ताजा अपडेट »

गाउँघरमा बाँदर आतंक : उज्यालो भएदेखि रातिसम्मनै बारी कुर्नु पर्दछ

सोमबार, २१ चैत्र २०७८, १२ : ५६
8 Shares


गुल्मी । रुरुक्षेत्र गाउँ पालिका वडा न ३ बसन्त पोखरीका भेषराज ज्ञवालीको दिनचर्या उज्यालो भएदेखि रात नपर्दासम्म बारीमा दगुर्दैमा बित्छ । कतिबेला कताबाट बाँदरका हुल बारीमा पस्छन् थाहा छैन । तर, यहि खेती–पातीमा लाग्ने बाँदर यतिबेला ग्रामिण्ण क्षेत्रमा समस्या बनेको छ ।

‘बाँदरकै दुःखले पनि गाउँमा बस्न गार्हो भो ,कहिलेकाँही भए त हुन्थ्यो बार्हैमास बाँदरले दुःख दिन थालेपछि त सकिने रैनछ बरै।’ ज्ञवालीले भने । हुनपनि बसन्तपोखरी क्षेत्रमा बाँदर आतंक जातिवित्ति छ । वर्षा मासमा बारिका मकै बोडी फर्सि सोत्र्यान पार्छ र हिँउदमा तरकारी उखू फलफुल खाएर हैरान पार्छ ।

‘खै कहाँबाट आउँछन् एउटै हुलमा तीन चारसय भन्दा बढी छन् । एउटा हुल लखेट्यो अर्काे हुल आउँछ, यता लखेट्यो उता आउँछ उँखु भाँचेर उस्तै छ । लगाएका आलु समेत खनेर खायो हैरानै परियो।’ माझगाउँका मुकुन्द ज्ञवालीले पीडा पोखे ।

पछिल्लो समय यो पीडा रुरुक्षेत्र गाउँ पालिका वडा न ३ को पयग माझगाउँ खोरबारी पोखरा कारकोट अँधेरीखोला स्यालपोखरी ठाँटी लगाएतका क्षेत्रसँगै रुरुक्षेत्रको च्यूरेक तिर पनि ढेँडुवा र बाँदरले सताएर हैरान पारेको छ ।

यहाँ सम्म कि छानाबाट ढोकाबाट घर भित्र पसेर भण्डारण गरेका मकै सर्वस्व पारेको मात्र छैन लखेट्दा झम्टिन आएको भुक्तभोगि हरु बताउँछन् । गाउँमा मात्र होइन रिडी बजारमा समेत बाँदर आतँकले अक्रान्त छन् रिडीवासीहरु । ‘आँखा झिमिक्क गर्न हुन्न पसलबाट सामान फलफुल बोकेर दगुर्छन , यति मात्र होइन फ्रिज खोलेर फलफुल तरकारी र कुकरको बिर्काे खोलेर भात समेत बाँदरले खाने गरेको छ ।’ रिडीबजारका प्रेम भण्डारीले अनुभव सुनाए ।

“ढेडुवा बाँदरको आतँककै कारणले पनि खेतीपाती गर्न मात्र होइन गाउँनै छाडेर हिँडौंकी झैँ हुनथाल्यो ।”रुरुक्षेत्र १ का दिनानाथ ज्ञवालीले दुःख पोखे । उनले भने ‘जंगल बढेसँगै जंगली जनावरको आतंक उत्ति बढेको छ , रातभरि लगाएको अन्नबालीमा मृग दुम्सीको राज छ , पालेका पशु–चौपाया बाघले लतार्छ कि भन्ने जलत्रास र बिहानदेखि बाँदर र ढेँडुवाको आतँक ।’

स्थानीय भन्छन् ‘जंगली जनावरको बढ्दो आतंक बसाइ–सराईको कारण बन्न थालेको पाइएको छ । दुःखले उत्पादन गरेका कृषिजन्य उत्पादनमा जंगली जनावरको अधिपत्य बढ्नु र समस्या समाधान नभएपछि गाउँ छाडेर पलाएन हुनेको संख्या बढेको छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।