ताजा अपडेट »

सितली मगरले २१ वर्षपछि घर पाएपछि...

बुधबार, १६ चैत्र २०७८, २१ : १०
6 Shares

दाङ । सितली मगरले २१ वर्षपछि घर पाएकी छिन् । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा श्रीमानलाई सेनाले बेपत्ता बनाएपछि घोराहीमा ढेब्लीमा जीवन काटिरहेकी ६७ वर्षीय सितलीलाई घोराही उपमहानगरपालिका वडा नं. १४ ले ढोडेनीमा घर निर्माण गरिदिएको हो । सशस्त्र द्वन्द्वका क्रममा रोल्पाबाट श्रीमान जीतबहादुर घर्तीमगरसँगै घोराही आएकी थिइन् ।

घोराही आएर नयाँ बजारमा किरान पसल गर्दै गर्दा २०५८ साल मंसिर महिनामा श्रीमानलाई सेनाले बेपत्ता पारेपछि उनी एल्की भएकी थिइन । एकलै भएपछि घोराही १४ नयाँ बजार तीन कुने चोकमा ढेबली जीवन काट्दै आएकी सितलीलाई घोराही उपमहानगरपालिका १४ ले सात लाख र उपमहानगरपालिकाले तीन लाख १९ गरी गरि दश लाख १९ हजारको लागतमा तीन कोठे पक्की घर निर्माण गरिदिएको हो ।

दश बर्षे जनयुद्धका क्रममा श्रीमान बेपत्ता पारिकी असाहाय परिवारलाई आवास निर्माण कार्यक्रम अन्तर्गत वडाले घर निर्माण गरिदिएको वडा अध्यक्ष शक्तिराम डाँगीले बताए । उनका अनुसार सौचालय,भण्डारणकक्षसहितको तीन कोठे पक्की घर निर्माण गरिदिएको छ । श्रीमानको खोजीका लागि जिल्लाका विभिन्न निकायदेखि काठमाडौंसम्म पुग्दा समेत अहिलेसम्म कुनै जानकारी नपाएको बताइन् । श्रीमान बेपत्ता भएदेखि एक्लै जीवन काटिरहेकी आफ्ना लागि वडाले घर निर्माण गरेर आफुले कल्पनै नगरेको ठुलो गुन लगाएको बताइन् ।

पूर्व सभामुखद्वारा घर हस्तान्तरण
घोराही उपमहानगरपालिका १४ ढोडेनीमा निर्माण गरिएको घर बुधबार एक कार्यक्रमकाबिच पूर्व सभामुख कृष्णबहादुर महराले द्वन्द्वपीडित मगरलाई हस्तान्तरण गरेका हुन । घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सभामुख महाराले द्वन्द्वका क्रममा पीडित परिवारका लागि वडाले घर निर्माण गरेर उदाहरणीय काम गरेको बताए ।

‘स्थानीय तह भनेको तल्लो सरकार हो । यसले चाहेपछि जनताको दुखमा साथ दिन सक्छ भन्ने यो एउटा उदाहरण हो’, महराले भने ‘संघीयताको मर्म अनुसार स्थानीय सरकारले गरेको महत्वपूर्ण जनसेवाको काम भएको । यसको सिको अन्य तहले गर्न आवश्यक छ ।’ उनले द्वन्द्वपीडित, असाहय र अनाथलागी आगामी दिनमा समेत यस्ता काम गर्न आग्रह गरेका थिए ।

घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले दश वर्षीय जनयुद्धका असाहय परिवारदेखि सडक जीवन बिताइरहेका मानिसहरुलाई सुरक्षित रुपमा राख्नका लागि काम गरिएको भन्दै घोराही उपमहानगरपालिका १४ निर्माण भएको यो घरलेपनि महत्वपूर्ण काम गर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राज्यले नागरिकको गाँस, बास र कपासको ग्यारेण्टी लिएर अघि बढ्नुपर्ने बताए । उनले आगामी दिनहरुमा पनि असाहय, गरिव एव बिपन्न परिवारका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा घर निर्माण उपभोक्ता समितिका अध्यक्ष नरेश केसीले घर निर्माणका क्रममा भएको खर्च सार्वजनिक गरेका थिए । वडा सदस्य गुलाम रसुलको स्वागत मन्तव्य सुरु भएको कार्यक्रममा पुर्व मन्त्री रेखा शर्मा, प्रदेशसभा सदस्य दामा शर्मा,नेकपा समाजबादीका जिल्ला अध्यक्ष सुरामणी बेलबासे,राष्टिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यलगायको सहभागिता थियोे ।

कार्यक्रमको सहजीकरण द्वन्द्वपीडितहरुको साझा सञ्जालका जिल्ला संयोजक प्रकाश चौधरीले गरेका थिए । उनका अनुसार जिल्लामा एक सय २६ जना सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरु छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी