ताजा अपडेट »

रुपन्देहीका ६३ मतदानस्थल ‘अतिसंवेदनशील’

सोमबार, २८ चैत्र २०७८, १८ : ११
4 Shares

बुटवल । रुपन्देहीमा स्थानीय तहको निर्वाचनका लागि छुट्टाइएका मतदान स्थल मध्ये ६३ मतदानस्थल सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील सूचीमा परेका छन् ।

जिल्ला सुरक्षा समितिले जिल्लामा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी विश्लेषण र मूल्याङ्कनको आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान स्थललाई तीन किसिमबाट वर्गीकरण गरेको हो। वर्गीकरणका लागि मतदान स्थलको भौतिक संरचना, सीमानाकासँगको निकटता, भौगोलिक अवस्था, प्रहरी कार्यालयदेखिको दूरी तथा सुरक्षा सतर्कता र विगतमा निर्वाचनमा हुने गरेको घटनालाई जिल्ला सुरक्षा समितिले सूचकको रुपमा लिएको छ ।

जिल्लामा रहेका २ सय ८ मतदान स्थलहरु मध्ये ६८ मतदान स्थललाई संवेदनशील र ७७ मतदान स्थललाई सुरक्षाका दृष्टिकोणले समान्य स्थलको रुपमा राखिएको प्रहरी प्रवक्ता पौडेलले बताए। सुरक्षा समितिले जिल्लामा रहेका मतदान स्थल मध्ये सीमानाकासँग नजिक भएका क्षेत्रका धेरै मतदान स्थल अतिसंवेदनशीलको सूचिमा वर्गिकरण गरेको प्रहरी प्रवक्ता पौडेलले बताए ।

शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि रुपन्देहीमा २ हजार ५२१ जना म्यादी प्रहरी भर्ना गरिएको छ । अति संवेदनशील मतदान स्थलमा ८ जना म्यादी प्रहरी, संवेदनशील मतदान स्थलमा ६ जना म्यादी प्रहरी र सुरक्षाका दृष्टिकोणले सामान्य मानिएका मतदान स्थलमा ५ जना म्यादी प्रहरी परिचालन हुने प्रहरी प्रवक्ता पौडेलले बताए । जिल्ला सुरक्षा समितिले सिके राउत र विप्वल नेतृत्वको नेकपाको जिल्लामा कम प्रभाव निष्कर्ष भएको निकालेको प्रवक्ता पौडेलले बताए । उनीहरुबाट सुरक्षा चुनौति पनि कम रहेको उनले बताए ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले अहिले मतदान स्थलको अनुगमन र निरीक्षणको काम भइरहेको बताए । बैशाख ७ गते जिल्लामा रहेका १६ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी रहेको बताए।

निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारीहरुको विवरण संकलनको काम पनि भइरहेको बताए । रुपन्देहीमा निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक ५ हजार ६०० कर्मचारी आवश्यक पर्ने उनले बताए । ‘प्रत्येक निर्वाचन केन्द्रमा ५ जना कर्मचारी र ३ जना स्वयंम सेवक आवश्यक पर्छ । यसका लागि अहिले कर्मचारीको विवरण संकलनको काम भइरहेको छ ।’–निर्वाचन प्रमुख भण्डारीले भने ।

यता सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जिल्लामा निर्वाचनका लागि कति सुरक्षाकर्मी आवश्यक पर्छ भनेर अहिले विवरण संकलन भइरहेको बताए । ‘अहिले भखरै त यति नै सुरक्षाकर्मीको आवश्यकता छ भन्ने भन्न संख्यात्मक रुपमा एकीन भएको छैन् । अब २÷३ दिनमा नै सबै विवरण संकलन भएपछि मात्रै संख्यात्मक रुपमा आवश्यक सुरक्षाकर्मी भन्न सकिन्छ ।’

रुपन्देहीमा राष्ट्रिय दलको मान्यता प्राप्त ६ दल र राष्ट्रिय दलको मान्यता नपाएका ३२ दल गरी ३८ दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । अघिल्लोे निर्वाचनको तुलनामा रुपन्देहीमा १ लाख ९ हजार ७५८ मतदाता बढेका छन् ।

२०७४ सालको निर्वाचनमा ५ लाख २२ हजार ६०२ मतदाता रहेकोमा अहिले बढेर १ लाख ९ हजार ७५८ जना मतदाता बढेर ६ लाख ३२ हजार ३६० पुगेको छन् । मतदाता मध्ये ३ लाख २३ हजार ७७८ जना पुरुष र ३ लाख ८ हजार ५७४ जना महिला र ८ जना अन्य मतदाता रहेका छन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।