ताजा अपडेट »

नमुना विद्यालय नै अशान्त : विद्यार्थी, अभिभावककाे झडपले कपिलवस्तुको दुधाधारी मावि बन्द

सोमबार, ०७ चैत्र २०७८, १३ : ५५
30 Shares

बुटवल । कपिलवस्तुमा रहेको एक नमुना विद्यालय नै विद्यार्थी र अभिभावकहरु बीचको झडपले अशान्त बनेको छ । विद्यालयमा उत्पन्न विवादले उग्र रुप लिएपछि पठनपाठन नै ठप्प भएको छ । विजयनगर गाउँपालिका–१ गुगौली स्थित दुधाधारी नमुना माध्यमिक विद्यालयमा आइतबार भएको झडपछि असुरक्षाका कारण ३ दिनका लागि बन्द गरिएको छ । आइतबार दिनभर तनावग्रस्त बनेको विद्यालय सोमबार सुनसान रहेको छ ।

विद्यालयमा रहेका विद्यार्थी तथा उनीहरुको अभिवागकहरुको दुई समूह बीच भएको झडपले असुरक्षित महशुस गर्दै अभिभावकहरुले नै विद्यार्थी नपाउने भएपछि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । उत्पन्न विवाद समाधान नहुँदासम्म पठनपाठन गर्ने वातावरण नभएको भन्दै ३ दिनका लागि बन्द गर्ने निर्णय गरिएको प्रधानाध्यापक सुकदिप प्रसाद कोरीले ग्लोबल आवाजलाई जानकारी दिए । आइतबार दुई समूह बीचको झगडाले विद्यालयमा रहेका भौतिक संचरना, फर्निचर तथा कम्युटर लगायतमा तोडफोड भएको उनले बताए । झडपपछि उत्पन्न विवाद समाधानका लागि विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि लगायतसँग संयुक्त रुपमा छलफलको प्रयास भैरहेको उनले कोरीले बताए ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख रणबहादुर विष्टले विद्यार्थीहरु बीच उत्पन्न विवादले उग्र रुप लिँदा साम्प्रदायिक दाउपेचतर्फ मोडिएको उल्लेख गरेका छन् । विद्यार्थी र अभिभावकहरु नै आक्रमणमा उत्रिँदा पहाडी र मधेशी बीचको द्वन्दको रुपमा अवस्था सिर्जना भएको गुनासो गरे । घटना साम्प्रदायिक द्वन्दतर्फ मोडिने खतरा बढेको छ । उक्त घटनाको छानविन र सहमतिका लागि स्थानीय जनप्रतिनिधिहरुसँग छलफल र प्रयास भइरहेको ग्लोबल आवाजसँग बताए ।

गएको बुधबार फागुन २ गते कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु बीच भएको सामान्य विवादले आइतबार उग्र रुप लिएको हो । आइतबारको घटनामा दर्जनबढी सुरक्षाकर्मी घाइते भएको प्रहरीले दाबी गरेको छ । यसैगरी केही विद्यार्थी तथा अभिभावकहरु समेत घाइते भएको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

विद्यालयका प्रधानध्यापक सुकदिप प्रसाद कोरीका अनुसार कक्षा १० मा अध्ययरत विद्यार्थीहरु मनिष दर्जी, कैलाश सुनार, नविन मगरको समूहले सोही कक्षामा अध्ययनरत उमेश यादवलाई कुटपिट गरेपछि घटना सुरु भएको थियो । ३ जना विद्यार्थीले उमेशलाई कुटपिट गरेपछि उनले पनि विद्यालयबाहिबार मान्छे बोलाई मनिषको समूहलाई कुटपिट गरेका थिए । उक्त घटना लगत्तै विद्यालयले विद्यार्थीहरुलाई छलफलमा राखी सामान्य सहमति गराई थप छलफल गर्नेगरी आइतबार विहान ११ बजे उपस्थित हुने गरी अभिभावकलाई पत्र काटेको थियो ।

विद्यार्थी बीच उत्पन्न विवाद समाधानका लागि छलफल सुरु हुन नपाउँदै आइतबार विहान मनिषको समुहले आफ्ना मान्छे बोलाएर आफूहरु विरुद्धका विद्यार्थीलाई कुटपिट गर्न थालेका थिए । घटनाको विवरण सुनाउँदे प्रधानाध्यापक कोरीले भने मनिषको समूहले कुटपिट गर्न थालेपछि उनीहरु (उमेश यादवको समूह) भाग्दै विद्यालय बाहिर गाउँमा पुगे । गाउँबाट उनले पनि अभिभावकहरु उठाए । अभिभावकहरुसँगै पुनः विद्यालयमै आएर अघि कुटपिट गर्न आएका मनिषको समूहलाई खोज्न थाले । सारा गाउँनै उठेर आएको देखेपछि अप्रिय घटना नघटोस भन्ने उद्देश्यले शिक्षकहरुले मनिषसको समूहलाई विद्यालयका कोठा भित्र बन्द गरी सुरक्षित राख्ने प्रयास गर्यो ।

विद्यालयमा आक्रोसित अभिभावकहरुको भिड बढ्दै गएपछि गाणेशपुर प्रहरी चौकीलाई खबर गरियो । उक्त चौकीबाट आएका ४÷५ जना सुरक्षाकर्मीले भिड ठेग्न नसकेपछि थप सुरक्षाकर्मी बोलाइयो । गाउँलेहरुले उमेशमाथि आक्रमण गर्ने मनिषको समूलाई बचाउने प्रयास गरेको भन्दै सुरक्षाकर्मीमाथि पनि जाई लागे । उनीहरुले गरेको ढुङ्गामुढाबाट दर्जन बढी सुरक्षाकर्मीहरु घाइते भए भने विद्यालयको कक्षा कोठामा रहेका दर्जन बढी फर्निचर तथा कम्युटर ल्यावहरु तोडफोड भए । घटनाले उग्र रुप लिनुका साथै स्थितीभन्दा बाहिर जाने देखेपछि सुरक्षाकर्मीले भिड नियन्त्रण गर्न अश्रुग्यास समेत प्रयोग गर्नु परेको गणेशपुर प्रहरी चौकी प्रमुख विष्टले बताए । घाइतेहरुको स्थानीय मेडिकलमा उपचारपछि घर पठाइएको विष्टले जनाएको छ । घाइते भएका केही सुरक्षाकर्मीहरु पनि उपचार भइरहेको उनले बताए । विद्यालयले सुरक्षाको माग गर्दै घटनामा संलग्न ५ जना विरुद्ध किटानी जाहेरी समेत प्रहरी समक्ष बुझाएको प्रधानाध्यापक कोरीले जानकारी दिए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।