ताजा अपडेट »

बुटवलमा अत्याधुनिक ट्रायल सेन्टर, व्यवस्थित बन्दै प्रयोगात्मक परीक्षा

विहीबार, ०५ फागुन २०७८, १७ : २९
16 Shares

बुटवल । यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र ‘लाईसेन्स’शाखा बुटवलको आफ्नै ट्रायल सेन्टर सञ्चालनमा आएको छ । बुटवल-१३ बेलबासमा निर्माण भएको ट्रायल सेन्टर सञ्चालनमा आएसँगै बिचौलियाहरुको बिगबिगी हट्ने दाबी गरिएको छ ।

करिब २ विगाह क्षेत्रफलमा निर्माण भएको संरचनासँगै सवारी चालक अनुमतिपत्र ‘लाईसेन्स’ वितरण प्रणाली पनि व्यवस्थित हुने भएपछि बिचौलियाहरुको बिगबिगी हराएर जाने यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा बुटवलका प्रमुख तेजनारायण यादवले दाबी गरे । प्रयोगात्मक परीक्षा ‘ट्रायल’लाई थप व्यवस्थित बनाउँदै बिचौलियाको अन्त्यका लागि कार्यालयले सेवाग्राहीहरुलाई आफैले सवारीका साधन उपलब्ध गराउने भएको छ ।

विगतमा बुटवल-११ देविनगरमा अवस्थित अर्कैको जमिनमा ट्रायल परीक्षा लिँदै आएको कार्यालयले आफ्नै संरचनामा सेवा दिन थालेपछि सेवाग्राहीहरु ठगिनबाट बच्ने अपेक्षा गरिएको छ । ‘आफ्नो संरचना नहुँदा परीक्षा सञ्चालन गर्न साह्रै गाह्रो हुन्थ्यो । सेवाग्राही बिचौलियाबाट ठगिने अवस्था पनि अत्यन्तै थियो ।’–ग्लोबल आवाजसँग कुरा गर्दै पाठकले भने, ‘परीक्षार्थीहरुले आफ्नै सवारी साधन नभएका कारण न्युनतम १ हजारदेखि ३ हजारसम्म तिरेर बिचौलियाहरुको साधन प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

अब त्यसको पनि हामीले अन्त्य गरेका छौं ।’विगतमा बिचौलियाहरुले नै ट्रायल दिने ठाउँसम्म परीक्षार्थीहरुलाई डोर्याउँदे लग्ने गरेको अनुभवन सुनाउँदै उनले अब बिचौलियाहरुको दिन गएको प्रतिक्रिया दिए । ‘बिचौलियाहरुको थोत्रो र पूराना सवारीसाधनहरु ट्रायल दिइरहेको समयमा बन्द हुने, पिकअप नलिने लगायतका कारण परीक्षार्थीहरु फेल हुने अवस्था थियो । अब त्यस्तो अवस्थाको अन्त्य भएको छ । नयाँ र भरपर्दो साधानबाट परीक्षा दिन पाउने व्यवस्था भएको छ ।’-उनले भने ।

करिब २ विगाह क्षेत्रफलमा संरचना निर्माण गरी एकै ठाउँबाट एकै साथ साना, मझौला तथा ठूला वसारी साधनका लागि प्रयोगात्मक परीक्षा सञ्चान गर्न मिल्ने बताइएको छ । लाइसेन्स शाखा बुटवल कार्यालयका प्रमुख यादवका अनुसार अब दैनिक ८ सय परीक्षार्थीले दुई पाङ्ग्रे सवारीका साधनका लागि परीक्षा दिन पाउने छन् भने साढे ३ सय बढी परीक्षार्थीले मझौला तथा ठूला सवारीका साधनका लागि प्रयोगात्मक परीक्षामा सहभागि हुन पाउने भएका छन् ।

कार्यालयको प्रत्यक्ष निगरानी तथा बिचौलियाहरुको प्रवेश निषेधले यसलाई थप व्यवस्थित बनाउने उनको दाबी छ । लाइसेन्स शाखाको कार्यालयसँगै जोडिएको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने स्थानमा सम्बन्धित परीक्षार्थी बाहेक अन्यले प्रवेश पाउने छैनन्। यसैगरी परीक्षार्थीहरुले कार्यालयले नै व्यवस्था गरेको सवारीका साधानबाट परीक्षा दिनु पर्ने व्यवस्था गरिएको छ । यदि कुनै पनि परीक्षार्थीले आफ्नै सवारीका साधनबाट परीक्षा दिन चाहेको अवस्थामा उक्त व्यक्तिलाई लिएर आउने अर्को व्यक्ति लाइसेन्स प्राप्त भएको हुनु पर्ने, सवारी कर चुक्ता गरेको हुनु पर्ने तथा अनिवार्य विमाको व्यवस्था भएको एकिन गरी उक्त साधन परीक्षाका लागि प्रयोगको अनुमति दिइने भएको छ ।

