ताजा अपडेट »

बुटवल उपमहानगरमा एमालेलाई काउन्टर दिन कांग्रेसबाट पाण्डेय कि लम्साल ?

विहीबार, २४ चैत्र २०७८, १९ : २६
12 Shares

बुटवल । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै पश्चिम क्षेत्रको चर्चित शहर बुटवलको राजनीतिक माहौल तातेको छ । देशभरका ११ उपमहानगरपालिका मध्येको बुटवल उपमहानगर लुम्बिनी प्रदेशको अस्थायी मुकाम तथा पश्चिम क्षेत्रकै आर्थिक केन्द्रका रुपमा रहेका कारण पनि राजनीतिक दलहरुले महत्वका साथ लिने गरेका छन् ।

लामो समयदेखि एकछत्र बुटवलमा निर्वाचन जित्दै आएको एमालेलाई सत्ता गठबन्धन यस पटकको निर्वाचनमा जसरी पनि ब्रेक लगाउने योजनाका साथ पूरा शक्ति प्रयोग गर्ने देखिएको छ । सत्ता गठबन्धनमा रहेको प्रमुख दल नेपाली काँग्रेसले नै बुटवलको प्रमुखका लागि उमेद्वारी पाउने पक्का भएपछि उक्त दलभित्र टिकटका लागि आन्तरिक रस्साकस्सी चलिरहेको छ । बैशाख ३० का लागि टिकट पाउने मध्येका बलियो सम्भावना बोकेका नेताहरु मध्ये नेपाली काँग्रेस क्षेत्रीय सभापति हरी लम्साल र बुटवल उपमहानगर सभापति खेलराज पाण्डेय मध्ये एकको नाम पक्का जस्तै भएको काँग्रेस नेता कार्यकर्ताहरुले बताउने गरेका छन् ।

गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाको समर्थन रहने भएका कारण बुटवलको मेयर बन्ने सुनौलौ अवसरका रुपमा हेरेका दुबै आकांक्षीले आफ्नो शक्तिको प्रयोग गरी टिकट पक्षमा पार्ने कसरत चलिरहेको छ । टिकट प्राप्त गर्ने पात्रका लागि गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र उनका भाई रुपन्देही सभापति रामकृष्ण खाँणको आशिर्वाद पाउनु पर्ने अवस्था पनि हुनसक्छ । यद्यपी काँग्रेसले नगर तथा क्षेत्र गरी विभिन्न स्तरबाट समितिहरुको सिफारिसका आधारमा उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ । यसैगरी टिकटका आकंक्षी पाण्डेय र लम्साल काँग्रेस संस्थापन इतरका नेताहरु हुन् । काँग्रेसको १४ औं महाधिवेशनमा भएका गतिविधिलाई समेत नजिर बनाएर रिस साध्ने र अन्तरघाटको सम्भावना पनि उत्तिकै भएको पार्टीका एक नेताले बताए ।

चर्चामा आएको दुई नेता मध्येका खेलराज पाण्डे स्थानीय तहको निर्वाचनमा पराजित नेता हुन् । नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरी चुनावी मैदानमा आएका पाण्डेय हाल बुटवल उपमहानगरापालिका प्रमुख शिवराज सुवेदीसँग पराजित भएका थिए । चुनावी गठबन्धन गरेर पनि एमालेसँग पराजय व्यहोरेका उनले यसपटक भने निर्वाचन आफ्नो पक्षमा हुने दाबी गर्दै भेटघाट र जनसम्पर्कलाई तीब्रता दिएका छन् ।
यद्यपी उनले टिकट पाउनेमा भने उनी भित्रकै केही नेताहरुले शंका व्यक्त गरेका छन् । ‘अघिल्लो निर्वाचनमा भएका केही आर्थिक अपारदर्शिता, विपक्षीमा भएर पनि बुटवल उपमहानगरले गरेका कामहरुमा नो अब्जेक्सन लगायतका कारणले पार्टी भित्रकै एक तप्का असन्तुष्ट देखिन्छ ।’–नाम नखुलाउने सर्तमा काँग्रेसका एक नेताले उल्लेख गरे । यदि पाण्डेले टिकट पाएको खण्डमा गठबन्धनका अन्य दलभन्दा पनि काँग्रेस भित्रकै एक तप्काले असहयोग गर्न सक्ने डर रहेको उनले बताए ।

अघिल्लो निर्वाचनमा पराजित भएसँगै जनसम्पर्क र सम्बन्धलाई बढाउन निरन्तर लागिरहेका पाण्डेनै बलियो उम्मेदवारका रुपमा रहेको उनी पक्षका नेताहरुले बताउने गरेका छन् । जोसँग पनि सजिलै घुलमिल हुन सक्ने सामान्य भुँई तहका नागरिकदेखि उद्योगी व्यवसायी तथा बुद्धिजिवीहरुसँग सहजै सम्बन्ध राख्न सक्ने भएका कारण पाण्डेय नै गतिलो उम्मेदवार भएको बताउने गरिएको छ ।

