ताजा अपडेट »

सैनामैनाको नेतृत्वका लागि नेताहरुको लबिङ, यस्तो छ दलगत मत आंकलन

शुक्रबार, ११ चैत्र २०७८, १९ : ३८
12 Shares

बुटवल । साविकका पर्रोहा, दुधराक्ष र सालझण्डी मिलेर बनेको सैनामैना चुरे पहाडको काखमा विकसित हुँदै गरेको नयाँ शहर हो । अधिकांश भित्रि मधेश तथा ग्रामिण भेगले ओगटेको सैनामैना नगरपालिकामा अबको नेतृत्व बारे बहस सुरु भएको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न दल भित्रका आकांक्षि उमेद्वारहरुले टिकट पाउन लबिङ सुरु गरिसकेका छन् ।

११ वटा वडा रहेको सैनामैनामा मुख्य प्रतिस्पर्धीका रुपमा रहेको नेकपा एमाले र नेपाली काँग्रेसका आधा दर्जन बढी नेताहरुले उम्मेद्वार बन्नका लागि टिकटको लबिङ गरिरहेका छन् । नेकपा एमाले भित्रका आकंक्षिहरुले आन्तरिक रुपमा नेता, कार्यकर्ता तथा नजिकका व्यक्तिहरुसँग भेट गरी आफ्नो पक्षमा माहोल बनाउने कामलाई जारी राखेका छन् । केन्द्र तथा प्रदेशको शत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस तथा माओवादी केन्द्र भित्रका आकंक्षिहरुले पनि आफ्ना गतिविधिलाई सक्रिए बनाए पनि चुनावी गठबन्धनमा कस्तो सहमति बन्ने भनि एकिन नभएका कारण पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ ।

नेकपा एमालेको तर्फबाट हालका नगर प्रमुख चित्रबहादुर कार्कीले पुन सोही पदमा दोहोरीने इच्छा व्यक्त गरेका छन् । अघिल्लो निर्वाचनबाट निर्वाचित भएपछि जनप्रतिनिधिको रुपमा गरेका अनुभवलाई थप कार्यान्वयनका लागि पनि आफ्नो नेतृत्व सैनामैनाका लागि आवश्यक रहेको उनको दाबी छ । मुलुक संघीयतामा गएपछि बनेको नयाँ व्यवस्थाअनुसार धेरै कुरा नौलो र सिकाइका रुपमा भएका कारण फेरी पनि आफू निर्वाचित भएमा ती अनुभवहरुलाई पूरा शक्तिका साथ प्रयोग गर्ने अवसर जुट्ने उनले उल्लेख गरे ।

यसैगरी केन्द्र तहदेखि स्थानीय तहसम्म एमाले विरुद्ध हुने शत्तारुढ दलको गठबन्धनलाई कडा चूनौतीका साथ विजय प्राप्त गर्न पनि आफ्नो आवश्यकता रहेको उनले औैल्याएँ । करिब ५ वर्षको अवधिमा आफू नगर प्रमुख रहँदा भौतिक पूर्वाधारको विकास, आर्थिक–सामाजिक रुपान्तरण, स्वास्थ्य, शिक्षा, रोजगार तथा खेलकूदको विकासमा गरेका काम र तयार पारिएको आधारशिलालाई पूरा गर्नका लागि पनि आफूले टिकट पाउनु पर्ने उनको दाबी छ ।

नेकपा एमाले भित्रैबाट अर्को दरिला र पार्टी संगठनमा पूराना व्यक्ति हुन् नरबहादुर थापा । उनले पनि टिकटको अपेक्षा गरेका छन् । अघिल्लो निर्वाचनमा समेत आफूले टिकट पाउनु पर्ने दाबी गर्दै अन्तिममा फिर्ता आएका उनले यस पटक स्वभाविक रुपमा आफूले टिकट पाउनु पर्ने तर्क गरे । आफूले लामो समयसम्म पार्टी संगठन भित्र रहेर काम गरेको अनुभव रहेको तथा रोल क्रमका हिसाबले पनि टिकट आफूले पाउनु पर्ने उनको माग छ । यद्यपी पार्टीले गरेको निर्णय नै अन्तिम हुने बताउँछन् । आम पब्लिकको इच्छा तथा कार्यकर्ताहरुको चाहना समेत आफ्नो पक्षमा रहेको दाबी गर्दै उनले पार्टीभित्र निस्पक्ष निर्णय हुने विश्वास रहेको उल्लेख गरे ।

यसैगरी एमाले भित्रैबाट अर्का आकांक्षी हुन् मिनप्रसाद पौडेल । सैनामैनामा राम्रै राजनीतिक पहिचान बनाएका उनले अघिल्लो निर्वाचनमा समेत पार्टीको निर्णय र सहमतिका लागि दाबी फिर्ता लिएका कारण यस पटक पालो आफ्नै रहेको बताउँछन् । एमाले भित्र अन्य व्यक्तिहरु समेत आकांक्षी भए पनि पार्टी भित्र गरेका योगदान तथा क्रियाशिलतालाई ख्याल गरेर नै टिकट दिने समयमा एमालेले उचित निर्णय गर्ने उनले उल्लेख गरे ।

एमाले भित्रकै अर्का आकंक्षि हुन् खुशीराम चौधरी । आफूले लामो समयदेखि राजनीतिक जीवनमा रहेर संगठन बिस्तार तथा व्यवस्थित गर्ने काममा अब्बल रहँदै आएको दाबी गर्दै यसटक टिकट आफूले पाउनु पर्ने मान्यता राख्दछन् । समावेशिताका हिसाबले पनि पछाडि परेका थारु समुदायबाट आफू बलियो उमेद्वारका रुपमा रहनसक्ने उनले बताउँछन् ।

हाल उपप्रमुख रहेकी बिना राना मगरले पनि पार्टीले उपयुक्त विकल्पका रुपमा आफूलाई लिन सक्ने दाबी गर्छिन । पार्टीभित्र हुने निर्णयको प्रतिक्षामा रहेको बताउँदै उनले नगर प्रमुखको उमेद्वारका लागि टिकटको आकांक्षा व्यक्त गर्नु रोल क्रमका हिसाबले स्वभाविक भएको उल्लेख गरिन् । यद्यपी पार्टीको निर्णयलाई नै स्वीकार गरेर एमालेलाई जिताउने गरी एक भएर जानुपर्ने उनले बताइन् ।

यस अघिको निर्वाचनमा निकटम प्रतिद्वन्दी दलको रुपमा रहेको नेपाली काँग्रेस भित्र पनि नगर प्रमुखको उमेद्वार बन्नका लागि आकंक्षीहरुको लाइन छ । गत निर्वाचनमा पराजय भोगेका काँग्रेस प्रदेश समिति सदस्य फणिन्द्र शर्माले यस पटक पनि टिकट आफूले पाउनु पर्ने दाबी गर्छन् । विगतको निर्वाचनमा भएका कमजोरीहरुलाई सुधार गरी पार्टी संगठनलाई बलियो बनाउने अभियानमा रहेको बताउँदै उनले त्यसको जस स्वरुप टिकट पाउनु पर्ने उल्लेख गरे । आफूले नगर प्रमुखमा पराजय व्यहोरेसँगै जनसमुदायमा जाने र सम्बन्ध बिस्तार गर्ने कामलाई अझ बढी प्राथमिकताका साथ लागेका कारण यस पटक काँग्रेसले सैनामैनामा बलियो आधार तयार गरेको र त्यसमा आफ्नो भूमिका रहेकाले टिकट दिने समयमा पार्टीले न्यायपूर्ण निर्णय गर्ने विश्वास उनको छ ।

नेपाली काँग्रेस भित्रबाटै अर्का आकंक्षि हुन् चित्र बहादुर के.सी. लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहँदै आएका उनले खुलेरै राजनीतिक गर्ने भएपछि मेयर पदको आकांक्षी हुनुलाई स्वभाविक मान्छन् । काँग्रेस लुम्बिनी प्रदेश सदस्य रहेका उनले आफूले नेतृत्व गरेका संघ–संस्थाहरुमा कुशलतापूर्वक नेतृत्व गर्दै आएको दाबी गर्दै पार्टी संगठनमा गरेका योगदानलाई समेत कदर गर्ने हो भने टिकट आफ्नो पक्षमा हुनुपर्ने बताए ।

हाल सैनामैना ४ का अध्यक्ष सुनिल मरासिनीले पनि नगर प्रमुख पदको उमेद्वारी पाउनु पर्ने दाबी गर्दै आएका छन् । गत निर्वाचनमा सैनामैनाका ९ वटा वडामा पराजय व्यहोरेको काँग्रेसले वडा नम्बर ४ र ११ गरी दुई वटा वडामा मात्रै अध्यक्ष पदमा जित हासिल गर्न सकेको थियो । गत निर्वाचनको उक्त नजिरलाई पनि मूल्याङ्कन गर्दै पार्टी भित्रको योगदानका आधारमा आफूले टिकट पाउनु पर्ने उनको दाबी छ ।

गत निर्वाचनमा सैनामैनामा तेस्रो शक्तिका रुपमा रहेको नेकपा माओवादी केन्द्रमा भने निर्विकल्प रुपमा मानबहादुर महत (नारायण) नगर प्रमुख पदको उम्मेद्वारका रुपमा उभिएका छन् । सार्वजनिक कार्यक्रमहरुमा समेत माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले उनलाई आगामी निर्वाचनका लागि नगर प्रमुख पदको उमेद्वारको रुपमा घोषणा गर्ने गरेका छन् ।

सैनामैनामा गत निर्वाचनमो मत परिणाम र वर्तमान अवस्था

गत निर्वाचनमा बहुमत प्राप्त गरेको नेकपा एमालेभित्र टिकट पाउनका लागि दौडधुप जारी रहे पनि निकटतम प्रतिद्वन्दीका रुपमा रहेको नेपाली काँग्रेसका नेताहरुलाई भने गठबन्धनको सहमती कुर्नु पर्ने भएकाले अन्यौलता कायम नै छ । यद्यपी उनीहरु पनि आफ्नो नाममा टिकट पार्नका लागि नेताहरुलाई रिझाउने र कार्यकर्ता बीच पुगेर परिचित हुने अभियानलाई जारी राखेका छन् । तेस्रो शक्तिका रुपमा रहेको नेकपा माओवादी केन्द्रमा भने निर्विकल्प रुपमा नगर प्रमुख उमेद्वारको नाम आइरहेको छ ।

सैनामैनामा विगतको विरासतलाई जोखाउनु पर्ने भएकाले पनि सोही अनुसार उम्मेद्वार छनोट गर्ने समयमा एमालेले निकै ध्यान पुर्याउनु पर्ने नेताहरुले बताउँदे आएका छन् । अवस्था गत निर्वाचनको जस्तो छैन । केन्द्र र प्रदेश सरकारका शत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा अन्य दलहरु एमाले हराउ अभियानमा लागिरहेका छन् । यसैगरी नेकपा फुटसँगै नेकपा एमाले भित्र असन्तुष्टि जनाउँदे बाहिरएका समूह पनि आफ्नो विरुद्धमा भएका कारण एमालेलाई चुनौती थपिएको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अलगत–अलग भएर चुनावमा होमिएका एमाले, काँग्रेस, माओवादी तथा अन्य साना दलहरु मध्ये एमाले बाहेकका सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएपछि यसपटकको निर्वाचन मत परिणाम कस्तो आउने छ सजिलै अनुमान लगाउने सकिने अवस्था छैन । विगतको निर्वाचनमा हालका नगर प्रमुख चित्रबहादुर कार्कीले निकटतम प्रतिद्वन्दी काँग्रेसका फणिन्द्र प्रसाद शर्मालाई २ हजार ७३१ मतले पछि पार्दै जित दर्ता गरेका थिए ।

कार्कीले १३ हजार ३६ मत प्राप्त गरेका थिए भने शर्माले १० हजार ३ सय ५ मत प्राप्त गरेका थिए । यसैगरी तेस्रो स्थानमा आएको नेकपा माओवादी केन्द्रका चेतनारायण न्यौपानेले २ हजार ४१७ मत प्राप्त गरेका थिए । राष्ट्रिय जनमुक्ति पार्टीका यमबहादुर दर्लामीले ३१७, राष्ट्रि प्रजातन्त्र पार्टीका इश्वरी घिमिरेले १८०, राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद गौतमले १३६ र अन्य दल तथा विभिन्न स्वतन्त्र उमेद्वारहरुको मत १८३ रहेको थियो ।

विगतको तथ्यांकलाई आधार मान्ने हो भने नेकपा एमाले बाहेकको मत १३ हजार ५३८ रहेको छ । सोही अनुपातमा हाल थप भएका मतदाताहरुको मत परिणाम रहने हो भने नेकपा एमालेले सैनामैनामा राम्रै मेहनत गर्नु पर्ने देखिन्छ । तर, एमालेका लागि सवल पक्षका रुपमा गत निर्वाचनमा २ हजार ७३१ मत प्राप्त गर्ने तेस्रो दल नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार चेतनारायण न्यौपाने नै एमालेभित्र प्रवेश गरेका छन् । पार्टी एकिकरण भई नेकपा बनेपछि र त्यसपछिको एकता खारेजपछि उनी एमालेमै रहेका हुन् । उनले जनस्तरमा बनाएको सम्बन्ध र उनका मतदाताहरु पनि एमालेलाई थप हुने भएका कारण एमाले कम्फर्ट जोनमा रहेको नेताहरुको दाबी छ । यसैगरी गठबन्धन दलहरुमा आन्तरिक रुपमा टिकटको विषयले मतभेद सिर्जना भएको अवस्थामा उक्त मत पनि आफूहरुलाई आउने र जित दर्ता गर्न थप सहज हुने एमालेको अनुमान छ ।

टिकटको पर्खाइमा रहेका गठबन्धन दलका नेताहरुले आफ्नो गतिविधिलाई अघि बढाए पनि सहमति अनुसार कुन दलले के उमेद्वारी पाउने विषय अझै अन्यौलमै रहेको छ । यद्यपी सहमति जस्तो सुकै बने पनि पूणताका साथ लागू गरेर जाने सोच बनाएका उनीहरु आगामी निर्वाचनमा जित पक्का हुनेमा ढुक्क जस्तै देखिन्छन् । सम्पूर्ण दलहरु गठबन्धन गरेर एक हुनु र एमाले भित्र असन्तुष्टि जनाई नयाँ पार्टी बनेको एकिकृत समाजवादीले मत घटाउन सहयोग पुर्याउने उनीहरुको अनुमान छ । सैनामैना विकसित हुँदै गरेको नयाँ शहर भएका कारण यहाँको राजनीतिक चेतना स्तर र जीवन शैलीलाई आधार मान्दा सबै कुराको निर्कियोल दलीय हिसाबले मात्रै गर्न मिल्दैन । उम्मेद्वारहरुको व्यक्तिगत सम्बन्ध र जनस्तरसम्मको सम्पर्कको आधारले पनि निर्वाचनमा परिणामलाई असर गर्ने निश्चित देखिन्छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।