ताजा अपडेट »

५ अर्बको तिलोत्तमा रेल परियोजना: लगानीकर्ता नै छैनन् विश्वस्त

मंगलबार, २७ पुस २०७८, १७ : २०
30 Shares

बुटवल । रुपन्देहीको तिलेत्तमा नगरपालिकामा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित ट्राम रेल सञ्चालनको योजना अघि सारेको दुई वर्षमा डिपिआर अन्तिम चरणमा पुगेको छ । निजी साझेदारीमा सञ्चालन गर्नेगरी सेयर पूँजी संकलनको काम भइरहेपनि लगानीकर्ताहरु भने विश्वस्त हुन सकेका छैनन् ।

तिलोत्तमाका विभिन्न ठाउँलाई जोड्नेगरी करिब ५० किलोमिटर रिङरोडमा रेल सञ्चालन गर्नेगरी वृस्तित अध्ययन प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । २०७७ पौष ६ गते तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले योगिकुटीमा रिबन काटेर सुरु गरिएको यो परियोजना कोरोना महामारी तथा लगानी जुटाउने कुराले सकस देखिएको हो । रेल सञ्चालनका लागि स्थापित तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडले आगामी फागुनदेखि नै काम सुरु गर्नेगरी डिपिआरको काम अन्तिम अवस्थामा आइपुग्दा पनि लगानीकर्तालाई यस बारे बुझाउन नसक्दा समस्या देखिएको छ ।

तिलोत्तमाले २०७६ असोजमा आयोजना गरेको लगानी सम्मेलनमा कम्पनीले रेल सञ्चालनका लागि नगरपालिकासँग सम्झौता गरेको थियो । सोही वर्षको पौष २५ गते नगरपालिकाबाट विस्तृत सर्वेक्षण गर्नका लागि स्वीकृत प्राप्त गरेलगत्तै कम्पनीले कामलाई अघि बढाएको थियो । तिलोत्तमा नगरसँगै गौतमबुद्ध बिमानस्थल, लुम्बिनी र बुटवल लगायतका ठाउँलाई समेत समेट्नेगरी रेल सञ्चालन गर्ने कम्पनीको दिर्घकालिन सोच भए पनि सुरुमै लगानी कर्तालाई विश्वास दिलाउन भने सकस देखिएको छ ।

हाल ५०१ जना सेयर सदस्य रहेको कम्पनीले लगानी थप गर्नका लागि कम्तिमा एक लाख रुपैयाँका दरले नयाँ सेयर लगानी आह्वान गरेको छ । यसैगरी सरकारी क्षेत्रसँग समेत लगानी जुटाउनका लागि आग्रह गरिएको कम्पनीका सचिव डिल्लीनारायण पाण्डे बताउँछन् । ‘रेल भन्ने बित्तिकै मानिसहरुमा हाउगुजि भएको छ, यो सञ्चालन गर्ने कुरा त्यति ठूलो होइन । लगानी बढी लाग्ने मात्रै हो ।’-पाण्डेले भने, ‘लगानीका लागि सरकारसँग पनि आग्रह गरेका छौं, यदी त्यसो हुँदैन भने पनि अनुदान माग गरेका छौं ।’लगानी बढाउनका लागि कम्पनीको प्रथम साधारणसभा तथा अधिवेशनपछि बसेको बैठकले सेयर सदस्य थप गर्ने निर्णय गरेको उनले बताए ।

डेढ करोड लागतमा डिपिआर निर्माणको काम भइरहेको रेल परियोजना यहाँका लागि नौलो अभ्यास हुनुका साथै रेल सञ्चालन गर्न आवश्यक भौतिक संरचनाका विषयले पनि लगानीकर्ताहरुलाई आसंका उब्जाएको हो । रेल सञ्चालन गर्नका लागि गरिएका सम्भाव्यता अध्ययन तथा अवसर र चूनौतीका बारेमा कम्पनीले उनीहरुलाई प्रष्टसँग बुझाउन आवश्यक रहेको कम्पनीका सञ्चालकहरुले नै बताउने गरेका छन् ।

सेय सदस्य संगीता गौतम अर्यालले लगानीकर्ताहरु आफ्नो लगानी सुरक्षाको विषयलाई लिएर चिन्तित रहेको बताइन् । कम्पनीले यसका बारेमा बुझाउन नसक्दा लगानीकर्ताहरुले हात झिक्ने स्थिति आउन सक्नेतर्फसमेत उनले सचेत गराइन् । कुनै पनि क्षेत्रमा लगानी गर्दा नाफा घाटा स्वभाविक भएको बताउँदै उनले रेल सञ्चाल गर्ने कुरा असम्भव भने नभएको उल्लेख गरिन् ।

