ताजा अपडेट »

उपयुक्त समयमा एमसीसी बारे एमालेको स्पष्ट धारणा आउँछ : उपमहासचिव ज्ञवाली

आइतबार, २३ माघ २०७८, १५ : १९
6 Shares

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले उपयुक्त समय आएपछि पार्टीले आफ्नो स्पष्ट धारणा राख्ने बताएका छन् । एमसीसी बारे संसदमा छलफल हुन पाउनु पर्ने बताउँदै उनले त्यसका लागि सभामुखले वातावरण बनाउनु पर्ने उल्लेख गरे । प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले पहिले सकार नै एमसीसी सम्झौता बारे स्पष्ट हुनु पर्ने उल्लेख गरे ।

सत्तारुढ दलभित्रै एमसीसी सम्झौता बारे दोहोरो भूमिका देखिएको भन्दै उनले यसलाई गिजोल्ने काम मात्र भएको उल्लेख गरे । जनताको चासोसँग जोडिएको विषयमा संसदमा छलफल हुनु पर्ने कुरा दोहोर्उँदै उनले संसद मै एमालले आफ्नो धारणा व्यक्त गर्ने उल्लेख गरे । सत्तारुढ दल नेकपा माओवादी केन्द्रलाई इङ्गित गर्दै उनले भने–‘एमसीसी पास गर्ने बाचासहित अमेरिकी सरकारसँग समय माग्ने तर जनतालाई एमसीसीको विरुद्धमा छौ भनेर झुक्याउने काम भएको छ ।’ एमसीसी बारे छलफल गर्नका लागि संसदमा पेस गर्नु पर्ने भएपनि सभामुखबाटै त्यसको ढोका बन्द गर्ने काम भएको उनले बताए ।

फरक प्रसङ्गमा उपमहासचिव ज्ञवालीले सरकार र न्यायलय बीच अनैतिक रुपमा राजनीतिक साँठगाँठ भएको आरोप लगाए । राजनीतिक पूर्वाग्रहले परमादेश जारी भएको कुरा पछिल्लो समय अदालतका वकिलहरु बीच भएको विवादले छर्लङ्ग पारेको उनले उल्लेख गरे । ‘श्रीमानहरु एकअर्काको कपडा च्यात्दै हुनुहुन्छ । विगतमा आएको परमादेश राजनीतिक स्वार्थको थियो भन्ने कुरा यसले स्पष्ट गरेको छ ।’–ज्ञवालीले भने । सरकारले यी विषयको हल नखोजी न्यायलयलाई अस्तव्यस्त बनाएको उनको आरोप छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार पूर्ण रुपमा असफल भइसकेको उनले बताए । मुलुकको अर्थतन्त्रका समग्र सुचकहरु नारात्मक देखिएको बताउँदै उनले आर्थिक तरलता अभाव भएको उल्लेख गरे । जनताका न्यूनतम आवश्यकताहरु पनि पूरा गर्न सरकार असफल देखिएको उनले बताए ।

सरकारले स्थानीय तहको मिति घोषणा गर्नु पर्ने एमालेको अडान राख्दै उनले विभिन्न बहाना गर्दै यसबाट भाग्य प्रयास गरिएको आरोप लगाए । ‘सरकारले निर्वाचनको मिति घोषणा गर्नु पर्छ । अन्यथा फेरि प्रधामन्त्रीको निधारमा विवादको टीका लाग्ने छ ।’–उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।