगरपालिका र तुल्सीपुर उप-महानगरपालिकामा समेत कांग्रेसले प्रमुख पद पाउनुपर्ने माग छ । हालसम्म नेपालगञ्जमा गठबन्धनका अन्य कुनै पनि दलले दाबी गरेका छैनन् । गठबन्धन दल नेकपा माओवादी कन्द्रले घोराही उपमहानगरमा आफूले प्रमुख पद पाउनु पर्ने माग गरेको छ । नेपालजञ्ज र तुलसीपुर उमहानगरमा गठबन्धनका दलहरुले दाबी नगरकोहुँदा काँग्रेसले नै प्रमुख पद पाउने निश्चित प्राय भएको अवस्थामा अन्य २ उपमहानगरमा भने काँग्रेसले त्याग गर्नु पर्ने देखिन्छ ।

यसरी गठबन्धन मिलाउन काँग्रेसले महत्वपूर्ण मानिएको बुटवल उपमहानगर र घोराही उपमहानगर अन्य दललाई दिनुपर्दा उसको पार्टी पङ्ती भित्र नै ठूलो असन्तुष्टि पैदान हुने देखिन्छ । यसैगरी गठबन्धनका दलहरुले प्रमुख पद नपाएको अवस्थामा गठबन्धननै धरापमा पर्ने सम्भावना बढेर जाने छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।