ताजा अपडेट »

सैनामैनाका प्रत्येक नागरिकको डाटासहित डिजिटल तथ्याङ्क, घरकाे ठेगाना अब क्यूआर कोडमा

शुक्रबार, २७ फागुन २०७८, १६ : ३६
28 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले नगरका प्रत्येक घर परिवारको विवरणलाई डिजिटल माध्यममा व्यवस्थित गर्ने भएको छ । नगरका प्रत्येक नागरिकको व्यक्तिगत तथा पारिवारिक विवरणसहितको तथ्याङ्क राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

डिजिटल डाटा संकलसँगै सैनामैनाको जनसङ्ख्या, परिवार सङ्ख्या, उनीहरुको पारिवारिक अवस्था, स्वास्थ्य अवस्था, शैक्षिक तथा रोजगारीको अवस्था लगायत आर्थिक सामाजिक अवस्थाको विश्लेषणसहितको तथ्याङ्क निर्माण भएको छ । उक्त तथ्याङ्कले कुनै पनि समयमा नगरको वास्तविक स्थिती पत्ता लगाउन सहयो पुग्नेछ । यसैगरी नगरभित्र रहेका विभिन्न सामाजिक संघ–संस्था, स्वास्थ्यक केन्द्र, सुरक्षा निकाय, शैक्षिक संस्था, धार्मिक स्थलहरु लगायत सार्वजनिक महत्वका विवरण तथ्याङ्कमा समावेश गरिने भएको छ । नगरमा डिजिटल तथ्याङ्क ‘एमआईएस’ प्रणली जडानसँगै सम्पूर्ण घर तथा कार्यालयहरुका लागि गुगल म्याप पत्ता लगाउन सजिलो हुने गरी क्यूआर कोड वितरण गरिने नगर प्रमुख चित्रबहादुर कार्कीले बताए ।

प्रत्येक घर तथा कार्यालयहरुमा टासिने क्यूआर कोडले त्यहाँको ठेगाना सजिलै पत्ता लाग्नुका साथै पैदल वा सवारी साधन प्रयोग गरी त्यहाँ पुग्न लाग्ने समय, दुरी लगायतका विवरणहरु प्राप्त गर्न सकिने उनले बताए । यो प्रविधिको प्रयोगले नगरमा हुन सक्ने विपद व्यवस्थापन तथा उद्धार, योजना तर्जुमाका साथै नगरको आर्थिक तथा सामाजिक अवस्थाको विश्लेष गर्न सहज हुने नगर प्रमुख केसीले दाबी गरे ।

सैनामैनाका १५ हजार ६९२ घर परिवारको वितरण संकलन गरिसकिएको छ । क्यूआर कोड तथा त्यहाँको तथ्याङ्क संकलनले नगरको दिर्घकालिन विकासका लागि योजना तर्जुमा गर्न सहज हुने योजना प्रमुख सुरज न्यौपानेले बताए । व्यक्तिगत गोपनीयता र सुरक्षालाई मध्यनजर गरी उनीहरुको व्यक्तिगत विवरण तथा पारिवारिक विवरणहरुलाई भने नगरपालिकाले गोप्य राखिने उनले बताए । व्यक्ति तथा परिवारको सुरक्षा चुनौती र गोपनीयताको अधिकारलाई सुनिनिश्चित हुने गरी खुलाउन मिल्ने विवरणहरु सजिलै हेर्न मिल्नेगरी क्यूआर कोडमा समावेश गरिने न्यौपानेले उल्लेख गरे ।

फागुन मसान्त भित्रै तथ्याङ्कहरुको संकलन, क्युआर कोड वितरण लगायतका काम सक्नेगरी ट्राइम्याक्स आईटी इन्फाइस्टक्चर एण्ड सोलुशन प्रालिले काम गरिरहेको छ । म्याट्रिक्स बेस सिस्टममा गुगलले हरेक १ मिटरको दुरीमा जेनेरेट गर्ने कोडिङ नम्बरलाई आधार मानेर सहज हुनेगरी क्युआर कोड वितरण गरिने निर्माण कम्पनीले जनाएको छ । नगरमा थपिने अन्य घर तथा संरचनाहरुलाई क्यूआर कोड वितरण गर्नका लागि गुगोलले जेनेरेट गर्ने म्याट्रिक वेस कोडलाई सहज रुपमा रिड गर्नका लागि क्यूआर कोड वितरण गरिने कम्पनीले जनाएको छ । करिब २० लाख लागतमा तथ्याङ्क संकलन तथा प्रविधि निर्माण गर्ने गरी ट्राइम्याक्सले जिम्मा पाएको हो ।

यो प्रविधिको प्रयोगसँगै सम्पूर्ण व्यक्ति तथा परिवारको बारेमा तथ्याङ्क सङ्ग्रह गर्न २४७ वटा प्रशन तयार पारी सिस्टममा अपलोड गर्ने काम भएको निर्माण कम्पनीले जनाएको छ । प्रत्येक परिवार तथा व्यक्तिले आफ्नो बारेमा सोधिएका २४७ प्रश्नको जवाफलाई आधार मानेर तथ्याङ्क तयार हुने छ । यो प्रविधिको प्रयोगले नगरको सम्पूर्ण आर्थिक तथा सामाजिक बस्तुस्थितीका बारेमा जानकारी दिनुका साथै कर प्रणालीलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ । नगरका ११ वटै वडा तथा नगरपालिका कार्यालयमा तथ्याङ्क रहने गरी फोटोसहितको विवरण डिजिटल प्रविधिमा सङ्ग्रह गरिने छ । उक्त तथ्याङ्कका आधारमा अस्थाई रुपमा बसोबास गर्नेहरुको तथ्याङ संकलनलाई थप सहज हुने बताइएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।