को हुन् पाण्डेय ?
बुटवलमा परिचित नाम नै हो, खेलराज पाण्डेय । ३२ वर्ष अघिदेखि बुटवलमा बसोबास गर्न लागेका पाण्डेय स्याङ्जाको कालिगण्डकी गाउँपालिका साबिक आलमदेवी कोटाकोटमा जन्मिएका हुन् । उनले काठमाडौँको अस्कल क्यापसबाट सक्रिय रुपमा नेविसंघबाट विद्यार्थी राजनीति सुरु गरे । कलेज सकेपछि काँग्रेसको राजनीति सक्रिय भए । उनी अहिले पनि भाडामै बसोबास गर्दै आएका छन् । पाण्डेयले बुटवलको नगरसभापतिमा ह्याट्रिक गरेका छन् ।

पाण्डेय गत निर्वाचनमा पनि नेपाली कांग्रेस र माओवादीको संयुक्त उम्मेद्वारको रुपमा चुनावी प्रतिष्पर्धामा रहेका थिए । २०७४ सालको निर्वाचनमा कांग्रेस र माओवादीको तालमेलका बाबजुद पनि नेकपा एमालेका तत्कालिन जिल्ला अध्यक्ष शिवराज सुवेदीले जितेका थिए । सुवेदीले २३ हजार २४९ मत ल्याएर निर्वाचित हुँदा पाण्डेयले २० हजार ८५१ मत ल्याएका थिए ।

यस पटक पनि आफूले टिकट पाउने र बुटवबासीले जिताउने कुरामा आफू ढुक्क रहेको पाण्डेय बताउँछन् । गत निर्वाचनमा केही प्राविधिक रुपमा व्यवस्थापन गर्न नसक्दा पराजित भएकाको बताउँदै उनले भने ‘गत निर्वाचमा केही मत अन्तरले पराजित भएँ । यस पटक जित्छु ।’ साथै आफूले बुटवलका समस्या समाधानलाई नजिकबाट नियालेको र बुटवलबासीका समस्यालाई समाधान गर्ने इच्छा भएकाले प्रदेश सभा वा अन्य स्थान भन्दा पनि इच्छा बुटवलको मेयरमै भएको बताए । साथै उनले आफ्नो बुटवलको मेयरमै इच्छा रहेको र प्रदेशसभा नजाने स्पष्ट पारे ।

को हुन् लम्साल ?

पत्रकारिताबाट राजनीतिमा आएका हुन्, हरि लम्साल । २०४५ सालदेखि बुटवलमा बसोबास गर्न लागेका लम्साल स्याङ्जाको पुतली बजार नगरपालिका-१ (साविकको वडा नं.९) मा जन्मिएका हुन् । लम्साल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष र प्रेस यूनियनको केन्द्रिय उपाध्यक्ष भइसकेका छन् । उनले २०४९ सालमा स्व.सूर्य प्रधानले बुटवलको मेयर जित्दा प्रेस सल्लाहाकार र २०५६ सालमा प्रधानले बुटवलबाट सांसद जित्दा स्वकीय सचिवको रुपमा काम गरेका थिए । लम्साल अहिले बुटवलको कालिकानगरमा आफ्नै घरमा बसोबास गर्दै आएका छन् ।
उनी गत निर्वाचनमा पनि मेयरको टिकटका बलियो दाबेदार रहेका थिए । अन्तिम समयमा आएर खेलराज पाण्डेले टिकट पाएका थिए ।

लम्सालले अघिल्लो पटक खेलराज पाण्डेयले टिकट पाएकाले यस पटक आफूले नै टिकट पाउनु पर्ने घुमाउरो पारामा आशय व्यक्त गरे । ‘अघिल्लो निर्वाचनमा मलाई अन्तिम समयमा आएर टिकट नदिएको हो ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै लम्सालले भने ‘यस पटक त पक्कै पार्टीले विबेक पुर्याएर निर्णय गर्ने छ ।’ यस पटक पार्टीले बुटवलमा जसरी पनि जित्नु पर्ने बताउँदै लम्सालले पार्टीले जस्तो निर्णय गरे पनि आफूले स्वीकार गर्ने बताए ।

यस्तै नेकपा एमालेबाट गोपाल राना र बाबुराम भट्टराई मध्ये एकले टिकट पाउने सम्भावना बलियो रहेको छ । एमाले उपाध्यक्ष बिष्णु पौडेल र गृहमन्त्री बालकृष्ण खाँणको प्रतिष्ठासँग पनि बुटवलको निर्वाचन जोडिएकाले यँहाको निर्वाचन रोचक हुने देखिएको छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।