ताजा अपडेट »

महामारी बीच होटल व्यवसायमा उत्साह कायमै, तारे होटलको संख्या बढ्दो

मंगलबार, ११ माघ २०७८, १३ : २४
6 Shares

बुटवल । केही वर्षअघिसम्म बुटवलमा स्तरीय होटल खासै थिएनन् । औलामा गन्न सकिने होटलहरुले नै यहाँ आउने पर्यटकहरुलाई स्वागत गर्ने गर्थे । नेपालगञ्ज रोडमा रहेको सिन्दुर होटल यहाँको स्तरीय र विशिष्ट अतिथिहरु बस्ने होटलका रुपमा परिचित थियो ।

यसैगरी इट्टाभट्टी लाइनमा रहेको होटल न्यू इरा, अस्पताल लाइनमा रहेको होटल सयपत्री (हाल मैत्री पथ आफ्नै भवनमा सञ्चालन भइरहेको ), अस्पताल लाइनमै रहेको होटल सौगात (हाल ट्राफिक चोक आफ्नै भवनमा सञ्चालनमा रहेको ), ट्राफिक चोकको पोखरा बसपार्क लाइनमा अवस्थित होटल गण्डकी र रामनगर लाइनमा रहेको होटल गौचन यहाँका नामी र स्तरीय होटलहरु मध्येका थिए । विभिन्न कार्यक्रमको लागि बुटवल आएका कतिपय पाहुना बास बस्न लुम्बिनी जानु पर्ने बाध्यता थियो ।

समयक्रमसँगै बुटवलमा होटल व्यवसायको स्तर र परिचय परिवर्तन भएको छ । बुटवल बजारभित्र सामान्यदेखि तारे स्तरका सेवा सुविधासहित होटल तथा रेष्टूरेण्टहरु खुलेका छन् । धमाधम स्तरीय होटल तथा रेष्टुरेन्टहरु खुल्ने क्रममालाई विश्वव्यापी कोरोना महामारीले समेत रोक्न सकेन । कुनै समय ठूला कार्यक्रम तथा गोष्ठीहरु सञ्चालन गर्नका लागि होटल पाउन मुस्किल हुने बुटवलमा दैनिक रुपमा सभा गोष्ठीहरु सञ्चालन गर्न मिल्नेगरी प्रसस्त ठाउँ पाउन सकिने भएको छ ।

नयाँ खुलेका सबैजसो होटलमा डिलक्स, सुपर डिलक्स, स्वीट रुमहरु छन् भने पूराना होटलहरुले पनि आफ्नो सुविधालाई स्तरोन्नति गरिरहेका छन् । बुटवलमा होटलहरु थपिने क्रम पनि तीब्र छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमका अनुसार पछिल्लो २ वर्ष यता विश्वव्यापी कोरोना महामारीका बीच पनि रुपन्देहीमा १ दर्जन बढी तारे स्तरका होटलहरु सञ्चालनमा आएका छन् । यसैगरी स्तरीय तथा सुविधासम्पन्न करिब २ सय नयाँ होटल व्यवसाय सञ्चालनमा आएका छन् । हाल रुपन्देहीमा २५ सय बढी होटल व्यवसाय संघमा आवद्ध रहेका छन् ।

बुद्धजन्मस्थल लुम्बिनी र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी रुपन्देहीमा तारे होटलहरु खुल्ने क्रम जारी नै छ । अध्यक्ष गौतमका अनुसार अन्तर्राष्ट्रिय विमान स्थल पूर्ण रुपमा सञ्चालनमा आएको खण्डमा यहाँ होटल व्यवसायले थेग्न नसक्ने अवस्था अझै पनि कायम रहेको छ । कोरोना महामारीले होटल क्षेत्रमा भएका अर्बौ लगानीलाई नराम्ररी प्रभाव पारेको गुनासो गर्दै उनले यसको उत्थानका लागि सरकारले आवश्यक नीति बनाएर लागू गर्नुपर्ने उल्लेख गर्छन् ।

उनका अनुसार पछिल्लो २ वर्षको अवधिमा मात्रै अनुमानित ५ अर्ब बढी लगानी यस क्षेत्रमा थपिएको छ । रुपन्देहीका ठूला–साना ४ हजार बढी होटल तथा रेष्टुरेन्ट व्यवसायमा २५ अर्बबाट बढेर ३० अर्ब बढी लागनी भएको छ । यसैगरी यस क्षेत्रमा १० हजार बढीले प्रत्यक्ष रोजगारी पाइरहेको उनको दाबी छ ।

बुटवलको कालिका पथमा तारे होटलदेखि डान्सबारसम्म
बुटवलको राजमार्ग चौराहदेखि पुष्पलाल पार्कसम्म रहेको मूख्य राजमार्गको बाइपास सडकका रुपमा रहेको कालिका पथ होटल तथा रेष्टूरेण्टको हबका रुपमा बिकसित हुँदै गएको छ । यस क्षेत्रमा सामान्य चियापसलदेखि स्तरीय सुविधासहितका तारे होटलहरु समेत पाहुनाको पर्खाइमा रहने गर्दछन् ।

नयाँ बसपार्क पछाडि इट्टाभट्टीदेखी तिनकुने, होराइजन चोक हुँदै योगिकुटीसम्मको कालिका पथमा सञ्चालनमा आएका होटल, रेष्टुरेन्ड तथा डान्स बारहरुले यहाँको चहलपलनै फेरिएको छ । इट्टाभट्टिमा रहेको होटल सिन्दुर, न्यू ईरा, डार्सिज, पार्क प्लाजा, होटल सिद्धार्थ, क्लब डेनोभो,महामाराजा सिसोर्ट जस्ता गुणस्तरीय होटलहरु र लाइम एण्ड लेमन, स्पाइस, रिफ्रेस, चौतारी, डल्ले, ड्याडिज किचन, कन्सेप्ट, टोकरी, मगर्स किचेन लगायत दर्जनौ होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् । दर्जन बढी होटल तथा रेष्टूरेण्टहरु सञ्चालनका लागि भौतिक संरचना निर्माणको काम भइरहेका छन् ।

