ताजा अपडेट »

कालिकामा संसदीय अभ्यासः विद्यार्थीद्वारा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र सांसदको भूमिका निर्वाह

बुधबार, ०२ चैत्र २०७८, १५ : १९
6 Shares

बुटवल । कालिका मानवज्ञान मावि बुटवलका विद्याथीहरुले संसदीय व्यवस्थाको अभ्यास गरेका छन् । नेपाल कानून विद्यार्थी समाज, कालिकाको आयोजनामा नमूना संसदको अभ्यास सम्पन्न भएको हो । मुलुक संघीय गणतन्त्र अनुसार लोकतान्त्रिक प्रणालीमा सञ्चालन रहेको अवस्थामा सो बारे कानूनका विद्यार्थीलाई जानकारी लिन र अभ्यास गर्नका लागि उक्त अभ्यास गरिएको अधिवक्ता तथा शिक्षक युवराज कंडेलले बताए ।

नमूना संसदमा विद्यार्थीहरुले संसदीय व्यवस्था र पद्धतिअनुसार संसदभित्र सांसदको भूमिका निर्वाह गरेका थिए । उनीहरुले सरकार, प्रतिपक्ष, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सांसद लगाएतको परिचय, भूमिका र जिम्मेवारी निर्वाह गरेका थिए । नमूना संसदमा कानूनकी विद्यार्थी प्रशंसा पाण्डेले सभामुख,नमिता गैरेले राष्ट्रपति, आशिष पाण्डेले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका थिए।

कानूनका २ सय विद्यार्थीहरुबाट प्रतिष्पर्धा तथा चुनावबाट ३२ जना सांसद छनौट भएका छन् । नमूना संसदमा विद्यार्थी सांसदहरुले विधेयक माथि छलफल पनि गरेका थिए । सरकार पक्षद्वारा पेश गरिएको विधेयक प्रस्तुतमा विरोधदेखि पेश भइसकेपछि छलफल गर्नुका साथै शून्य समयमा पनि दुबै पक्षका सांसदद्वारा विभिन्न विषयहरुको उठान भएको थियो । त्यसैगरी सरकारपक्षद्वारा पेश गरिएको विधेयकमाथि छलफलसहित बहुमतले पारित गर्ने प्रावधान समेत नमूना संसदले पेश गरेको थियो ।

नमूना संसदमा विद्यार्थीहरुले यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने विधेयकमाथि छलफल, बहुमतद्वारा पारित,राष्ट्रपतिद्वारा प्रमाणिकरण गर्नुका साथै खानेपानी समस्या,शिक्षा नीति,सामाजिक अवस्था लगाएतका विषयहरु शसक्त रुपमा उठाएका थिए।

कार्यक्रम ‘सामाजिक उत्तरादायी तथा कानूनी व्यवसायिकताको लागि एक प्रतिवद्धता’ भन्ने मूल नारासहित स्थापित नेपाल विद्यार्थी समाज, कालिका अध्यक्ष सन्दिप पौडेल क्षेत्रीको अध्यक्षता, लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीको विशिष्ट आतिथ्यतामा भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि, सांसद श्रेष्ठले जनताको हित र आवश्यकता अनुसार नेतृत्व गर्नेहरु मात्रै वास्तविक नेता हुने बताए ।

उनले भने ‘राज्य सञ्चालन र सुशासनका लागि पद्धतिसँगै नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ । विद्यार्थीहरुले गरेको नमूना संसदमा जनताका विषयको उठान, छलफल र निष्कर्षसहित नमूना पेश गरियो । वास्तवमै नेता तथा नेतृत्वहरु इमान्दार बन्नु पर्दछ, जनताको आवश्यकता र इच्छाअनुसार शासन गर्नु पर्दछ ।अहिले नेताप्रति हेर्ने दृष्टिकोण फरक छ । धेरै नेता भएतापनि वास्तविका नेता तिनै हुन् जो शासन र जनताप्रति इमान्दार हुन्छन् ।’

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी, प्रधानाध्यापक दिनेश थापा, सल्लाहकार महेन्द्र थापा, बुटवल उपमहानगरपाकिा कार्यसमिति सदस्य मुना बराल लगाएतले बोल्दै विद्यार्र्थीहरुले प्रस्तुत गरेको नमूना संसदको प्रशंसा गर्दै नेतृत्वमा रहेका प्रदेश,संघीय संसदले पनि सोही अनुसार जनताका सरोकारका विषयमा गम्भीर छलफल गर्नुपर्ने सुझाए ।

कार्यक्रममा उत्कृष्ट भूमिका निर्वाह गर्ने तथा वक्ताहरुलाई सम्मान गरिएको थियो । जसअनुसार सभामुखको भूमिका निर्वाह गर्ने प्रशंसा पाण्डे,प्रधानमन्त्रीको भूमिका निर्वाह गर्ने आशिष पाण्डे र सांसद्को भूमिका निर्वाह गर्ने सुशिला भण्डारीलाई प्रमुख अतिथि श्रेष्ठ लगाएतले सम्मान गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।