ताजा अपडेट »

बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति

विहीबार, १३ माघ २०७८, १७ : ३३
12 Shares

बुटवल । बुटवलको बाइपास सडक ‘कालिका पथ’ आयोजनाले एक वर्षको अवधिमा २० प्रतिशत मात्रै प्रगति हासिल गरेको छ । २४ महिनामा सक्नेगरी ठेक्का सम्झौता भएको यो आयोजनाले आधा अवधि सकिँदा एक चौथाई मात्रै काम सम्पन्न गरेको हो ।

लुम्बिनी प्रदेश सरकारको आयोजनामा निर्माणको जिम्मा पाएको विरुवा, कालिगण्डकी, सिद्धार्थ जेभीले भ्याटसहित १५ करोड ९१ लाख ९९ हजारमा निर्माणको जिम्मा पाएको हो । आयोजना समयमै सम्पन्न हुनेमा स्थानीयले आशंका गर्न थालेका छन् । पछिल्लो समय केही गती लिने मेसो गरेको यो आयोजना विश्वव्यापी कोरोना महामारी तथा ओमीक्रोनको त्राससँगै फेरी सुस्ताएको छ । बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्ग तथा पुर्व–पश्चिम राजमार्गपछि व्यस्त रहने यो सडक निर्माणमा भएको ढिलाइले यात्रु तथा स्थानीयले दैनिक सास्ती खेप्नु परेको छ । हल्का वर्षामै हिलाम्य तथा घाम लाग्नसाथ धुलाम्य हुँदा दैनिक आवागमन गर्ने तथा सडकसँग घर–जग्गा जोडिएर रहेका बासिन्दाले सास्ती खेप्नु परेको हो ।

लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत रहेको सडक पूर्वाधार विकास कार्यालयले यो आयोजना हेरिरहेको छ । आयोजनाका साइड ईन्चार्ज श्याम श्रेष्ठका अनुसार कालिका पथको सडक निर्माण अन्तरगत हालसम्म होराइजन चोकदेखि होराइजन स्कूलसम्म बेसको काम पूरा गरी पिजका लागि तयार पारिएको छ । यसैगरी शिवपथमा पनि सय मिटर आरसीसी ढलान सम्पन्न भएको छ । आयोजना अन्तरगत १ हजार ७० मिटर सडकमा सब बेस तथा बेसको काम भएको छ भने तिनकुनेदेखि कालिका मन्दिरसम्म एक साइडमा मात्रै सव ग्रेडको काम सम्पन्न भएको छ ।

यसैगरी सडकको डिजाइन अनुसार होराइजन चोक र तिनकुनेमा २ वटा स्ल्याब कल्भर्ट निर्माण सम्पन्न भएको श्रेष्ठले जानकारी दिए । हालसम्म भएको यी प्रगतिहरुलाई आधार मन्ने हो भने अबको एक वर्षमा काम सम्पन्न गर्न मुस्किल हुने देखिन्छ । श्रेष्ठले भने बीचमा कुनै अवरोध नभएको खण्डमा एक वर्षमै योजना सम्पन्न गरिने दाबी गरे । आयोजनाको प्रगति बारे कुरा गर्न खोज्दा निर्माण कम्पनीका प्रतिनिधि धनबहादुर खत्रीले भने कुरा गर्न चाहेनन् ।

झिनामसिना अबरोध र प्राविधिक समस्या कायमै
योगिकुटीदेखि पुरानो बसपार्कसम्मको वाइपास सडक निर्माणका क्रममा सडक अधिकार क्षेत्र भित्रका संरचना हटाउने विषय तथा सडकसँगै बन्ने नाली, फुटपाथ लगायतका आयोजनासँग तालमेल नमिल्दा आयोजना थप ढिलाई हुने देखिएको छ । आयोजनाका साइड इन्चार्ज स्याम श्रेष्ठका अनुसार सडक अधिकार क्षेत्रभित्र रहेका केही टहरा, मन्दिर, विद्युत पोल लगायतका संरचना व्यवस्थापनको विषयमा कुरा नमिल्दा समस्या देखिएको छ ।

‘सडक अधिकार क्षेत्रमा रहेका केही संरचनाहरुका कारण निर्माण कम्पनीलाई बहाना गर्ने बाटो खुलेको छ ।’-ग्लोबल आवाजसँग कुरा गर्दै श्रेष्ठले भने ‘बुटवल-९ इट्टाभट्टिमा अवस्थित एक मन्दिर तथा प्रदेशसभा भवन अघि रहेका केही टहराहरु समयमै हटाउन नसक्दा समस्या देखिएको छ ।’ ती संरचनाहरु हटाउनका लागि स्थानीय जनप्रतिनिधि, बुटवल उपमहानगरपालिका तथा प्रदेश सरकारसँग पनि छलफल भइरहेको उनले बताए । यसैगरी कालिकापथ अन्तरगत पर्ने होराइजनचोकदेखि योगिकुटीसम्म रहेका ५ वटा हाइटेन्सन विद्युत लाइनका पोल पनि सडकका लागि टाउको दुखाईको विषय भएको छ ।

राष्ट्रिय प्रसारण लाइनको उक्त विद्युत पोलहरुले बीच भागमा ठूलो ठाउँ ओगट्ने भएपछि सडक साँघुरो र कुरुप पनि देखिने श्रेष्ठले बताए । उक्त क्षेत्रहरुमा सडक फराकिलो बनाउने अन्तिम बिकल्पका रुपमा विद्युत पोलको पाउण्डेसन क्षेत्र घेरेर उठाइएका पर्खाललाई दायाँ–बायाँबाट कटिङ गर्न सकिने उनले उल्लेख गरे । यसरी दुईतर्फका वाललाई साँघुरो बनाउनका लागि नेपाल विद्युत प्राधिकरण योगिकुटी ग्रिडले लिखित रुपमा सहमति नदिँदा समस्या भएको उनले बताए ।