यस क्षेत्रमा पछिल्लो केही वर्षमा मात्र सयबढी होटल तथा रेष्टुरेन्ट थपिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गौतमले बताए । कालिका पथ क्षेत्रमा एक दर्जन बढी लाइभ म्यूजक बारहरु छन् भने अरु सुविधा सम्पन्न रेष्टुरेन्टहरु खुलेका छन् । सामान्य बोलिचालीका भासामा मानिसहरुले यसलाई काठमाण्डौंको ठमेलसँग पनि तुलना गर्न थालेका छन् । पछिल्लो समयमा एलओडी नाइट क्लब सञ्चालनमा आएपछि सो क्षेत्रमा चहल पहल थप बढेको छ । त्यसैगरी नजिकै सञ्चालनमा आएको खस्यौली रोधीघरले पनि लोकगीतका पारखीहरुलाई पनि टाढा जान नपर्ने भएको छ ।

बुटवलको मिलनचोकमा होटल पाम सञ्चालनमा आएको छ । ४२ वटा रुमसहितको यस होटलले ४ तारे स्तरको सेवा सुविधासहित सञ्चालनमा आएको महा प्रबन्धक नारायण पौडेलले दाबी गरे । यस होटलमा सुपसर डिलक्स, मिनि डिक्स तथा स्वीट रुमसहित रेष्टुरेन्ट तथा रुफटप रेष्टूरेण्टको समेत सुविधा रहेको छ । होटल सिद्धार्थ कटेज, अम्रपाली कटेज, एसिएन पार्टी प्यालेस, महाराजा रिसोर्ट, अम्रपाली कटेजलगायतका होटल तथा पार्टी प्यालेसहरुहरु प्रायः व्यस्त भैरहनेमा पर्दछन् ।

रुपन्देहीमा क्यासिनोसहितका तारे होटल
क्षेत्रमा मात्रै होइन रुपन्देहीका लुम्बिनी, भैरहवा, तिलोत्तमा, बेलहियालगायतका क्षेत्रमा सुविधासम्पन्न नयाँ होटल खुल्ने क्रम जारी छ । लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरेर होटल व्यवसायमा लगानी थपिएको छ व्यवसायीहरु बताउँछन् । तिलोत्तमामा पाँचतारे टाईगर प्यालेस रिर्सोट सञ्चालनमा आएको छ । ५ अर्बबढी लगानीमा क्यासिनोसमेत रहेको यो रिर्सोट पश्चिम क्षेत्रकै पहिलो पाँचतारे रिर्सोट हो ।यो रिर्सोटमा १ सय ५० बढी कोठा छन् । रिर्सोटमा आधुनिक क्यासिनो, रेष्टुरेन्ट, कन्फ्रेन्स हल, हेल्थ क्लबलगायतका सुविधा छन् ।

यसैगरी तिलोत्तमाकै मणिग्राममा सञ्चालनमा रहेको होटल ड्रिम ल्याण्ड गोल्ड रिसोर्टले मिनि क्यासिनो सञ्चालनमा ल्याएको छ । ४ तारे स्तरको यो होटलमा सुविधासम्पन्न कोठाहरुसहित स्वीमिङ पूल, रेष्टुरेन्ट तथा बार रहेको होटल सञ्चालक गोपाल राना बताउँछन् । उनैको लगानीमा बुटवलको कालिका पथमा केही समयअघि ड्रिम इन्टरनेश्नल होटल सञ्चालनमा आएको छ । जहाँ डिलक्स तथा स्वीट रुमहरुसहित सुविधासम्पन्न रेष्टूरेन्ट सञ्चालनमा रहेको छ । भैरहवाको होटल बोधी रेडसनले पनि स्तरवृद्धि गरेर पाँचतारे स्तरमा पु¥याएको छ । १ सय ६ वटा कोठा रहेको रेडसनले पर्यटक तान्न कोठामा तापमान अत्याधिक भएमा पानी फाल्ने प्रविधि (फायर फाईटिङ) जडान गरेको छ । एकैसाथ २ सय भन्दा बढीले बास बस्न सक्ने रेडसनले सबै सुविधा पाँचतारे स्तरमा पु¥याएको महाप्रबन्धक अमृत खनाल बताउँछन् ।

लुम्बिनी क्षेत्रमा पवन प्यालेस इन्टरनेशनल सञ्चालनमा छ । यसमा १ सय ५० कोठा, ३ रेष्टुरेन्ट, कफीसप, २ वटा कन्फ्रेन्स हल, स्वीमिङ पुल, हेल्थ क्लब, स्पा, मेडिटेशन हलको व्यवस्था गरिएको छ । लुम्बिनी क्षेत्रमा यसबाहेका दर्जनौ तारे स्टरका होटलहरु रहेका छन् । लुम्बिनीमा जापानी नागरिक नोर्बु कासाईको लगानीमा रहेको लुम्बिनी होटल कासाईले स्तरवृद्धि गरेको महाप्रबन्धक विनेश मानन्धरले बताए । लुम्बिनीकै होटल होक्के, भैरहवाको निर्भाणा होटलले स्तरवृद्धि गरेका छन् । लुम्बिनीमा मात्रै एकैदिन ३ हजार बढी पर्यटक बास बस्न सक्ने भएका छन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।