ताजा अपडेट »

‘हाइलाइफ’ फुड्सलाई हाइलाइट गर्दै २९ वर्षीय युवा व्यवसायी प्रशान्त

मंगलबार, २० पुस २०७८, १६ : ५५
12 Shares

बुटवल । हाइलाइफ फुड्सका विभिन्न उत्पादनहरु तपाई हाम्रो भान्छामा पनि प्रायः छुट्ने गरेका हुँदैनन् । खाजा होस् या खाना हरेकको भान्छामा यसका उत्पादनहरु प्रयोग भइनै रहेका छन् । व्यस्त र आधुनिक जीवनशैली अनुसार ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय उत्पादन र प्याकेजिङलाई प्राथमिकता दिनु नै यसको विशषेता हो ।

नेपाली उत्पादनप्रति ग्राहकको नकारात्मक धारणाको अन्त्य गर्दै उच्च घरानाका व्यक्तिहरुले पनि सहजै नेपाली उत्पादनलाई प्रयोग गर्न सक्नेगरी आक्रामक बजार नीति ल्याउने युवा हुन् प्रशान्त घिमिरे । सानै उमेरदेखिको व्यवसायिक आचरणले उनलाई नयाँ खोज र प्रयोगमा माहिर बनाएको छ । स्थापनाको साढे २ वर्षभित्रै ‘हाइलाइफ फूड प्रोडक्ट्स’ लाई नेपालभर हाइलाट गराउन सफल युवा व्यवसायी प्रशान्तको उमेर भर्खर २९ वर्ष पुगे पनि व्यवसायीक अनुभव भने एक दशकदेखि नै गर्दै आएका छन् ।

भर्खर १८/१९ वर्ष लाग्दादेखि नै हजुरबुवा तथा बुवाको उद्योग व्यवसायलाई प्रत्यक्ष जान्न पाएका उनको व्यक्तिगत धरातल भने व्यवसायीक नभई प्राविधि पक्षतर्फ थियो । व्यवसायिक घरानाको सदस्यका हिसाबले पनि त्यहाँ हुने घाटा नाफा बारे जानकारी लिने र उक्त विषयमा अध्ययन गर्ने प्रवृत्ति भने सानैदेखि भएको प्रशान्तले बताउँछन्। बुवाले सञ्चालन गर्दै आएको चिउरा उद्योग घाटामा जान लागेपछि त्यस विषयमा अध्ययन सुरु गरेका उनले एक महिनाको अवधिमै नयाँ योजनाका साथ हाइलाइफलाई जन्माएर फेरी नाफाको यात्रामा लैजान सफल भए ।

प्रशान्तका बुवा तुलसी घिमिरेले २०४७/४८ साल तिर काठमाण्डौंमा कपडाको होलसेल व्यापार गर्ने गर्थे । रुपन्देहीको तिलोत्तमामा घर भएपनि व्यवसायका कारण काठमाण्डौं बस्दै आएका उनी २०५६ सालमा गृहजिल्ला रुपन्देहीमै फर्किए र बुटवलमा धागो कारखानाको सुरुवात गरे । व्यवसायीक रुपमा सफल हुँदै गएका उनले धागो कारखाना सञ्चालन गरेको ३ वर्षमै फेरी मकैका परिकारहरु उत्पादन गर्नेगरी ‘कलफ्लेक्स’ उद्योग सञ्चालमा ल्याए । त्यस समयमा मकैका परिकारहरु व्यवसायिक रुपमा उत्पादन र बिक्री गर्ने प्रचलन खासै थिएन । विदेशमा उत्पादन भएका परिकारहरुले नै नेपालमा ठाउँ पाउने गरेको थियो । यो अवस्थालाई अवसरका रुपमा प्रयोग गर्दै प्रशान्तका बुवाले नेपालमै उत्पादन भएको मकै प्रयोग गरी परिकारहरु उत्पादन गर्न थाले ।

