ताजा अपडेट »

महिला उप-प्रमुखहरू भन्छन्- पाँच वर्ष उप चलायौँ, अब प्रमुखनै बन्ने हाे

विहीबार, १७ चैत्र २०७८, १४ : ३३
2 Shares

चौतारा (सिन्धुपाल्चोक) । आगामी ३० वैशाखका लागि घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सिन्धुपालचोकमा चुनावी सरगर्मी बढ्न थालेको छ । जिल्लामा सक्रिय राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षण लगायत काममा जुट्न थालिसकेका छन् । चोक र चिया पसलमा निर्वाचनकै चर्चा हुन थालेकाे छ ।

चुनावी माहोलसँगै सम्भावित उम्मेदवारको चर्चा पनि हुन थालेकाे छ । यही क्रममा यसअघि उप-प्रमुख भइसकेका महिला जनप्रतिनिधिहरूले अब प्रमुखमै दाबेदारी दिने बताएका छन् । संविधानमा स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ व्यवस्था गरेकाे छ । चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर जानुका पराजुली र बाह्रबिसे नगरपालिकाका उपमेयर शुशीला पाख्रिनले अबकाे निर्वाचनमा मेयरनै दावी गर्ने घाेषणा गरिसकेका छन् । 

चौतारा साँगाचोकगढीकी उपमेयर पराजुलीले उपमेयरका रूपमा क्षमताले भ्याएसम्म राम्रो काम गरेकाले प्रमुखमा स्वाभाविक दाबेदारी रहने बताइन । मैले मेयरमा दाबी गर्नु स्वाभाविक हो । 'मैले आफ्नो क्षमता देखाएकी छु,’ उपमेयर पराजुलीले न्युज कारखानासँग भनिन्,  'पाँच वर्षको कार्यकालमा उपमेयरको भूमिकामा रहेर धेरै संघर्ष गरेको छु, धेरै अनुभव बटुलेकी छु, संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीअनुसार निभाउनु पर्ने भूमिका निभाएकी छु, दिनरात नगरको सेवामा खटेर काम गरेकी छु । त्यसैले म मेयर हुन सक्षम छु र मेरो पनि मेयरमा दाव हुनेछ । ’ 

सिन्धुपाल्चोकमा १२ स्थानीय तहमध्ये  कम्तिमा चार वटामा  प्रमुख र एक सय तीन वडामा २५-३० प्रतिशतमा अध्यक्षको पदमा महिलालाई उम्मेदवार  बनाईनु पर्ने उनकाे भनाइ छ । बाह्रबिसे नगरपालिकाकी उपमेयर शुशीला पाख्रीन पनि मेयरमा उम्मेदवारी दिने सोचमा छिन् । पाँच वर्षसम्म उपमेयरका रूपमा रहँदा जनताको अपेक्षा पूरा गर्न सक्दो कोसिस गरेको उनकाे भनाइ छ । 'बाँकी काम प्रमुख भएर पूरा गर्नुछ,' उनले भनिन् । 

अबको निर्वाचनमा पनि महिलालाई उपमेयरमा मात्रै सीमित गर्नुनहुने उनले बताइन् । उनी भन्छिन्, ‘उपमेयरको पाँच वर्षे अनुभवनै आगामी चुनावमा मेयर दावी गर्ने आधार हो ।' 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।