‘विद्युत पोलको दायाँ–बायाँको भाग काटेर सडक फराकिलो बनाउने गरी विद्युत प्राधिकरणसँग मौखिक सम्झौता भए पनि लिखित सम्झौता नहुँदा समस्या आएको छ ।’, उनले अघि थपे–‘राष्ट्रिय प्रशारणको त्यति ठूला विद्युत पोलको संरचना परिवर्तन गर्नेगरी सडक निर्माण गर्दा उनीहरुले लिखित सहमति नदिएसम्म हामीले त्यसै अघि बढ्ने कुरो भएन ।’ विद्युत प्राधिकरणले उक्त क्षेत्रमा रहेका पोलको विकल्पमा मोनापोल राख्ने योजना बनाएको भएपनि उक्त योजना लागू हुन अझै २/४ वर्ष लाग्ने देखिएको उनले बताए ।

बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले भने उक्त क्षेत्रमा रहेका विद्युत पोल हटाउनका लागि बजेटको व्यवस्था भैसकेकाले यसको विकल्प खोज्ने काम भइरहेको बताए । ‘हामीले आवश्यक बजेटको व्यवस्था गरिसकेका छौं, यो काम अघि बढाउने विद्युत प्राधिकरणले हो ।’-रेग्मीले भने, ‘तत्कालै यो सम्भव नभए पनि यसलाई त्यहाँबाट हटाउने भन्ने कुरा छ ।’

सडक क्षेत्रभित्र रहेको बुटवल-९ मा अवस्थित मन्दिर तथा प्रदेशसभा अघि रहेका व्यक्तिका संरचना हटाउने कुरा भइरहेको उनले बताए । उक्त क्षेत्रमा निर्माणको काम अघि बढ्नासाथ व्यक्तिले निर्माण गरेका सम्पूर्ण संरचनाहरु तत्काल हटाइने तथा मन्दिर स्थानान्तरणका लागि पनि आवश्यक बजेटको व्यवस्था भइसकेको उनले उल्लेख गरे ।

सडक निर्माणसँगै दायाँ–बायाँ निर्माण गरिने पुथपाथ तथा नाली निर्माणको आयोजना बीच पनि तालमेल नभएको पाइएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा भवन निर्माण अन्तरगतको कार्यालयबाट भइरहेको नालि तथा फुथपाथ निर्माणको ढिला सुस्तिले पनि सडक निर्माणमा समस्या देखिएको आयोजनाको आरोप छ । नाली र फुथपाथपछि बन्ने ‘भि-सेभ’देखि भित्रमात्रै सडक पूर्वाधार विकास कार्यालयले निर्माणको काम गर्ने जिम्मा पाएको छ । यसरी एउटै सडकमा पनि फरक-फरक कार्यालय तथा निर्माण कम्पनीले गर्दा तालमेल मिल्न सकेको देखिँदैन । नालि निर्माणको जिम्मा पाएको भौतिक पूर्वाधार तथा भवन निर्माण कार्यालय इन्जिनियर प्रदिप घिमिरेले भने काम गर्ने क्रममा दुई आयोजना बीच केही–केही विषयमा तालमेल नमिले पनि आफूहरुबाट ढिलासुस्ति भने नभएको दाबी गरे । नालि तथा पुथपाथको काम एसकै, पर्वतीय जेभिले गरिरहेको छ । भ्याटसहित साढे ४ करोडमा सम्झौता भएको नालि मिलाउने तथा पुथपाथको काम आगामी करिब ५० प्रतिशत सकिएको छ ।

होराइजनचोकभन्दामाथि २५ मिटर फराकिलो सडकको डिजान भएको कालिकापथको होराइजनचोकदेखि योगिकुटीसम्म भने १७ मिटरको मात्रै छ । विद्युत पोल तथा योगिकुटी नजिकै रेको नहरका कारण त्यस क्षेत्रमा डिजाइन अनुसारको १७ मिटर सडक क्षेत्र पनि नपुग्नेदेखिए छ । योगिकुटी नजिक रहेको नहरले सडकको भाग नपुग्ने भएपछि यसको ‘रि-डिजान’ गर्न लागिएको आयोजनाका साइड इन्चार्ज श्रेष्ठले बताए ।

कालिका मन्दिरदेखि नेपालजञ्ज रोडसम्मको सडक अझै अन्यौलमा
कालिकापथ बाइपास सडक अन्तरगतको कालिका मन्दिरदेखि उत्तरतर्फ नेपालगञ्ज रोडसम्मको जग्गा व्यवस्था अझै हुन सकेको छैन । उक्त क्षेत्रमा बन्ने २ सय मिटर सडकका लागि आवश्यक पर्ने जग्गा र सडक कसरी बनाउने भन्ने बारेमा हालसम्म टुङ्गो लागेको छैन ।

सडकको पुर्वतर्फ रहेको सिन्दुर होटलले जग्गा नदिने तथा पश्चितर्फको जग्गा प्रयोग गर्दा त्यहा रहेको एक विद्यालय नै सखाप हुने भएपछि यसको विकल्प बारे छलफलले अझै निचोड लिन सकेको छैन । बुटवल उपमहानगरका प्रवक्ता रेग्मीले भने यसका लागि विकल्प तयार भैसकेको र कालिका मन्दिरभन्दा तलको काम सकिने वित्तिकै साइड क्लियर हुने दाबी गरे । उक्त क्षेत्रको टुङ्गो नलाग्दा बाइपास सडकनै ‘हात्ति छिर्यो पुच्छर अड्कियो’-भने जस्तै हुने हो की ?

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।