ताजा अपडेट »

मेलाको झमेला, तिलोत्तमाका व्यवसायिक संस्थाहरु बीच विवाद

शुक्रबार, २३ पुस २०७८, ०९ : ५५
10 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा मेला आयोजनाको विषयलाई लिएर व्यवसायिक संस्थाहरु बीचनै विवाद सिर्जना भएको छ । मेला आयोजना गर्न पाउने आ–आफ्नो अडान राख्दै व्यवसायिक संस्थाहरुले तयारीमा लागेका छन् ।

यसअघि नै पत्रकार सम्मेलनको आयोजना गरी तिलोत्तमा चेम्बर अफ कमर्सले तयारीलाई तीब्रता दिएको छ । यसै बीच तिलोत्तमा उद्योग व्यापार संगठनले पनि मेला आयोजना गर्ने पालो आफ्नो भएको दाबी गर्दै तयारी अघि बढाएको जनाएको छ । मेलाको विषयलाई लिएर राजनीतिक दाउपेज साध्ने माध्यम बनाएका यी दुई संस्थाहरुले आ–आफ्नो राज्य शक्तिको प्रदर्शन गर्ने देखिएको छ ।

मेला आयोजनाका लागि यसअघि नै चेम्बर अफ कमर्सले तिलोत्तमा नगरपालिका र सम्बन्धित वडा कार्यालयबाट अनुमति प्राप्त गरिसकेको छ भने सिडियो कार्यालयमा समेत बोधार्थ पठाइएको जनाएको छ । आवश्य प्रक्रियाहरु पूरा गर्दै तयारीलाई तिब्रता दिइएको चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुसालले ६० प्रतिशत बढी काम भइसकेको दाबी गरेका छन् । ‘गत वर्ष कोरोना महामारीका कारण हामीले मेला स्थगित गर्नु पर्यो, सोही अनुसार यो वर्ष आयोजना गर्ने भन्ने पहिलेदेखि नै तयारी भएकाले यो वर्ष मेला गर्दै छौं ।’–भुसालले भने, ‘अन्य कुन संस्थाले के गर्दै छ हामीलाई जानकारी छैन, संस्थाको पूर्वयोजना अनुसार नै हुन्छ ।’ सबै क्षेत्रबाट अनूमति प्राप्त भइसकेको र गत वर्ष कोरोनाले देशभरको अवस्था असामान्य भएका कारण यो वर्ष मेला गर्न पाउनु पर्ने उनको दाबी छ ।

यता तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम घर्तिले भने मेला आयोजना गर्ने पालो आफ्नो भएको दाबी गर्छन् । तिलोत्तमामा रहेका ३ वटा व्यवसायीक संस्थाहरु, चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ र आफ्नो संगठन बीच २०७३ सालमा भएको सहमती अनुसार पालैपालो मेला आयोजना गर्ने भन्ने रहेको उनले बताए । रोल क्रम अनुसार चेम्बर अफ कमर्सको गत वर्ष भए पनि कोरोना महामारीले स्थगित भएको थियो । ‘सहमती अनुसार कुनै पनि कारणले रोलक्रममा आयोजना भएन भने स्वतहः स्किप हुने भन्ने छ ।’–घर्तिले भने, यो वर्ष पालो हाम्रो हो ।

घर्तिले कुनै पनि हालतमा आफूहरुले मेला आयोजना गर्ने अडान लिँदै आवश्यक परे राज्य शक्तिको प्रदर्शन गर्ने समेत आसय व्यक्त गरेका छन् । ग्लोबल आवाजसँग कुरा गर्दै उनले तिलोत्ता नगरपालिकाले चेम्बरअफ कमर्सलाई राजनीतिक कारणले पनि समर्थ गर्ने गरेको बताउँदै आयश्यक परे आफूहरुले प्रदेश सरकारको समर्थन र शक्ति प्रयोग गर्ने उल्लेख गरे । मेला आयोजनाका लागि तिलोत्तमा नगरपालिका तथा सिडियो कार्यालयमा समेत निवेदन पेस गरिएको बताउँदै उनले चेम्बरअफ कमर्सको मेला स्थल नजिकै तर, फरक ठाउँमा मेला आयोजना गर्ने बताए ।

यी दुबै संस्थाहरुले निजी जग्गा भाडामा लिएर मेला आयोजना गर्ने भएका हुन् । चेम्बर अफ कमर्सले विगतका वर्षहरुदेखि नै मेला आयोजना हुँदै आएको तिलोत्तमा–५ स्थानीय गणेश पाठक तथा उनका अन्य ३ भाईको ५ विगाह क्षेत्रफलको जग्गा भाडामा लिएर मेला आयोजना गर्ने तयारी गरेको छ । यसैगरी उद्योग व्यापार संठनले पहिलदेखिको मेला स्थल नपाउने भएपछि तिलोत्तमा–५ कै स्थानीय प्रदिप पाठकसहित उनका दाजुभाईको ४ विगाह क्षेत्रफल जग्गा भाडामा लिएर मेला आयोजना गर्न लागिएको अध्यक्ष घर्तिले बताएका छन् ।

मेला अयोजना गर्ने विषयलाई प्रदेश सरकार र स्थानीय सरकार बीचको शक्ति संघर्ष गर्नेसम्मको स्थितीमा पुर्याउने कुराले यहाँका उद्योगी व्यवसायी भने खुशी छैनन् । चेम्बर अफ कमर्सले माघ १३ गतेदेखि मेला आयोजना गर्ने बताएको छ भने व्यापार संगठनले माघ १४ देखि मेला आयोजना गर्ने बताएको छ ।

नेकपा एमाले सम्बद्ध व्यक्तिहरुको बाहुल्यता भएको चेम्बर अफ कमर्सलाई तिलोत्तमा नगरपालिकाको भरपुर समर्थन र सहयोग रहेको बुझिएको छ भने नेकपा माओवादी केन्द्र सम्बद्ध व्यक्तिहरुको बाहुल्यता रहेको व्यापार संगठनलाई लुम्बिनी प्रदेश सरकार तथा नेपाली काँग्रेस सम्बद्ध व्यक्तिहरुको बाहुल्यता रहेको तिलोत्तमा उद्योग वाणिज्य संघको समेत समर्थन रहेको बुझिएको छ । प्रत्यक्ष रुपमा यी संस्थाहरु बीच जे देखिएपनि आन्तरिक रुपमा भने राजनीतिक दाउपेजकै कारण विवाद सिर्जना भएको जानकारहरु बताउँछन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।