हरेक असवरहरुलाई सही रुपले सदुपयोग गर्न माहिर बुवा (तुलसी)ले २०६०/६१ साल तिर सलाई फ्याक्ट्रि सञ्चालनमा ल्याए । त्यस समयमा उनले सञ्चालनमा ल्याएको सलाई फ्याक्ट्रिको उत्पादन ‘मुन सलाई’ र ‘स्टार सलाई’ ले राम्रो बजार ओगट्न सफल भयो । सुरुमा बुटवलबाट सुरु गरेको यो उद्योग पछि तिलोत्तमाको मधौलिया हुँदै हाल रुपन्देहीकै सैनामैनाको मुर्गियामा सञ्चालन भइरहेको छ ।

यसरी व्यवसायिक फड्दो मार्दै गएका तुलसीले उद्योगहरु एकपछि अर्को गर्दै थप्दै गइरहेका बेला छोराको दमदार इन्ट्रिले भर्खर ५२ वर्षका उनी भने अब व्यवसायमा कम, सामाजिक क्रियाकलापमा बढी देखिन थालेका छन् । पिताले सञ्चालनमा ल्याएको महिमा ब्राण्डले व्यवसायिक सफलता प्राप्त गरिहेको समयमा एक्कासी कारोबारमा घाटा बढ्न थालेपछि भने सोच्न पर्ने अवस्था आयो । उद्योगले उत्पादन गर्दै आएको चिउरा विक्रि हुन छाड्यो, ब्यावसाय घाटामा दिनप्रतिदिन गइनै रह्यो अन्तिममा बन्द गर्ने निर्णयमा पुग्ने स्थिति सिर्जना भयो ।

सानै उमेरदेखि बुवा, हजुर बुवाको उद्योग व्यवसाय बारे जान्दै आए पनि आफैले पूर्ण जिम्मेवारी लिएर काम नगरेका प्रशान्तको इन्ट्रि त्यस बेला भयो जब उद्योग आर्थिक रुपमा धरासायी हुन थाल्यो । महिमा ब्राण्डले उत्पादन गर्दै आएको चिउरा विक्न छाडेपछि सञ्चालक तथा कर्मचारीहरु बीच समीक्षा बैठक बस्यो । उक्त बैठकमा प्रशान्त पनि सहभागी भए । भर्खर २६ लागेका उनको प्रस्ताव भरपर्दो भए पनि मानिसहरुले सहजै विश्वास गर्न सक्ने अवस्था भने थिएन । तर, उनको प्रस्तावलाई कसैले नकार्न पनि सकेनन् । उनैको प्रस्तावपछि महिनाभर समय लगाएर विभिन्न बजार पसल तथा घर–घरमा पुगेर अध्ययन सुरु भयो । ग्राहक के चाहान्छन्, यसको बिक्री वितरण तथा आकर्षणका लागि नयाँ के गर्नुपर्छ भन्ने सबै कुराको निश्कर्षपछि फेरी चिउरा उत्पादनलाई नयाँ स्वरुप दिने निचोडमा पुगे ।

चिउरा नेपाली र परम्परागत परिकार नै भएपनि आधुनिक शैलीमा पस्किन नसक्दा यसले बजार घाटा व्यहोरेको कुरा निश्कर्षमा आयो । सोही अनुसार प्रशान्तले नयाँ नाम दिएर सञ्चालनमा ल्याए ‘हाइ लाइफ फुड प्रोडक्स’ जसले उनलाई व्यवसायीक यात्रामा आधिकारिक प्रवेश गरायो । पहिले खुला र बोरामा राखेर बेचिने चिउरालाई उनले सानो–सानो परिणाममा आकर्षक प्याकेजिङ गरेर बिक्री सुरु गरे । नाफा रकमलाई भन्दा बढी गुणस्तरीयतालाई ध्यानमा राखेर सोही अनुसारका विभिन्न स्तरमा उत्पादन सुरु गरे । कच्चा पदार्थको छनोटलाई समेत पहिले भन्दा ध्यान दिएर गुणस्तरीयता छनोटलाई प्राथमिकता दिन थाले । यसपछि भने उपभोक्ताको माग यसप्रति ह्वात्तै बढ्यो ।

चार सय बढीलाई प्रत्यक्ष रोजगार दिएको ‘हाई लाइफ’ आक्रमक रुपमा अघि बढ्दै

प्रशान्तले हाँकेकोे हाइलाइफ फुड प्रोडट्क्सले आर्थिक मुनामा मात्र दिएको छैन, ४ सय जनालाई प्रत्यक्ष तथा हजार बढीलाई अप्रत्यक्ष रुपमा रोजगार सिर्जना गराएको छ । यो कम्पनीसँगै उनले नेपाल एभरेष्ट फुड्स एण्ड स्नयाक्स र राइजिङ सन एग्रो इन्डष्ट्रिजको समेत नेतृत्व गरेका छन । एभरेष्ट फुड्स एण्ड स्नयाक्सले बेसन, कनफ्लेक्स, बँगुर तथा माछाका दानाहरु उत्पादन गर्ने गर्दछ भने राइजिङ सन ऐग्रोले चिउरा, सोयाविन तथा चोकोफ्लेक्स उत्पादन गर्ने गर्दछ ।

यसैगरी हाइलाइफले चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगाएतका खाद्यहरु उत्पादन तथा आयात गरि बजारीकरण समेत गर्दै आएको छ । अन्य २ कम्पनीहरुका उत्पादनहरुलाई समेत हाइलाफको माध्यमबाट बजारीकरण गर्ने गरिएको छ। उपभोक्तालाई दिएको गुणस्तरीय सेवाका कारण मागले थेग्न सक्ने अवस्था नहुँदा अन्य कम्पनीका गुणस्तरीय उत्पादनहरुलाई समेत बजार पुर्याउन यसले सहयोग गर्ने गरेको उनले बताए । हरेक नेपालीका भान्छामा आवश्यक हरेक बस्तु उपलब्ध गराउने योजनाअनुसार कम्पनी छिट्टै अचार तथा खाने तेल समेत उत्दान गर्ने योजनामा छ ।

हाल करिब ६५ करोड पूँजीमा सञ्चालित यस कम्पनीले आफ्नो पूँजी वृद्धिभन्दा पनि गुणस्तरीय बस्तुको उत्पदान र व्यापारलाई चलायमान बनाउनेमा केन्द्रित रहेको सञ्चालक प्रशान्त बताउँछन् । मासिक ८ करोड बढीको आर्थिक कारोबार गर्ने हाइलाइफका लागि मुलुकभर १६० डिष्ट्रिब्यूटर रहेका छन् भने १४४५ वटा डिपार्टमेन्टल स्टोरहरुमार्फत बिक्री भइरहेका रहेका छन् ।

नेपाली उत्पादनलाई कमसल र तल्लो स्तरको मान्ने नेपाली उपभोक्ताको मानसिकतालाई आफूहरुले परिवर्तन गर्न सफल भएको उनको दाबी छ । अझै पनि आधुनिक तथा उच्च घरानाका भान्सामा नेपाली उत्पादनभन्दा विदेशी उत्पादनप्रति नै आकर्षण हुने गरेको गुनासो गर्दै उनले सोही अनुसार गुणस्तरीयता र उत्कृष्ट प्याकेजिङ र सर्वसुलभता कायम राख्ने आफ्नो योजना सुनाए । उत्पादनलाई वृद्धि गर्न छिट्टै बाँकेको नेपालगञ्जमा समेत उत्पादनका लागि उद्योग सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । यसैगरी विरगञ्जमा पनि गुणस्तरीय खाने तेलका लागि उद्योग सञ्चालनमा ल्याउने तयारी रहेको उनको भनाई छ । कम्पनीले हाल विभिन्न १५ वटा क्याटोगोरीका ८३ बढी खाद्य वस्तु उत्पादन गर्दै आएको छ ।

कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नहरुमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन गरिएको र उत्पादीत वस्तु नेपालका सबै सहरहरुका साथै विदेशमा हङकङ, मकाउ लगाएतका देशहरुमा विक्री वितरण गर्दै आएको छ भने अष्ट्रेलिया र अमेरिकामा समेत निर्यात गर्ने प्रकृयामा रहेको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।