ताजा अपडेट »

धानुक र सिंह पनि आइजिपीका दाबेदार, को बन्ला नयाँ प्रहरी प्रमुख ?

विहीबार, १७ चैत्र २०७८, १७ : ४०
8 Shares

काठमाडौं। नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) अतिरिक्त महानिरीक्षकमा बढुवा भएका छन् । डिआइजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएका हुन् । यीसँगै नेपाल प्रहरीमा ९ जना एआईजी भएका छन् । ती मध्ये आठ जना जनपदतर्फका छन् । भने एक जना प्राविधिकतर्फका छन् । तीनै आठ जनामध्येबाट भावी प्रहरी प्रमुख नियुक्त गरिनेछ । आठ जनामध्ये चार जनाबीच मात्रै प्रतिस्पर्धा हुनेछ । 

अब एआइजिपीहरू विश्वराज पोखरेल, सहकुल थापासँगै आजबाट थपिएका सिंह र धानुकबीच प्रतिस्पर्धा हुनेछ । चारै जना एआईजीहरू एउटै ब्याची हुन् । चारै जना २९ चैत २०४९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । पन्त भने वर्तमान आइजिपी शैलेश थापा क्षेत्रीसँगै १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाउँदैछन् । जसले गर्दा उनी आइजिपीको दौडबाट बाहिरिनेछन् । आइजी क्षेत्रीका ब्याची एआईजीहरू हरि बहादुर पाल, प्रद्युम्न कार्की र नीरज शाही पनि १९ वैशाखदेखि अवकाश पाउँदैछन् ।  

सरकारले गत ५ फागुनमा नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफू निकट मानिएका सिंह र धानुकलाई आइजिपीको प्रतिस्पर्धामा ल्याउन दरबन्दी थप गरेको आरोप लाग्ने गरेको छ । अब नयाँ प्रहरी प्रमुख को बन्ने भन्ने सरकारको हातमा छ । प्रहरी प्रमुख नियुक्त गर्दा वरीयताक्रम तथा कार्य सम्पादन मूल्यांकन हेरेर गर्नुपर्ने हुन्छ । तर, सरकारले आफू अनुकूलका प्रहरी अधिकृतलाई नियुक्त गर्दै आएको छ । 

अब चार जनामध्ये कसले नेपाल प्रहरीको २९औं प्रहरी प्रमुखको जिम्मेवारी पाउनेछन् ? यो आम चासोको विषय छ ।  प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पोखरेल एसपी बढुवा हुँदा आफ्नो ब्याचको पाँचौं स्थानमा थिए । त्यो बेला धिरजप्रताप सिंह ब्याचको पहिलो नम्बरमा थिए । तर, एसएसपी बढुवादेखि पोखरेल पहिलो नम्बरमा आए । 

हालका आइजी क्षेत्रीको ब्याचसँगै बढुवा भएका पोखरेलले त्यो बेलासमेत अघिल्लो ब्याचकालाई पछि पारे । सडक दुर्घटनामा डिआइजी सुशील भण्डारीको मृत्यु भएपछि पोखरेल वैशाख २०७६ मा एक्लै डिआइजीमा बढुवा भए ।त्यसपछि उनी १५ मंसिर २०७७ मा एआईजीमा बढुवा भए । त्यो पनि दरबन्दी थप गरेर । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई बढुवा गर्नकै लागि एआईजीको दरबन्दी सिर्जना गरेको थियो । 

अस्वाभाविक छलाङ मारेका पोखरेल आइजिपीको प्रबल दाबेदार हुन् । तर, उनलाई एमालेको ट्याग लागेकाले सम्भावना कम देखिन्छ । निर्वाचनमा आफूहरूलाई सहयोग गर्ने चिन्ता प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणको छ । जसले गर्दा दुवै जनाको रुचिमा पोखरेल परेका छैनन् । आइजिपी बन्न चर्को लबिङ गर्ने अर्का एआईजी हुन् सहकुल थापा । 

डिआइजीमा सिंह र धानुकसँगै बढुवा भएका थिए । थपिएको दरबन्दीबाट उनी एआईजीमा बढुवा भएका थिए । उनलाई पनि देउवाले पत्याइहाल्ने अवस्था छैन । तर, वरिष्ठताको आधारमा पोखरेल र थापा मध्ये एक जना बढी दाबेदार हुन् । आज बढुवा भएका सिंह र धानुक पनि पोखरेलकै ब्याची हुन् । एसपीसम्म १ नम्बरमा रहेका सिंह एसएसपी बढुवामा शीर्ष तीनमा परेका थिए ।  

सिंहलाई देउवाले आइजिपी बनाउन चाहेका छन् । सुदूरपश्चिम घर भएका तथा एआईजीको तेस्रो वरियतामा रहेका सिंहलाई प्रधानमन्त्री देउवाले बढी रुचि देखाएका हुन् । नेपाल प्रहरीका भाग्यमानी प्रहरी अधिकृत मानिएका धानुक पनि भावी आईजीपीका दाबेदार मानिन्छन् । सुदूरपश्चिम घर भएका धानुकलाई पनि देउवाकै साथ छ । प्रहरीले सञ्चालन गर्ने अप्रेसनहरूमा धानुक ‘अब्बल’ प्रहरी अधिकारीका रूपमा परिचित छन् ।

जसले गर्दा पनि देउवाले उनलाई एआईजीमा बढुवा गरेका हुन् । हुन त सिंह डिआइजीमा छैटौं र धानुक आठौं वरीयता क्रममा छन् । तर, प्रधानमन्त्री देउवाले सिंह र धानुकमध्ये एक जनालाई आइजिपी बनाउन खोजेका छन् । 

उनीहरूभन्दा वरीयताक्रममा अगाडि रहेका तीन जना डिआइजीहरू एआईजीमा बढुवा नभएपछि सर्वोच्च पुगेका छन् । डिआइजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की सर्वोच्चको ढोका ढकढक्याउन पुगेका हुन् । उनीहरूले बढुवा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश मागदाबी गरेका छन् ।  उनीहरूको दाबी अनुसार नै सर्वोच्चले फैसला गरेको खण्डमा थप तीन जना पनि भावी आईजीपीका दाबेदार मानिनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।