ताजा अपडेट »

रुरु क्षेत्र रिडीमा १४ करोडको तीनमुखे पुल निर्माण सकिन लाग्यो

शुक्रबार, ०४ चैत्र २०७८, ०९ : ४८
101 Shares

रिडी । पवित्र रुरुधामको चर्चा यतिबेला चुलिएको छ । धार्मिक क्षेत्रको रुपमा परिचित रहेर पनि विकासले लामो समय ओझेल परेको यो क्षेत्र पछिल्ला केही वर्षदेखि यहाँ बनिरहेको एसियाकै एकमात्र तिनमुखे पुलका कारण आकर्षणको केन्द्र बन्न पुगेको छ ।धार्मिक पर्यटनका लागि प्रसिद्ध गन्तव्य बन्न सक्ने गरि रुरुक्षेत्रको रुरुधाममा यतिबेला सँरचना हरु बनिरहँदा यहाँको तिनमुखे पुलले विशेष महत्व राख्दछ ।

रिडी संगम झोलुङ्गे पुल नाम दिइएको तीनमुखे पुलको निर्माण कार्य करिब उनान्सय प्रतिशत सकिएको छ र केही दिनभित्र सकिने पुलको काम पछिल्लो पटक हेरि रहेको जलप नेपाल प्राईभेट लिमिटेडका परियोजना प्रबन्धक केदार ढुंगेलले बताए । विक्रम सम्वत २०७१ असार १० गते सम्झौता भई काम शुरु भएको यो परियोजना काम शुरु भएको मितिले एक हजार पन्चानब्बे दिनमा सम्पन्न हुनु पर्ने थियो । तर, समय यसरी लम्वियो कि करिब सात वर्षमा यो पुल सम्पन्न हुने तयारीमा छ ।

शुरुमा नयाबाटो रुबिना मना जेबीले सम्झौता गरेको यो परियोजनालाई पछिल्लो पटक जलप नेपाल प्राईभेट लिमिटेड ले लिएपछि निर्माणमा गति लिएको हो । चौध करोड छत्तिसलाख बाह्र हजार पाँचसय तेईस रुपैयाँको ईस्टिमेटको यो पुल नौ करोड अठासीलाख छब्बीस हजार तिनसय बिस रुपैयाँमा टेन्डर भई काम शुरु भएको हो ।

अघिल्लो निर्माण कम्पनीबाट २०७५ सालको श्रावण महिनामा जलप नेपालले अख्तियार नामा लिई निर्माण कार्यको जिम्मा लिएपनि कोभिडको कारण र गतवर्ष कालिगण्डकीमा आएको बाढीले निर्माणका लागि लठ्ठामा क्षति पुर्याएपछि वाध्यतावस निर्धारित समयभन्दा दुईवर्ष पछि पुल सम्पन्न हुने अवस्थामा छ ।

हाम्रो लक्ष निर्धारित अवधिमा सक्ने थियो तर प्राकृतिक विपदा कोभिड समस्याका कारण निर्माण कार्य त पछाडि धकेल्यो नै करोडौँको घाटा व्यहोर्नु पर्याे प्रवन्धक ढुँगेलको भनाई छ । पुलको पाल्पा पट्टीको काम दशैँ ताक सकिएको हो तर स्याङ्जा तिरको भागमा अत्यधिक पहिरो जानुका साथै काम गर्न समेत गाह्रो भएपनि निरन्तर को प्रयासले त्यो क्षेत्र र गुल्मी क्षेत्रमा पनि काम सकिएको छ ।

यो पुलको सँरचनामा कालिगण्डकी नदि र रिडीखोलाको सँगममा पच्चीस मिटर अग्लो टावर निर्माण भएको छ जुन नौमिटर गोलाईमा साततला रहेको छ ।यहिटावरमा बिचबाट भर्याँग राखिएको छ र माथिल्लो तलाबाट यो क्षेत्रको अवलोकन गर्न सकिने गरि भ्युटावर हुनेछ । यहि टावरबाट स्याङ्जाको किपट गुल्मीको रिडी बजार र पाल्पाको ऋषिकेश क्षेत्रमा पुग्ने गरि तिन जिल्लालाई जोड्ने गरि हरेक तिर एक सय सतहत्तर दशमलव चार मिटरका झोलुँगे पुलहरु निर्माण भएका छन । चौवालीस एमएम डाएलको चार मेन केवल सँगै स्टिल डेक र वाक वे बिम पुलमा प्रयोग भएको निर्माण कम्पनी जलप नेपाल चितवनले जनाएको छ ।

मुख्य रुपले मोटरेवल ब्रिज , सस्पेन्सन ब्रिज ,बिजुलीका स्टिल पोल ,लगाएत निर्माण गर्ने ग्याल्भनाईजिँग प्लान्ट रहेको जलप नेपाल प्राईभेट लिमिटेड ले गुणस्तरीय सामाग्री प्रयोग गर्दै घाटै सहेर पनि पुल सम्पन्न गर्ने जस लिन सफल भएको छ । पुलको उनान्सय प्रतिशत काम सकिँदै गर्दा पुल हेर्न आउने आन्तरिक र वाह्य पर्यटक पनि तेत्तिनै रुरुक्षेत्रमा खनिन थालेका छन ।

दैनिक चार देखि पाँच बस आन्तरिक पर्यटक रुरुधाममा आउँछन केही यतै वस्छन जस्ले गर्दा होटल पनि दैनिक भरिएका छन होटल क्राउन रिडीका सञ्चालक नारायण ज्ञवालीले बताए । कालिगण्डकी स्नान पछि ऋषिकेश दर्शन र त्यसपछि पुलको अवलोकन सेल्फिसँगै फोटो खिच्नेकाममा पर्यटक हरुको आकर्षण बढेको रुरुक्षेत्र १ च्यूरेकका मेघराज ज्ञवालीले जनाए ।

रुरुक्षेत्र हुँदै मुक्तिनाथ सम्म पुग्ने कालिगण्डकी करिडोर ,यहिक्षेत्र बाट मदन भण्डारी राजमार्ग ,पोखरा शुर्खेत लगाएतका क्षेत्रका साथै ढोपाटन लगाएतका पर्तटकिय क्षेत्रमा जाने सडक सँरचाना बनिरहँदा र रिडीकै कायापलट हुने गरि रुरुधाम बृहत्तर परियोजनाको निर्माण कार्य पनि जारी रहँदा रुरुधाम धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्नेमा दुईमत छैन ।–कृष्ण अन्जान

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।