ताजा अपडेट »

गड्यौली मलको व्यवसायिक उत्पादनतर्फ सैनामैनाका कृषक

मंगलबार, ०४ माघ २०७८, १९ : ३२
22 Shares

बुटवल । रुपन्देहीको सैनामैनाका कृषकहरु गड्यौली मल उत्पादनतर्फ आकर्षित भएका छन् । अर्गानिक मल उत्पादनलाई नगरपालिकाले समेत प्राथमिकता दिन थालेपछि यसतर्फ आकर्षण बढेको हो ।

सैनामैना–८ का स्थानीय गुणानिधि अधिकारीले गड्यौली मल उत्पादन गरी बिक्री गर्न थालेपछि यसैको सिको गर्दै मल उत्पादनमा लाग्ने कृषकको संख्या करिब २ दर्जन पुगेको छ । ४ वर्ष अघि अध्ययन भ्रमणका क्रममा भारतको तमिलनाडुमा रहेको एक कृषि फर्ममा देखेको कुरालाई प्रयोग गरेका अधिकारीले यसको व्यवसायिक सम्भावना प्रवल रहेको उल्लेख गर्छन् ।

व्यवस्थित खाल्डो बनाएर उक्त खाल्डोमा गोबर, पराल तथा अन्य पातपतिङ्गर हालेर गड्यौलालाई खुवाएर तयार पारिने मललाई गड्यौली मल भनिन्छ । आफूले देखेको सीपलाई नेपालमा प्रयोग गर्दा सफलभएपछि यसतर्फ अन्य कृषकहरु पनि आकर्षित हुने गरेको उनी बताउँछन् । सुरुमा करिब ७० हजार लगानी गरी आफ्नै खेतमा ३ वटा सिमेन्टको पक्की खाल्डो बनाएर मल उत्पादनका लागेका अधिकारले वार्षिक २० क्वीन्टल मल उत्पादन गर्ने गरेको बताउँछन् ।

सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा थप ३ वटा प्लाष्टिकको खाल्डो बनाएर मल उत्पादनमा लगोका छन् । ‘सुरुमा यसरी मल उत्पादन गर्दा गाउँलेहरुले मलाई पागल हुन लागेको भनेर जिस्क्याउने पनि गरे ।’– चार वर्ष अघिको कुरा सुनाउँदै उनले भने, ‘गड्यौलालाई मल खुवाएर कसरी मल उत्पादन हुन्छ ? भन्ने गाउँलेका जिज्ञासासँगै आफूलाई पनि केही नयाँ गर्ने सोचले यसको महत्व बारे बुझाउन सफल भएको छु ।’ सङ्जाबाट २ कलिो गड्यौला किनेर मल उत्पादनमा लागेका उनले अन्य कृषकको पनि साथ पाउने भएपछि यसलाई थप व्यवस्थित बनाएर योजना बनाएका छन् ।

यसैगरी सोही ठाउँका अर्का कृषक सागर लम्सालले पनि गड्यौली मल उत्पादनमा लागेका छन् । यसको व्यवसायीक उत्पादन गरी कृषकहरुलाई यसको फाइदाका बारेमा जानकारी गराउन सकेमा सफल हुने देखेपछि यसतर्फ आकर्षित भएको उनले बताए ।
सैनामैना नगरपालिका, सेतोगुँरास लगाएतका संघ–संस्थाहरुको सहयोगमा आवश्यक तालिम लिएर ८ वडा खाल्डो तयार पारी उनले मल उत्पादन गरीरहेका छन् । भविष्यमा एग्रो टूरिजम रिसोर्ट सञ्चालन गर्ने लक्ष्य रहेको बताउँदै उनले अर्गानिक खेतीका लागि गौड्यौली मल उत्तम रहेको उल्लेख गरे।

६ महिनाअघिदेखि उत्पादन भएको मल आफ्नै खेत बारेमा प्रयोग गर्दै आएका उनले अब भने व्यवसिक रुपमै यसको उत्पादन गरी विक्रि गर्ने योजना बनाएका छन् । सैनामैनामा गड्यौली मल उत्पदान गर्ने कृषकहरुको समूह गठन गरी नगरपालिकाले वितरण गर्ने रासायनिक मलसँगै आफूहरु उत्पादन गरेको मललाई समेत प्राथमिकता दिनु पर्ने उनीहरु बताउँछन् । सैनामैना नगरपालिकाले उनीहरुले उत्पादन गरेका मल विक्रिका लागि बजार उपब्ध गराउन सहयोग गर्ने भएपछि थप सम्भावना बढेर गएको कृषकहरुको भनाई छ ।

प्रशस्त मात्रामा गड्यौली मल उत्पादन गर्न सकेमा यसको ब्यवसायिक रुपमा बजारीकरण गरी आयआर्जन गर्न सकिने बताउँदै सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले यसका लागि नगरपालिका तयार रहेको उल्लेख गरे । कृषिको औजारिकरण र आधुनिकीकरणसँगै अर्गानिक उत्पादनलाई समेत जोड दिँदै कृषकहरुलाई आवश्यक अनुदान, सीप तथा क्षमता बिकासका साथै उत्पादनको बजार सुनिश्चितताका लागि काम भइरहेको उनले बताए ।

बिस्तारै रासायनिक मलको प्रयोगलाई कम गर्दै जानु पर्ने सैनामैनाका कृषि शाखा प्रमुख सिर्जना खनाल सुबेदीले बताउँछन् । रासायनि मल र विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारत्मक असर पुर्याउने भएकाले स्वास्वास्थ्यका हिसाबले पनि गड्यौली मलको महत्व बढ्दै गएको उनले बताए ।

केही दिन अघि सैनामैनाका ३० जनालाई गड्यौली मल उत्पादन तथा बजारीकरण सम्बन्धी २ दिने स्थलगत तालिम समेत सञ्चालन गरिएको छ । गड्यौली मलको हाल बजार मुल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ । उत्पादित मलको मूल्य समायोजन तथा यसलाई वैधानिक मान्यता प्राप्त हुने हो भने थप सहज हुने मल उत्पादनकहरुको भनाई छ । यसैगरी उत्पादित मलमा प्राप्त हुने तत्वहरु, खेती तथा स्वास्थ्यमा हुने फाइदा लगाएतका प्राविधिक ज्ञान कृषकहरुलाई जानकारी गराउनका लागि सरकारले सहयोग गर्नुपर्ने उनीहरुले बताएका छन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।