ताजा अपडेट »

‘सिङ्गो बुटवल, एक विद्यालय’ : शैक्षिक स्तर उकास्न विज्ञान प्रयोगशाला

बुधबार, १९ माघ २०७८, १८ : २७
6 Shares

बुटवल । शिक्षाको केन्द्रलाई साकार पार्नेगरी बुटवल उपमहानगरले अवधारणा ल्याएको छ । उपमहानगरका सबै विद्यालयको शैक्षिक गुणस्तर उकास्ने र समान शिक्षा लागु गर्ने उद्देश्यले सिङ्गो बुटवल एक विद्यालयको अवधारणा ल्याएको हो ।

सबै विद्यालयहरुमा भौतिक पूर्वाधार र दक्ष जनशक्तिको प्रबन्ध गर्दै, विद्यार्थीका लागि एकै खालका पोशाकको व्यवस्था गरिने उपमहानगरले जनाएको छ । शैक्षिक गुणस्तर बृद्धिको अभियान अन्तरगत अब अब्बल शिक्षक कुनै एक विद्यालयमा मात्र नभई नगरका आवश्यक पर्ने सबै विद्यालयमा पुगेर पठनपाठन गराउनुपर्ने छ । यसले शिक्षाको गुणस्तर विकासलाई प्रभावकारी बनाउने उपमहानगरका प्रमुख शिवराज सुवेदीको दाबी छ ।

शैक्षिक स्तरका वृद्धिका लागि बुटवलका सामुदायिक विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशाला निर्माण भएको उनले बताए । करीब एक करोड ५० हजार बराबरको लगानीमा विभिन्न विद्यालयहरुमा विज्ञान प्रयोगशाला र कम्प्युटर तथा सूचना प्रविधि प्रयोगशालाको निर्माण गरिएको हो । कतिपय विद्यालयमा नयाँ भवन समेत निर्माण भएको उनले बताए । यहाँका समुदायिक विद्यालयको शिक्षालाई ‘सिङ्गो बुटवल एक विद्यालय’ को अवधारणाका साथ नयाँ कार्यक्रम सुरु गरिएको उनले जानकारी गराए ।

शैक्षिक गुणस्तरको विकासबाटै दक्ष जनशक्ति उत्पादन हुने र दक्ष जनशक्तिबाटै सबल आर्थिक केन्द्र समुन्नत बुटवलको माध्यमबाट समृद्ध बुटवल निर्माणको लक्ष्य साकार पार्न सहज हुने प्रमुख सुवेदीको भनाई छ । उपमहानगरका विभिन्न सामुदायिक विद्यालयहरुमा निर्माण भएका नयाँ भवन, विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबहरुको विद्यालयहरुमा आयोजित संक्षिप्त समारोहबीच उपप्रमुख तथा अनुगमन समितिका संयोजक गुमादेवी आचार्यले उद्घाटन गरेकी छन् ।

उपप्रमुख आचार्यले व्यवहारिक, जीवनपयोगी र अब्बल शिक्षाका माध्यमबाट विभेदरहित समाज निर्माणमा जुट्ने जनशक्तिको उत्पादन हुने उल्लेख गरिन् । ल्याब तथा प्रयोगशालाको प्रभावकारी सदुपयोग गर्दै नयाँ-नयाँ आविष्कारका क्षेत्रमा चासो बढाउन विद्यार्थीहरुलाई उनले सुझाव दिइन् ।

नयाँ भवन र प्रयोगशाला
बुटवलको उजिरसिंह माविमा उपमहानगर तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको समेत गरी २५ लाख लागतमा कम्प्युटर तथा सूचना प्रविधि प्रयोगशाला निर्माण भएको छ । यसैगरी बुटवल मावि, लक्ष्मी मावि, नयाँगाउँ मावि., मोतिपुर मावि, भवानी मावि., अमर माविमा विज्ञान प्रयोगशाला र कम्प्यूटर तथा सूचना प्रविधि व्यवस्थापन कक्ष सञ्चालन भएका छन् । यसका लागि प्रति विद्यालय ६ लाख ५० हजारका दरले बजेट विनियोजन भएको थियो । सोही कार्यक्रम अन्तर्गत निर्माण भएका प्रयोगशालाको उपमहानगरका उपप्रमुख आचार्यले गरेकी हुन् ।

बुटवलकै जितेश्वरी माविमा ३० लाख लागतमा नयाँ भवन निर्माण भएको छ । बुटवल-१८ मोतिपुरमा रहेको अमर माविमा कम्प्युटर ल्याब, बुटवल-१८ मा रहेको भवानी माविमा कम्प्युटर ल्याब र दुई कोठे नयाँ भवन निर्माण भएका छन् । बुटवल-१७ मा रहेको मोतिपुर माविमा व्यवस्थित विज्ञान प्रयोगशाला अर्थात् साइन्स ल्याब निर्माण भएको उपमहानगरका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले जानकारी दिए । उपमहानगरले विभिन्न ७ सामुदायिक विद्यालयहरुलाई प्रति विद्यालय ६ लाख ५० हजारका दरले अनुदान उपलब्ध गराएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।