ताजा अपडेट »

कार्यालय भवन नबनाएका रुपन्देहीका ३ पालिका प्रमुख भन्छन् ‘फेरि चुनाव जितेर बनाउँछौं’

आइतबार, १३ चैत्र २०७८, १७ : २८
4 Shares

बुटवल । मुलुक संघीय प्रणालीमा गएपछि पहिलो पटक भएकोे निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो कार्यकालको उत्तरार्धमा छन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

तर, रुपन्देहीका केही स्थानीय तहका जनप्रतिनिधि भने आफ्नो कार्यकालमा प्रशासकीय भवन निर्माणको काम समेत सुरुवात नगरी उनीहरु बिदा हुने छन्। रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये ३ वटा स्थानीय तहका प्रशासकीय भवन अझै लाखौँका भाडामा छन् । भाडा बाफत अहिलेसम्म ती पालिकाहरुले ठूलो मात्रामा रकम खर्च भइसेको छ ।

जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका र रोहिणी गाउँपालिकाले अझैसम्म आफ्नो प्रशासनिक भवन बनाउन सकेका छैन् । उनीहरुले अब फेरि चुनाव जितेर प्रशासकीय भवन बनाउने बताउँछन्। प्रशासकीय भवन निर्माण तत्काल बनाउनु पर्ने भएता पनि अहिलेसम्म बनाउन नसक्दा आफूहरुलाई दुःख लागेको स्वयम् पालिका प्रमुखहरु नै बताउँछन् । भवन निर्माणका लागि उपयुक्त जग्गा,विभिन्न विवाद लगायतका कारणले भवन निर्माण हुन सकेको उनीहरु बताए ।

भवन निर्माणमा विलम्ब गर्दा एउटै काम लागि धेरै जनताको सेवा प्रवाहमा त समस्या भएको नै छ जनतालाई सेवा दिने र स्थानीय विकास निर्माणका काम गर्ने स्थानीय तहले साढे ४ वर्षसम्म आफ्नै प्रशासकीय भवनसम्म नबनाउँदा सेवाग्राहीहरु एउटै काम गर्नका लागि २/३ वटा भाडाका भवनमा यता र उता गर्न बिवश छन्। रुपन्देहीका बाँकी स्थानीय तहले भने करौँडो खर्च गरेर आफ्नो प्रशासनिक भवन निर्माण गरिसकेका छन् भने केहीका निर्माणधिन अवस्थामा छन् ।

स्वास्थ्य चौकी र बाटोलाई प्राथमिकता दियौं: मेयर चौधरी

लुम्बिनी सांस्कृतिक नगरपालिकाले अहिलेसम्म कार्यापालिका भवन बनाउन सकेको छैन । नगरपालिकाले अहिलेसम्म कार्यापालिका भवनको भाडामा ५७ लाख ६९ हजार ६९३ रुपैँया खर्च गरेको छ ।

सुरु लिएको भवन सानो भएपछि भएपछि २ वर्ष पहिलादेखि नगरपालिकाले ३ वटा भवन भाडामा लिएको छ । सुरुको भवनको मासिक भाडा ७५ हजार रहेको थियो । नगरपालिकाले अहिले ८५ हजार हजार, ६० हजार र १६ हजार भाडाका ३ वटा भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।

जनतालाई स्वास्थ्य र बाटोको बढी आवश्यकता भएकाले पहिला स्वास्थ्य चौकी र बाटो निर्माण तिर केन्द्रित हुँदा नगरको प्रशासकीय भवन बनाउन नसकिएको नगरप्रमुख मनमेहान चौधरीले बताउँछन् । ‘पहिला बाटो घाटो निर्माण र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि पहिला भवन भन्दा पनि बाटो–घाटो र स्वास्थ्य चौकी निर्माण गर्न केन्द्रित भए । अहिले नगरका सबै वडाका आफ्नै भवन र प्रत्येक वडामा स्वास्थ्य चौकीका भवन निर्माण भएका छन् ।’–उनले भने ।

स्वास्थ्य चौकी भवन र वडा भवन निर्माण गरेपछि प्रशासकीय भवन निर्माण गर्ने सोच रहे पनि कोरोनाका कारण रोकिएको बताए । कोरोना महामारीको जोखिम कम भए पछि २ क्षेत्रका स्थानीयले भवन बनाउनका लागि आग्रह गरे बताए । ‘दुई स्थानबाट भवन बनाउनका लागि जग्गा भोटिएको छ । निर्वाचनको बेला एक ठाउँमा बनाउँदा अर्को ठाउँका जनता रिसाउनु हुन्छ । यसले गर्दा भवन निर्माणको प्रक्रिया अघि बढ्न सकेन।’ उनले भने ।

जिल्लाका सबै नगरपालिकाको भवन रहेको र आफ्नो नगरपालिकाको प्रशासकीय भवन मात्रै नहुँदा पहिला नै बनाउनु पर्ने रहेछ भन्ने चाँही लागेको उनी बताउँछन् । साथै अबको निर्वाचनमा पनि जनताले आफूलाई जिताए निर्वाचित भए लगत्तै भवन निर्माणको कामलाई प्राथमिकता दिने बताए ।

केन्द्र सार्ने निर्णय तत्काल स्वीकृत नहुँदा ढिलाः मर्चवारी गाउँपालिका अध्यक्ष बानिया