अर्का सेयर सदस्य तेजनारायण गैरेले रेल सञ्चालनका लागि लगानी थप गर्नु पर्ने भएकाले लगानीकर्ताहरुलाई उत्साह जगाउन आवश्यक रहेको बताउँछन् । लगानी सुरक्षित हुने अवस्था बारे बुझाउन नसक्दा समस्या भएको उनले उल्लेख गरे । रेल सञ्चालन गर्ने विषयमा सकारात्मक र सहयोगी देखिँदै आएका तिलोत्तमाका मेयर बासुदेव घिमिरेले यहाँ सञ्चालन हुने रेलले निजी क्षेत्रबाट पनि रेल सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश जाने उल्लेख गरेका छन् । तिलोत्तमामा गुड्ने रेलले सरकारलाई समेत रेल सञ्चालनका लागि दबाब सिर्जना गर्नसक्ने उल्लेख गरे।

नगरपालिकाले आवश्यक सहयोग र सहजीकरणका लागि तयार रहेको उल्लेख गर्दै उनले सोही अनुसार रिङरोड निर्माण गर्ने क्रममा समेत रेल परियोजनाका लागि जग्गा व्यवस्था गरिएको बताए । नगरमा बन्ने नयाँ भौतिक परिजना निर्माण गर्ने विषयमा समेत भविष्यमा रेल्वे सञ्चालन गर्दा असर नपर्नेगरी शहरको डिजाइन तथा नक्सा पासका कामहरु भइरहेको उनले बताए ।

यस्तो छ पाँच अर्ब लागतको रेल्वे परियोजना

करिब ५ अर्ब २ करोड लागतमा तिलोत्तमाका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्र तथा सबै वडाहरुलाई समेट्नेगरी ४८ दशमलव ५ किलोमिटर लामो रेल्वे निर्माणको परियोजना अघि बढेको छ । पर्यटन लक्षित यो रेल सञ्चालनले यहाँको पर्यावरणलाई समेत असर नगर्नेगरी संरचनाको परिकल्पना गरिएको छ ।

१ करोड ४९ लाख ७० हजार २४० रुपैयाँ लागतमा डिपिआर निर्माणको जिम्मा पाएको मुन स्टार इन्जिनियरिङ्ग प्रा.लि.ले ८५ प्रतिशत बढी काम भइसकेको जनाएको छ । प्रा.लिका टेक्निकल बिभाग प्रमुख बिशाल केसीका अनुसार तिलोत्तमामा ८ वटा रेल एकसाथ सञ्चालन गर्नेगरी डिपिआरको काम भएको छ ।

प्रतिघण्टा २५ देखि ४० किलोमिटरको गतिमा गुड्ने यो रेल द्रुत यात्राका लागि भन्दा पनि धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्दै यात्रा गर्न मिलोस् भनि कम गतिको हुने गर्दछ । ‘रेल भन्ने वित्तिकै मानिसहरुले तीब्र गतिमा हुँइकिन्छ भन्ने सोचेका छन्, हामीले परिकल्पना गरेको रेल त्यसप्रकारको होइन ।’–उनले भने ‘यो रेलको गति कम हुनुका साथै अन्यभन्दा कम तौल र वातावरण मैत्री पनि हुन्छ ।’ विद्युतबाट चल्ने यो रेल सञ्चालनका लागि डिपिआर अनुसार ट्रयाकका लागि मात्रै १ अर्ब ६१ करोड,विभिन्न ठाउँमा १२ वटा स्टेशन निर्माणका लागि ४८ करोड तथा निर्माण कार्य सञ्चालन गर्न १ अर्ब ६४ करोड लागत अनुमान गरिएको छ । यसैगरी उक्त क्षेत्रमा अन्य संरचनाहरु निर्माणका लागि १ अर्ब ६४ करोड लागत अनुमान गरिएको छ ।

यसरी निर्माण गरिने रेल्वे परियोजना अन्तरगतका रेलहरु कम्तिमा ५ सय भोल्ट विद्युत चार्जमा गुड्न सक्ने छन् भने प्रत्येक रेलमा २१० जना अट्न सक्ने क्षमताका हुने छन् । विद्युतबाट सञ्चालन हुने भएकाले वातावरणीय हिसाबले उत्तम मानिएको छ । तिलोत्तमाका रिङरोड किनारहुँदै सञ्चाल गरिने रेल परियोजना अन्तरगत पहिलो चरणमा योगिकुटीदेखि बनबाटिका हुँदै रोहिणी जलाशय परियोजना सम्म १५ किलोमिटर वे निर्माण कार्य सम्पन्न गर्नेगरी कम्पनीले योजना बढाएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।