कार्यालयले गरेको नयाँ व्यवस्थासँगै विभिन्न ड्राइभिङ इन्ष्टिच्युटहरुले उपलब्ध गराउने वर्षौ पुराना र बिग्रेका सवारीका कारण परीक्षार्थीहरु अनुतिर्ण हुने समस्याको पनि समाधान हुने प्रमुख यादवको दाबी छ । नयाँ व्यवस्थासँगै प्रयोगात्मक परीक्षा उत्तिर्ण गर्नेहरुको संख्या १० देखि १५ प्रतिशतसम्म वृद्धि हुने उनको अनुमान छ । कार्यालयले टेन्डर प्रक्रिया मार्फत कम्पनीको छनोट गरी ट्रायल सेन्टर भित्रै प्रयोगात्मक परीक्षा सञ्चालन गर्नका लागि दुई पाङ्ग्रे सवारी लाइसेन्स अन्तरगत ६÷६ वटा मोटर साइकल र स्कुटरको व्यवस्था गरेको छ भने चार पाङ्ग्रे मझौला सवारी लाइसेन्स परीक्षाका लागि ६ वटा ट्याक्सिको व्यवस्था गरेको छ । श्यामसुन्दर बीएन जेभिसँग ५ वर्षका लागि सम्झौता गरिएको बताउँदै उनले ठूला तथा सवारीका साधन समेत उक्त कम्पनीले उपलब्ध गराउने भएको छ ।

सेवा ग्राहीले अब दुई पांग्रे तथा ३ पाङ्ग्रे सवारीका साधानको लाइसेन्स परीक्षाका लागि भ्याट बाहेक १९५ रुपैया बुझाएपछि सवारी साधन पाउने छन् भने ठूवा सवारीका साधनका लागि भ्याट बाहेक ४९५ रुपैया शुल्क निर्धाण गरिएको छ । सवारी उपलब्ध गराउने कम्पनीले नै परीक्षा सञ्चालनको समयमा हुने दुर्घटना बापत बिमाको व्यवस्था गर्ने छ ।

लुम्बिनी प्रदेश पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयको लगानीमा याता व्यवस्था कार्यालयको लाइसेन्स शाखा तथा सवारी दर्ता सम्बन्धि बिलबुक शाखा एकै ठाउँमा रहने गरी संरचना निर्माण भएको हो । ८० प्रतिशत बढी संरचना निर्माण भइसकेको उक्त ठाउँमा अबको दुई महिना भित्रै लाइसेन्स शाखाको कार्यालय समेत स्थानान्तरण गरिने प्रमुख यादवले बताए ।

तत्कालिन भौतिक तथा पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीको पालामा निर्माण शुरु भएको योजना निर्धारित समयअघि नै पूरा हुने दाबी गरिएको छ । हाल पर्यटन, ग्रामिण तथा शहरी बिकास मन्त्रालय अन्तरगत रहेको शहरी बिकास भवन कार्यालय रुपन्देहीका प्रमुख गोविन्द गौतमका अनुसार संरचना निर्माण भई फिनिङको काम बाँकी रहेको छ । २०७७ कार्तिक २ गते श्यामसुन्दर एण्ड बी जेभी निर्माण कम्पनीसँग भ्याटसहित ८ करोड ८७ लाख ५५ हजारमा कार्य सम्झौता भएको थियो ।

२४ महिनामा निर्माण सम्पन्न गर्नेगरी भएको सम्झौता अनुसार कम्पनीले ट्रायल सेन्टसहित लाइसेन्स शाखाको कार्यालय भवन तथा बिलबुक शाखाको कार्यालय भवन निर्माण र बाउन्ड्रिको काम अन्तिम चरणमा पुगेको छ । करिब १ विगाह क्षेत्रफलमा निर्माण भएको बिलबुक शाखा र २ बिगाह क्षेत्रफलमा निर्माण भएको लाइसेन्स शाखा एकै ठाउँमा हुँदा सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।