मर्चवारी गाउँपालिकाले प्रशासकीय भवन लागि अध्यक्ष केशव नन्द बानियाको घर भाडामा लिएको छ । भाडामार्फत मासिक ८० हजार रुपैँया गाउँपालिका अध्यक्षले बुझ्दै आएका छन् । ४ वर्षसम्म ७० हजारमा भाडामा रहेको प्रशासनिक भवन ६ महिना अघिदेखि ८० हजार भाडामा अध्यक्षको छोराका नाममा रहेको घरमा सरेको छ । गाउँपालिकाले अहिलेसम्म भाडामा मात्रै करिब ३७ लाख रकम खर्च गरेको छ ।

जग्गा र आवश्यक बजेटको अभावका कारण भवन निर्माण हुन नसेकेको गाउँपालिकाका अध्यक्ष केशव नन्द बानियाले बताउँछन् । ‘पहिला गाउँपालिकाको केन्द्र वडा नम्बर ३ रायपुरमा तोकिएको थियो । त्यहाँ भवन बनाउनका लागि आवश्यक जग्गा भेटिएन। त्यसपछि गाउँपालिकाको केन्द्र परिर्वतन गर्न खोज्दा लामो समयसम्म विवाद भयो ।’ अध्यक्ष बानियाले भने ।

लामो समयसम्मको विवाद पछि वडा नम्बर ४ मा गाउँपालिकाको केन्द्र राख्ने विषयमा सहमति भए पनि केन्द्रबाट २ वर्षसम्म स्वीकृत भएको अध्यक्ष बानियाले बताए ।

‘लामो समयसम्म केन्द्र सार्ने विषयमा विवाद भए पनि यहाँबाट सहमति गरेर वडा नम्बर ४ खरियामा गाउँपालिकाको केन्द्र राख्ने गरी सरकारलाई सिफारिस त गरियो । तर, सरकारले २ वर्षसम्म सिफारिस स्वीकृत नै गरिदिएन् । यसले गर्दा पनि गाउँपालिकाको भवन निर्माणको गर्न बिलम्ब भयो ।’–उनले भने ।

केही समय अघि केन्द्रबाट वडा नम्बर ४ को खरियामा गाउँपालिकाको केन्द्रको भवन निर्माणको लागि स्वीकृति भएर आएको र सार्वजनिक जग्गा पनि छनोट भइसेकेको यादव बताउँछन् । ‘सबै विवाद समाधान भएर गाउँपालिकाको केन्द्र सार्न स्वीकृत पनि भएको छ । अबको चुनावमा म निर्वाचित भए म स्वयम् नभए निर्वाचित हुनेले भवन बनाउनु हुने छ । ’–उनले भने ।

जग्गा नपाउँदा भवन निर्माण गर्न सकिएन्ः रोहिणी गाउँपालिका अध्यक्ष यादव

रोहिणी गाउँपालिकाले ४ वर्ष अघि ४० हजारमा लिएको भाडा बढेर अहिले ८५ हजार पुगेको छ । गाउँपालिकाले कार्यपालिका भवनको भाडामा फागुन महिनासम्म ५६ हजार २७ हजार खर्च भएको छ ।

अध्यक्ष सनोजकुमार यादवले प्रशासकीय भवनका निर्माणका लागि जग्गा उपलब्ध नहुँदा अहिलेसम्म भवन निर्माण गर्न नसकिएको बताउँछन्। ‘गाउँपालिकाको भवन वडा नम्बर ३ मा बनाउनु पर्ने हो । त्यहाँ गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्नका लागि जग्गा नै पाइएन । केन्द्रले तोकेको स्थान भन्दा अन्य स्थानमा भवन निर्माण गर्न मिलेन। गाउँपालिकाको केन्द्र परिवर्तन गर्नका लागि प्रक्रिया मिलाउनकै लागि धेरै झन्झट हुने क्या ।’–गाउँपालिका अध्यक्ष यादवले भने ।

आफ्नो कार्यकाल भरीमा जसरी पनि गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्नुपर्ने भएता पनि प्रशासकीय भवन निर्माण गर्न नसक्दा आफूलाई दुःख लागेको अध्यक्ष यादब बताउँछन् ।

‘जग्गा अधिकरण गरेर जनताको सेवाको लागि बनाउनु पर्ने भवन जनतालाई नै पीडित बनाएर बनाउन मिलेन । जग्गा किन्यौँ भने सरकारी मूल्य भन्दा धेरै गुणा महङ्गो । यी र यस्ता समस्याका कारण भवन निर्माण गर्न सकिएन । यसमा मलाई धेरै नै दुःख लागेको छ ।’–उनले भने ।

केही दिन अघि मात्रै जिल्ला समन्वय समितिले साढे ८ कठ्ठा जग्गा उपलब्ध गराएकाले यही कार्यकाल भित्रमा नै भवन निर्माणको प्रक्रिया भए पनि सुरु गर्ने अध्यक्ष्य यादवले बताए । ‘जग्गा प्राप्त हुनासाथ भवन निर्माणको डिजाइन, नक्सा पास लगाएतका कामको प्रक्रिया भइरहेको छ । मेरो कार्यकाल भित्रमा नै कम्तिमा पनि भवन निर्माणको काम प्रारम्भ गर्ने गरी लागि रहेका छौँ ।’–उनले भने ।

जिल्ला समन्वयले दिएको सो जग्गा मध्ये ३ कट्ठा जग्गा भवन निर्माण लागि गाउँपालिकाको नाममा पास गरिदिएको र बाँकी साढे ५ कठ्ठा जग्गा गाउँपालिकाको स्वामित्वमा हुने गरी जग्गा उपलब्ध भएको उनले बताए । साथै अध्यक्ष यादवले अबको निर्वाचनमा गाउँपालिका अध्यक्ष जितेर अर्को कार्यकालमा छिट्टै भवन निर्माण गर्ने बताए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।