ताजा अपडेट »

घोराही-लमही सडकखण्ड खाल्डाखुल्डी र धुलोले बिजोक

मंगलबार, २९ चैत्र २०७८, १० : ४७
2 Shares

दाङ । जिल्लाको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको प्रमुख सडक घोराही–लमही सडकखण्ड खाल्डाखुल्डी र धुलोका कारण अस्तव्यस्त छ । सडकका विभिन्न ठाउँमा परेका खाल्डाखुल्डी र पछिल्लो समय सडकका घुम्तीहरु चौडा गर्ने क्रममा विभिन्न ठाउँमा काटिएका कारण खाल्डाखुल्डीसँगै धुलोका कारण सडकको अवस्था अस्तव्यस्त बन्न पुगेको हो ।

२३ किलोमिटरको दुरी रहेको उक्त सडकखण्डमा खाडल र धुलोका कारण अस्तव्यस्त मात्र सडक बनेको छैन दुर्घटनाको जोखिमसमेत बढाएको छ । सडकको नियमित मर्मत सम्भार नहुँदा विभिन्न ठाउँमा कालोपत्रे उप्किनका साथै घुम्तीहरुमा धुलो र खाडलका कारण यातायातका साधन चलाउन चालकलाई हम्मे–हम्मे पर्ने गरेको छ । गर्मी मौषसमा गाडी हिँड्दा उड्ने धुलोसँगै सडकमा परेका खाल्डाखुल्डी कारण सवारी साधन चलाउन समस्या हुने गरेको गाडी चालक दीपक खड्काले बताए ।

बिग्रिएको सडक समयमै मर्मत नगर्दा दुर्घटनाको जोखिम बढाएको उनले बताए । ‘सडक खाल्डाखुल्डी र धुलोका कारण अस्तव्यस्त बनेको छ । त्यसैमा धुलो उड्दा अगाडि केही देखिँदैन’, गाडी चालक खड्काले भने ‘बिग्रिएको सडकका कारण दुर्घटनाको जोखिम छ । तर सडक बनाउन सम्बन्धित निकायको ध्यान जाँदैन ।’ सडक जीर्ण बन्दा ठूला सवारी साधनभन्दा साना दुईपांग्रे सवारी साधनलाई थप समस्या हुने गरेको छ ।

दुईपांग्रे सवारी साधनका चालक र यात्रुलाई खाल्डाखुल्डीसँगै धुलोले सताउने गर्दछ । घोराही उपमहानगरपालिका ३ अन्तर्गत पर्ने मसोटखोलादेखि माथि पहाड उक्लिदा विभिन्न घुम्तीसँगै पछिल्लो समय सडकका मोडहरु चौडा गर्ने क्रममा सडक काटिँदा घुम्तीहरुमा धुलोका कारण सास्ती बेहोर्नुपरेको नागरिकको गुनासो छ । सडकमा खाडलसँगै अत्यधिक धुलोका कारण दुईपांग्रे सवारी साधन चलाउन पनि जोखिम मोल्नुपर्ने बाध्यता भएको घोराही निवासी मोहन थापा बताउँछन् ।

समयमै गन्तव्य पुग्नका लागि सानो सवारी साधन उपयुक्त भए पनि सडकमा परेका खाल्डाखुल्डी र धुलोका कारण मोटरसाइकल चलाउन निकै समस्या हुने गरेको उनले बताए । ‘समयमै गन्तव्य पुग्नका लागि बसभन्दा साना दुईपांग्रे सवारी साधन उपयुक्त हुन् । तर सडकको अवस्था सम्झँदा मोटरसाइकल चलाउनै दिक्क लाग्छ’, थापाले भने ‘बिग्रिएको सडक समयमै मर्मत हुने हो भने जनताले दुःख पाउने थिएनन् ।’ तर यसतर्फ सम्बन्धित निकायको ध्यान नजाँदा जोखिमपूर्ण यात्रासँगै धुलोका कारण स्वास्थ्यमा समेत असर गर्ने गरेको छ ।

उनले समयमै बिग्रिएको सडक मर्मत हुन सके यात्रुले सास्ती ब्यहोर्न नपर्ने बताए । सडकको क्षमतभन्दा धेरै सामग्री बोकी टिप्पर, १२–१६ चक्के ट्रक हिँड्दा सडक दिनप्रतिदिन बिग्रिदै जीर्ण बन्दै गएको छ । सडकको क्षमताभन्दा बढी लोड भएका सवारी साधन आवतजावत गर्दा सडक प्रत्येक वर्ष मर्मत गर्नुपर्न बाध्यता छ । नियमअनुसार सडकको क्षमताभन्दा बढी लोड भएको कुनै पनि यातायातका सवारी साधन चल्न नपाइने हो तर सवारी चालकहरुले लापरबाही गर्दै सडकको क्षमताभन्दा ओभरलोड सामग्री बोकेर हिँड्दा जति पटक मर्मत गरे पनि सडकको अवस्था बर्षेनी जीर्ण बन्ने निर्माण व्यवसायी बताउँछन् ।

सिमेन्ट उद्योगका टिप्पर र ट्रकसँगै मेशिन बोकेर आउने ठूलाठूला ट्रकका कारण सडकको अवस्था बिग्रने गरेको सडक डिभिजन कार्यालयले गुनासो गर्ने गरेको छ । तर सडकको बारेमा बुझ्न खोज्दा कसैको फोन नै उठेन । कार्यालयका जिम्मेवारी निकायको फोन नउठ्दा सडकको घुम्तीहरु काटेर मात्रै छोडिने हो वा बनाइने हो रु सडकको ठाउँ–ठाउँमा उम्किएको कालोपत्रे सडक यसैबर्ष मर्मत हुन्छ वा हुँदैन भन्ने समेत थाहा हुन सकेको छैन ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी