ताजा अपडेट »

कर्णालीमा स्थानीय तह निर्वाचन : एमालेले थाल्यो उम्मेदवार चयन, सत्तारुढ गठबन्धन अलमलमै

सोमबार, २८ चैत्र २०७८, १६ : ०८
2 Shares

सुर्खेत । स्थानीय तह निर्वाचनमा कर्णालीमा उम्मेदवार छनोटको प्रक्रिया अघि बढेको छ । नेकपा एमालेले कर्णालीका १० जिल्लामध्ये केही जिल्लाका वडादेखि पालिका तहसम्मका उम्मेदवारको टुंगो लगाएको छ भने अन्यमा छलफल जारी छ । तर, सत्तारुढ गठबन्धनबीच भागबण्डाको कुरा नमिल्दा उम्मेदवार छनोट ढिला भइरहेको छ । 

एमालेले सुर्खेतका २१ वडामा सर्वसम्मत वडाअध्यक्ष चयन गरिसकेको छ भने दैलेखका ३७ वडामा वडाअध्यक्षका उम्मेदवार चयन गरिसकेको छ । यस्तै, कर्णालीका अन्य जिल्लामा पनि उम्मेदवार चयन प्रक्रियाले तीव्रता पाएको छ । दैलेखको आठबीस नगरपालिकामा सोमवार वडाअध्यक्षको उम्मेदवार चयन गर्ने कार्यक्रम रहेको एमाले दैलेखले जनाएको छ ।

एमालेबाट चामुण्डाविन्दासैनीको मेयरमा सूर्यबहादुर 
यस्तै, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एमालेले नगरप्रमुखको रुपमा पूर्व जिल्ला उपसभापति एवं भूमि आयोग दैलेखका पूर्व अध्यक्ष सूर्यबहादुर शाहीलाई उठाउने निर्णय गरेको छ । यसअघि पनि नगरपालिकाको मेयर अर्का सूर्यबहादुर शाही थिए । 

नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार ३० चैतसम्म अन्तिम समयावधी पार्टीले तोकेर पठाइसकेको उनले जानकारी दिए । सुर्खेतमा एमालले २१ वडामा सर्वसम्मत अध्यक्षसहित सदस्यहरूका उम्मेदवार चयन भइसकेको छ,’ उनले भने, ‘सोमबार थप वडामा सर्वसम्मत उम्मेदवार चयन हुनेछ ।’

यस्तै, नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले कर्णालीमा उम्मेदवार चयन प्रक्रिया तीव्र रुपमा भइरहेको जानकारी दिए । हामीले दशवटै जिल्लामा सर्वसम्मत उम्मेदवार चयन गर्नेगरी अघि बढेका छौं,’ शाहले भने, ‘प्रदेशका करिब एक चौथाई वडामा उम्मेदवार सर्वसम्मत चयन भएको खबर आइसकेको छ । अन्य वडामा पनि सर्वसम्मत चयनको प्रयास जारी छ ।

चुनावलाई टार्गेट गरेर निरन्तर अघि बढिरहेको र वडाअध्यक्ष उम्मेदवार चयन गरेर केही पालिका प्रमुख उपप्रमुखको उम्मेदवार चयन गर्ने अवस्थामा आफूहरू पुगेको शाहले बताए । जस्तो दैलेखको नौमुले गाउँपालिकामा अध्यक्ष उपाध्याक्ष चयन अन्तिम प्रक्रियामा पुगिसकेका छौँ ।’

सत्तारुढ गठबन्धन भागबण्डामै अल्झिए
एमालेले उम्मेदवार चयनलाई तव्रिता दिँदा यता सत्तारुढ गठबन्धन भने भागबण्डामै अल्झिरहेको छ । पालिकाको भागबण्डा केन्द्रले गर्ने भएकोले केन्द्रबाट फाइनल भएर आएपछि मात्रै वडा तहमा कसरी जाने भन्ने कुराको निक्र्योल हुने माओवादी केन्द्र सुर्खेतका इन्चार्ज एवं केन्द्रीय सदस्य झकबहादुर मल्लको भनाइ छ । अहिले कुन पालिका कसको भागमा पर्ने भन्ने अन्यौल कायमै छ,’ उनले भने, ‘पालिकाको केन्द्रबाट टुंगो लागेपछि मात्रै हामी यहाँ आवश्यक छलफलअघि बढाउँछौं ।’

यता, कांग्रेसभित्र भने संस्थापन समूह र संस्थापन इतर समूहमा हरेक जिल्लामा विवाद देखिएको छ । गठबन्धन गरेर जानुपर्ने भन्दै जिल्ला सभापतिहरूले हस्ताक्षर गरे पनि शेखर समूहका नेताहरूले भने कांग्रेस एक्लै लड्नुपर्नेमा जोड दिइरहेका छन् । यसले पनि कांग्रेसलाई सहजै निर्णय लिन हम्मे भइरहेको छ ।

नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीका अनुसार सत्ता गठबन्धन दलबीच भागबण्डा नमिलेकाले उम्मेदवारी छनौट गर्न नसकिएको बताए । सभापति शाहीले कुन पालिका कसले पाउने भन्ने बारेमा अहिलेसम्म कर्णालीमा दलहरूबीच सहमति भइनसकेको जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।